८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
देउवा–सिटौला एक ठाउँ, इतर समूह छलफलमै

कांग्रेसमा नयाँ नेतृत्वका लागि उम्मेदवारी आज


जनमञ्च संवाददाता
  • २५ मंसिर २०७८ , शनिबार

  • कांग्रेसमा नयाँ नेतृत्वका लागि उम्मेदवारी आज

    काठमाडौं, २५ मंसिर – भृकुटीमण्डलमा शुक्रबार सुरु नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज शनिबार आगामी कार्यकालका लागि पार्टीको नेतृत्वमा रहन चाहनेहरूले उम्मेदवारी दर्ता गर्दै छन्।

    शुक्रबार दिउँसो भृकुटीमण्डपमा उद्घाटन समारोहपछि त्यही साँझ बन्दसत्र सुरु गरिएको कांग्रेस महाधिवेशनअन्तर्गत आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको हो।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आजै साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारी उपर दाबी–विरोध र जाँचबुझ तथा बेलुका ७ देखि ९ बजेसम्म दाबी–विरोध उपर निर्णय गर्ने समय सीमा राखिएको छ।

    यस्तै भोलि आइतबार दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र सोमबार बिहान ८ बजेबाट मतदान सुरु गरिने प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

    मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रियसभा गृहमा मतदान केन्द्र बनाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

    उनका अनुसार मतदान ‘ब्यालेट पेपर’ मा हुनेछ। कांग्रेसले ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’ (ईभीएम) प्रयोगका लागि पहल गरे पनि शीर्ष नेताबीचमा सहमति नजुटेपछि ‘ब्यालेट पेपर’ नै प्रयोग गरिन लागिएको कांग्रेसले जनाएको छ।

    महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री चयन गर्नेछ। यस्तै महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस-आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रतर्फ गरी सहमहामन्त्री आठ सहमहामन्त्री पनि चयन गर्नेछ।

    केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्ष मनोनित गर्न पाउने कांग्रेसले विधानमा व्यवस्था गरेको छ।

    केन्द्रीय महाधिवेशनका प्रतिनिधिले प्रत्यक्षतर्फ ३५, महिलातर्फ ९, प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जना गरी २१ सदस्य प्रत्यक्ष  चुन्नेछन्।

    यस्तै दलिततर्फ ४ महिलासहित ९ जना, आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना, मधेशीतर्फ ४ महिलासहित ९ जना, थारुतर्फ २ महिलासहित ४ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रतर्फ १ जनासहित ५४ जना सदस्य पनि चुनिनेछन्।​​

    अल्पसङ्ख्यक महाधिवेशन प्रतिनिधि मध्येबाट १ र अपाङ्गता भएका महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना गरी २ जना केन्द्रीय सदस्य पनि महाधिवेशनबाट निर्वाचित हुने छन्।

    कांग्रेसको विधानमा सभापतिले केन्द्रीय कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था गरेको छ।

    सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार

    कांग्रेस महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबीच सहकार्यको प्रारम्भिक सहमति बनेको छ । सिटौला समूहलाई महामन्त्री र सहमहामन्त्री दिन देउवा तयार भएका छन् । सिटौलाले महामन्त्रीमा युवानेता प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई अघि सारेका छन् ।

    १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाले दोस्रो चरणमा निर्वाचन गएपछि देउवालाई सघाएका थिए । उनकै सहयोगमा देउवा सभापति बनेका थिए । महामन्त्री र सहमहामन्त्रीसहित सदस्यहरू लिएर देउवाको समूहसँग सहकार्यको अन्तिम टुंगो लागेमा सिटौला यसपटक उम्मेदवार बन्नेछैनन् ।

    स्रोतका अनुसार महामन्त्री र सहमहामन्त्रीको प्रारम्भिक सहमति हो, सिटौलाले अन्य सदस्यबारे पनि प्रस्ट सहमति गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, यसबारे देउवाले निर्णय दिएका छैनन् । ‘महामन्त्री र सहमहामन्त्रीका विषयमा एक किसमको छलफल–सहमति भएको हो । तर, त्यो अन्तिम हो भन्न सकिन्न । किनभने, सदस्यका विषयमा कुरा मिलेन भने दुईजना पदाधिकारी मात्रै जाने कुरा पनि हुँदैन,’ सिटौलानिकट एक नेताले भने । स्रोतका अनुसार शुक्रबार बिहान सभापति देउवाले यस विषयमा नेता सिटौलासँग छलफल गरेका थिए । त्यही प्रारम्भिक सहमति बनेको थियो ।

    महामन्त्रीका लागि संस्थापन खेमामै नेताहरूबीच चर्को प्रतिस्पर्धा छ । डा. प्रकाशशरण महत, बालकृष्ण खाड, एनपी सावद, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मालगायतले महामन्त्रीमा दाबी गरेका छन् ।

    त्यस्तै, आठ सहमहामन्त्रीका लागि झन्डै दुई दर्जन नेताहरूले दाबी गरिरहेका छन् । दुई महामन्त्रीमा एक सिटौला खेमालाई दिँदा आफ्नो समूहमा नेताहरूलाई व्यवस्थापन गर्न देउवालाई झन् धेरै सकस हुने देखिन्छ । कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले आफूमध्येबाट निर्वाचित गर्ने व्यवस्था छ ।

    इतर समूहमा भएन  सहमति, आज फेरि छलफल

    इतर समूहले अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेको छैन । बरु, नेताबीच तिक्तता बढ्दै छ । शुक्रबार साँझ भएको छलफलमा पनि नेताहरू सहमतिमा आउन सकेनन् । सभापतिमा दाबी गरिरहेका प्रकाशमान सिंह र डा. शेखर कोइरालाले पछि नहट्ने अडान राखेपछि शुक्रबार ‘राजनीतिबाटै बिदा लिन्छु’ भन्दै नैराश्य प्रकट गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई शनिबार बिहान केही युवा नेताले ‘अघि बढ्न’ ढाडस दिएका छन् । तर, उनी सहमतिमा मात्रै अघि बढ्न चाहेका छन् । पौडेलका लागि मैदान खाली गर्न सिंह तयार छैनन् ।

    शुक्रबार साँझ अनुपम फुड ल्यान्डमा भएको छलफलमा नेता सिंहले आफू कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । उनको अडानले रुष्ट बनेका नेता शेखर बैठक नै छाडेर हिँडेका थिए । पछि गगन थापालगायत नेताको आग्रहमा उनी फर्किएका थिए ।

    स्रोतका अनुसार शेखरले पनि वरिष्ठ नेता पौडेलको नाममा सहमति जनाउने संकेत गरेका छन् । तर, प्रकाशमान अझै अडिग छन् । इतर समूह एक भएर चुनावी प्रतिस्पर्धामा जान्छ वा टुक्रिएर भन्ने यकिन भइसकेको छैन । यो समूहले पदाधिकारीका अन्य उम्मेदवारबारे अझै छलफल नै गरेको छैन ।

    कांग्रेस महाधिवेशनमा चार हजार सात सय ४३ मतदाता
    कांग्रेसको १४औँ महाधिवेशनका लागि चार हजार सात सय ४३ मतदाता तय भएका छन् । कांग्रेसको निर्वाचन समितिले निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार सा“झ महाधिवेशनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ ।

    काठमाडौँ समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अन्तिम नामावली सूचीमा देशभरिबाट निर्वाचित प्रतिनिधिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको संख्या चार हजार सात सय ४३ पुगेको हो ।

    यसअघि बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । कांग्रेसका महाधिवेशन प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend