८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेस महाधिवेशन: शक्तिशाली दुई महामन्त्रीका लागि १० नेताको दाबी


जनमञ्च संवाददाता
  • २३ मंसिर २०७८ , बिहिबार

  • कांग्रेस महाधिवेशन: शक्तिशाली दुई महामन्त्रीका लागि १० नेताको दाबी

    काठमाडौं, २३ मंसिर – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका दुई पदका लागि १० जना नेताले दाबी गरेका छन्। महाधिवेशनबाट सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्य चयन हुनेछन्।
    अहिलेसम्म सभापतिका लागि पाँच जनाको दाबी देखिएको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमानसिंह, विमलेन्द्र निधि र डा. शेखर कोइराला सभापति पदका दाबेदार छन्। यसअघि सभापतिको दाबी गर्दै आएका महामन्त्री डा. शशांक कोइरालाले पौडेललाई समर्थन गर्ने जनाइसकेका छन्।
    संस्थापन पक्षबाट देउवा मात्रै उम्मेदवार देखिएका छन् भने पौडेल पक्षबाट तीन जना छन्। साझा उम्मेदवार बनाउन पौडेल, सिंह र डा. कोइरालाले छलफल गर्दै आएका छन्।
    यसअघि देउवा पक्षमा रहेका निधि भने उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटिसकेका छन्।
    कांग्रेसमा दुई जना महामन्त्री चयन हुने व्यवस्था छ। त्यसका लागि तीन वटै पक्षबाट १० जना नेताले दाबी गरिरहेका छन्। देउवा पक्षबाट सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउँद र रमेश लेखकले दाबी गरेका छन्।
    प्रवक्ता शर्मा उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् भने अन्य नेताहरू संस्थापन पक्षको आधिकारिक उम्मेदवार बन्ने लबिइङमा छन्।
    त्यस्तै, पौडेल पक्षबाट रक्षामन्त्री मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य धनराज गुरुङ र गगन थापाले महामन्त्रीको उम्मेदवारीमा दाबी गरेका छन्। १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका थापा यस पटक पौडेल पक्षबाट उम्मेदवार बन्न लागेका छन्। उनले उम्मेदवारी घोषणा गरेर प्रचार थालिसकेका छन्।
    त्यस्तै, केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीको उम्मेदवारीका लागि दाबी गरेका छन्। उनी सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बन्न लागेका छन्।
    कांग्रेस महाधिवेशन २४ मंसीरमा काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। त्यसपछि भृकुटीमण्डपसँगै राष्ट्रिय सभा गृह र प्रहरी क्लबमा निर्वाचन कार्यक्रम हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार २७ मंसीरमा मतदान हुनेछ। मतदान सकिए लगत्तै सभापतिको मतगणना प्रारम्भ हुनेछ। सभापतिको टुङ्गो लागेपछि मात्रै अन्य पदको मतगणना हुनेछ। सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ।
    कुनै उम्मेदवारले आवश्यक मत नल्याएमा दोस्रो चरणको मतदान हुनेछ। त्यसको नतीजा आएपछि मात्रै अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुने निर्वाचन समितिले जनाएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend