काठमाडौं, २५ मंसिर – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेताहरुले उम्मेदवारी दिएका छन्। उनीहरुले विभिन्न प्यानलबाट उम्मेदवारी दिएका हुन्।
शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदिप पौडेलले उम्मेदवारी दिएका छन्। यसअघि बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्कीको नाम पनि महामन्त्रीका लागि चर्चामा रहे पनि कृष्णप्रसाद सिटौलासँग तालमेल भएपछि प्रकाशशरण र प्रदिपले महामन्त्रीमा बाजी मारेका हुन्।
देउवा प्यानलबाट विद्रोह गरेका विश्वप्रकाश शर्माले भने अन्तिममा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन्। देउवा प्यानलबाट विद्रोह गर्दा उनी शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिने चर्चा चलेको थियो।
त्यस्तै कोइरालाको प्यानलबाट गगन थापा र डा. मिनेन्द्र रिजालले उम्मेदवारी दिएका छन्। त्यस्तै विमलेन्द्र निधीको प्यानलबाट राजाराम कार्कीले महामन्त्रीमा उम्मेदवारी दिएका छन्।