काठमाडौं, २५ मंसिर – नेपाली कांग्रेस सभापति पदमा मुख्य चारजना नेताको उम्मेदवारी परेको छ। नयाँ कार्यकालका लगि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो।
इतर समूह विभाजित भएपछि देउवालाई सजिलो भएको छ। देउवाले कांग्रेस सभापतिका लागि तेस्रो धारका कृष्ण सिटौलाको साथ लिएका छन्।
त्यसैगरी उपसभापतिमा देउवा समूहबाट पूर्णबहादुर खड्का र विजय गच्छदारको उम्मेदवारी परेको छ।
शेखर कोइराला समूहबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ मैदानमा उत्रिएका छन्। उता विमलेन्द्र निधिको समूहबाट उपसभापतिमा कसैको उम्मेदवारी परेको छैन।
प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला उपसभापति लड्ने भएकी छन्। कोइराला परिवारका शेखरलाई साथ नदिइ उनी सिंह प्यानलमा पुगेकी हुन्।
त्यस्तै, यही समूहबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा लड्ने पक्का भएको छ। सिंह प्यानलबाट अन्य उपसभापति र महामन्त्रीको टुंगो गरिएको छैन। अन्य पदमा पनि नेताहरुको यो समूहले टुङ्ग्याएको छैन।
उता, महामन्त्रीमा देउवा समूहबाट डा. प्रकाशशरण महत र देउवालाई सघाएका सिटौलाको तर्फबाट प्रदीप पौडेल पनि मैदानमा छन्।
त्यस्तै, शेखर समूहबाट महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा मैदानमा उत्रिने पक्का भएको छ।