बेनी, २३ मंसिर – म्याग्दीको पर्यटकीय स्थल भूरुङतातोपानीमा २५ करोड रुपैयाँको लगानीमा धौलागिरी क्षेत्रकै सबैभन्दा ठूलो होटल निर्माण हुन लागेको छ । म्याग्दीको सदरमुकाम बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ निर्माण गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी राउण्ड अन्नपूर्णको आकर्षक पर्यटकीय गन्तव्य स्थल रहेको र यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी रोयल, डिलक्स र साधारण गरी तीन ग्रेडका कोठाहरु रहेको सञ्चालक हमालले बताए। अहिले होटलको निर्माणको ६५ प्रतिशत काम सकिएको छ ।
करिब ८ रोपनी क्षेत्रफलमा ६ तलाको भवन निर्माण भैरहेको र आगामी भदौदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको हमालले वताए । होटलमा पार्किङ र लिफ्ट सुविधासंगै १५० जना क्षमताको सेमिनार हल, मसाज, क्याफे र लोकलमार्ट समेत सञ्चालनमा आउनेछन् ।
होटल सञ्चालनमा आएपछि पहिलो चरणमा ४० जनाले नियमित रोजगार पाउने सञ्चालक हमालले जानकारी दिए । २२ करोड लागत अनुमान गरिएको भएपनि कोरोना महामारीको कारण सामानमा भएको अभाव, निर्माण कार्यमा भएको प्रभाब र सामान ढुवानीमा भएको असुविधाले लागत बढेको उनले वताए । ‘क्षमताको हिसाबले धौलागिरि क्षेत्रकै ठुलो हुन्छ, सुविधामा समेत स्टार होटलका सुविधा उपलब्ध गराउँछौँ, सुविधायुक्त होटलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सघाउने अपेक्षा गरेको छु’, हमालले वताए ।
पोखरादेखि कुस्मा, बेनी हुँदै हिमाल पारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने भएकाले होटल सञ्चालनमा आएपछि यस सडकखण्ड हुँदै आवत जावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्बाउन टेवा पु¥याउने अपेक्षा गरिएको स्थानीय पर्यटन व्यवसायी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य आत्मा तुलाचनले बताए ।
‘यहाँको प्राकृतिक तातोपानीको कुण्ड पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ, तर सिजनमा अहिले सञ्चालनमा रहेका होटलहरुले पर्यटकको चाप धान्न सक्ने अवस्था छैन्, त्यसैले ठुलो क्षमतामा सञ्चालनमा ल्याउन लागिएको यस होटलले पर्यटकहरुको बसाई व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने देखिन्छ’, तुलाचनले भने ।
तातोपानीमा अहिले ठुला ७ र साना १५ होटलमा ४ सय जनासम्म पर्यटकहरु बस्न सक्ने क्षमता छ । अन्नपूर्ण राउण्ड पदमार्ग र मुस्ताङ जाने एक मात्रै बेनी–जोमसोम सडकखण्डले समेटिएको ठाउँ भएकाले तातोपानीमा सञ्चालनमा आउन लागेको यस होटलले पर्यटकहरुलाई आरामदायी बसोबासको प्रवन्ध मिलाउन र पर्यटन प्रवद्र्धनमा सघाउने स्थानीयबासीको भनाइ छ ।