जोमसोम, २३ मंसिर – गोरु काट्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित कागबेनीमा गोरु काटिरहेको भन्ने सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
गत मङ्गलवार मध्यान्ह स्थानीय युङडुङ गुरुङको गोठमा गोरु मारी काटिरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का ५३ वर्षिय युङडुङ गुरुङ, ४० वर्षिय याग्या गुरुङ, ६९ वर्षिया पेम्बा गुरुङ, डोल्पा घर भई हाल कागबेनीमा बस्दै आएका ४० वर्षिय झव्याङ गुरुङ र सोही ठेगानाका ४९ वर्षिय धोर्जी गरूङलाई नियन्त्रणमा लिएको हो ।
घटनास्थलबाट एक सय ५२ किलो गोरुको मासु सहित उनीहरूलाई रंगेहात पक्राउ गरिएको र जिल्ला अदालतबाट मुस्ताङबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।