म्याग्दी, २६ मंसिर – नेकपा एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले म्याग्दीका नवराजलाई गण्डकी अध्यक्षमा चयन गरेको हो ।
शर्माले २०७० को संविधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०४१ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका शर्मा २०४२ देखि २०५४ सालसम्म अनेरास्ववियुको जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए । २०५४ सालमा जिविस म्याग्दी सभापति रहेका शर्मा यसअघि गण्डकी प्रदेश कमिटी सदस्य थिए ।
कमिटीको उपाध्यक्षमा स्याङ्जाका मोहन रेग्मी चयन भएका छन् । उनी गण्डकी प्रदेश सांसद हुन् । विधायन समितिको सभापतिको रुपमा पनि उनले काम गरिसकेका छन् । सचिवमा लमजुङका धनञ्जय दवाडी चयन भएका छन् । उनी गण्डकी प्रदेश सांसद हुन् । सहसचिवमा भने मञ्जु अधिकारी र रश्मी आचार्यलाई चयन गरिएको छ । एमाले नेतृ मञ्जु अधिकारी पर्वतको फलेवास नगरपालिकाकी उपमेयर हुन् भने रस्मी अखिलको केन्द्रीय उपाध्यक्षबाट बिदा लिएर भूगोलको राजनीति गर्न आएका हुन् ।