पोखरा, २६ मंसिर – नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका डाक्टर शेखर कोइरालाको समूहमा गण्डकीका युवा अनुहारहरुले प्राथमिकता पाएका छन् । उनले उपसभापति र ३ सहमहामन्त्री गण्डकीलाई दिएका छन् ।
कोइरालाको समूहबाट उपसभापतिमा धनराज गुरुङ,दलिततर्फको सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार तथा खस आर्यतर्फबाट देवराज चालिसे तथा महिलाबाट कमला पन्त मैदानमा उत्रिएका छन् ।
धनराज स्याङ्जा, जीवन र देवराज कास्की तथा कमला पन्त गोरखाकी हुुन् । यो समूहलाई सभापतिको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा वर्तमान महामन्त्री डा.शशांंक कोइरालाको समर्थन रहेको छ ।
वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट तनहुँका प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार बनेका छन् भने गोरखाकै युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।
मनाङबाट पूर्वमन्त्री टेकबहादुर गुरुङले जनजातितर्फ केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् भने देउवा समूहबाट खस आर्यतर्फको केन्द्रीय सदस्यमा बागलुङकी चम्पा खड्का उम्मेदवार बनेकी छन् । लमजुङबाट देउवा समूहको तर्फबाट तुलसीनारायण श्रेष्ठ,कृष्णप्रसाद कोइरालालगायतले उम्मेदवारी दिएका छन् ।
कोइराला समूहबाट रामबहादुर गुरुङ,डिकेन्द्रराज कँडेललगायतका प्रत्यासी छन् । तनहुँका शंकर भण्डारी, ध्रुव वाग्ले देउवा समूहबाट केन्द्री समिति सदस्यका प्रत्यासी बनेका छन् ।
नवलपरासी पूर्वका कृष्णबहादुर कार्की देउवा समूहबाट खस आर्यतर्फ केन्द्रीय सदस्यका प्रत्यासी हुन् ।खुला सदस्यमा वर्तमान महामन्त्री डा. शशांक कोइराला, मधेशीतर्फको खुला केन्द्रीय सदस्यमा विनोद चौधरीले उम्मेदवारी दिएका छन् ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकीको भूगोलतर्फ खुला सदस्यमा उम्मेदवारी दिएका छन् । उनले कोइराला समूहबाट उम्मेदवारी दिँदा गण्डकीका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले वर्तमान सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यको प्रत्यासीमा उभ्याएका हुन् ।
पूर्वमन्त्री यज्ञबहादुर थापा, महादेव गुरुङ,गुरु बराल, ऋषि काफ्ले, तथा लक्ष्मी पाण्डेले पनि केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएकी छन् । सारदा पौडेल र माया बराल पनि केन्द्रीय सदस्यकी प्रत्यासी हुन् ।
केन्द्रीय सदस्यमध्ये थारूमा १४ जना, मधेसीमा ३२, आदिवासी जनजातिमा ८७, खस आर्य ९३, दलित ३९, महिला ३१, पिछडिएको क्षेत्र २, अपाङ्ग १६, अल्पसंख्यक ६, मुस्लिम १६, प्रदेश १–१३, प्रदेश २– ५, बागमती ९, गण्डकी ७, लुम्बिनी ११, कर्णाली ७, सुदूरपश्चिम १२ र खुला १०९ जनाले उम्मेद्वारी दर्ता गराएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।