जोमसोम, २३ मंसिर – मुस्ताङका ५ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । संविधानको नागरिकलाई स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वाथ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने प्रावधानअनुसार स्वास्थ्य बिमा बोर्डको समन्वयमा मुस्ताङमा बिमा कार्यक्रम सुभारम्भ गरिएको हो ।
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप लागू भएको बिमा कार्यक्रमअन्तर्गत मुस्ताङका ५ वटै स्थानीय तहमा बिमा फोकल पर्सन समेत परिचालन गरिएको छ ।
गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले एक समारोहकाबीच बिहीबार मुस्ताङमा स्वास्थ्य बिमा कार्यक्रमको सुभारम्भ गरे । सांसद थकालीले स्वास्थ्य उपचार खर्चमा सबै नागरिकको पहुँच पुग्न नसक्ने भएकाले सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको बताए ।
‘जटिल प्रकृतिका बिरामी आर्थिक भारका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ, सांसद थकालीले भने, ‘स्वास्थ्यको पहुँच सबै नागरिकमा पुर्याउन र स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन बिमा कार्यक्रम प्रभावकारी हुनेछ।’
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सरकारले कार्यन्वयनमा ल्याएको बिमा कार्यक्रमले विपन्न जनतालाई राहत पुग्ने बताए । उनले बिमा कार्यक्रमलाई प्रभावकारि बनाउन प्रशासनिक निकायबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अस्पताल व्यवस्थापन समितिकी निमित्त कार्यबाहक अध्यक्ष शर्मिला गुरुङले नागरिकको स्वास्थ्य उपचारमा बिमा कार्यक्रमले निकै राहत पुर्याउने बताइन् । उनले धेरैभन्दा धेरै नागरिकले स्वास्थ्य बिमा गुरुन् भन्ने हाम्रो अपेक्षा रहेको बताइन् । उनले जिल्ला अस्पतालमा न्युनतम स्रोत साधन उपलब्ध भएपनि जनशक्ति अभावले असप्तालले दिने सुविधा सेवामैत्री बन्न अप्ठ्यारो परेको उल्लेख गरिन् ।
सरकारले नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले २०७२ साल चैत्र २५ गतेबाट बिमा कार्यक्रम लागू गरेको हो । तर,मुस्ताङमा चालु वर्षको जेठ महिनादेखि यस कार्यक्रम लागू भएपनि बिमा फोकल पर्सनको प्रशिक्षण तथा आवश्यक तयारीका लागि ६ महिनापछि मात्र कार्यान्वयनमा आएको हो ।
बिमा कार्यक्रममा सेवा प्रदायक संस्था, नेपाल सरकार मातहत र निजी क्षेत्रलाई समेत सहभागी गराइने जनाइएको छ । बिमा दर्ताका लागि सम्बन्धित जिल्लाका वडा/वडामा एजेन्ट अर्थात फोकल पर्सन खटाइने छ ।
बिमामा आवद्ध भएका नागरिकको सेवा एक्टिभ ३ महिनापछि मात्र सुरु हुन्छ । बिमामा ७० वर्ष कटेका ज्येष्ठ नागरिक तथा अति विपन्न परिवारलाई निशुल्क बिमाको व्यवस्था मिलाइएको छ ।
यस्तै, अपाङ्गता भएका वा स्वास्थ्य स्वयम सेविकालाई ५० प्रतिशत सहुलितमा स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ। अन्यको हकमा ५ जना परिवार संख्या भएका नागरिकलाई वार्षिक ३५ सय रुपैयाँ शुल्क तिरेपछि बिमामा आवद्धता गराइन्छ, सबैले यो सुविधा पाउँछन् । तर ५ जनाको संख्याभन्दा बढी भएमा थप शुल्क लाग्नेछ । सरकारले उपलब्ध गराउने बिमा सुविधा २ लाखसम्मको हुनेछ ।
मुस्ताङको जिल्ला अस्पताल जोमसोम र थासाङको लेते प्राथमिक केन्द्रबाट स्वास्थ्य बिमाको सेवा लिन सकिने छ । मुस्ताङबाट रिफर गरेको वा कुनै कारणबश अन्यत्र आकस्मिक स्वास्थ्य सेवा लिन परेमा पोखराको मनिपाल ,गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठान र जेएमसी अस्पतालमा उपचार गर्न सकिने जनाईएको छ ।
प्रत्येक नागरिकको परिवारले बिमा गर्दा त्यसको सम्झौता अवधि एक वर्ष रहने र त्यपछि पुन तोकिए बमोजिम नविकरण गर्नुपर्ने हुन्छ ।
जोमसोम अस्पतालको स्मारिका बिमोचन
बिमा कार्यक्रमका क्रममा जिल्ला अस्पताल जोमसोमले आफ्नो ३ वर्षीय कार्यअवधिको जानकारीमूलक स्मारिका पुस्तक बिमोचन गरेको छ । सांसद महेन्द्रबहादुर थकाली, प्रजिअ नेत्रप्रसाद शर्मा र अस्पताल व्यवस्थापन समितिकी निमित्त प्रमुख शर्मिला गुरुङले संयुक्तरुपमा पुस्तक विमोचन गरेका हुन् ।