९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

फेवाताल र सेती नदी सफा गर्दै र्‍याफ्टिङ गाइड


कृष्णमणि बराल
  • २७ मंसिर २०७८ , सोमबार

  • फेवाताल र सेती नदी सफा गर्दै र्‍याफ्टिङ गाइड

    पोखरा, २७ मंसिर – नेपालका नदीहरुमा पर्यटकलाई र्‍याफ्टिङ गराउने गाइडहरु यति बेला पोखराको फेवाताल, सेती नदी सफा गर्न व्यस्त छन्। कोभिड १९ का कारण पर्यटक आगमन ठप्प भएपछि बेरोजगार बनेका पानीमा खेलिने शहासिक र्‍याफ्टिङ गराउने गाइडहरु बेरोजगार थिए।

    जीविकोपार्जन पुनरुत्थान लागि दिगो पर्यटन परियोजना कार्यक्रम अन्तर्गत र्‍याफ्टिङ गाइडहरु गत ६ दिनदेखि फेवाताल र सेती नदीको सरसफाइमा जुटेको हिमालयन रिभर गाइड एशोसियसन पोखरा च्याप्टरका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। कोभिडपछि पर्यटक आगमन ठप्प भएपछि दुई वर्षदेखि र्‍याफ्टिङ व्यवसाय पनि ठप्प भएको उनले सुनाए। र्‍याफ्टिङ गर्दा गर्दै टाउकोमै पर्ने गरी नदीमा फोहोर फ्याक्ने गर्ने गरेको पनि अध्यक्ष पाण्डेले बताए।

    व्यवसाय नै ठप्प भएको अवस्थामा जीविकोपार्जन पुनरुत्थान लागि दिगो पर्यटन परियोजना कार्यक्रम अन्तर्गत ३५ जना गाइडहरुले आफू नै र्‍याफ्टिङ गर्दै आएको सेती नदीको हेम्जाघाट बेसीदेखि पहिलो चरणमा यम्दीसम्म सरसफाइ गरेको  अध्यक्ष पाण्डेले बताए। आइतबार भने यसै कार्यक्रम अन्तर्गत फेवातालको सफाइमा युवाहरु जुटेका थिए।

    पहिले र्‍याफ्टिङ चलाउँदा पनि सेती नदी, मादी नदीहरुमा फोहोर फ्याँक्दा पर्यटकले नरमाइलो मान्ने गरेको उनले बताए। र्‍याफ्टिङकै क्रममा नदी पनि सफा गर्ने गर्थ्यौं कोभिडले बेरोजगार बनेको अवस्थामा नदी र ताल सफा गर्ने काम पाउँदा खुशी लागेको अर्की र्‍याफ्टिङ गाईड सीता थापाले सुनाइन्। सरसफाई कार्यक्रम दश दिनसम्म हुने बताइएको छ। पर्यटन क्षेत्रको आम्दानीबाट छोराछोरीलाई पोखराकै विद्यालयमा अध्ययन गराउँदै आएकोमा कोभिडले व्यवसाय ठप्प भएको कारण गाउँ फर्कन पर्ने अवस्था आएको पर्यटन मजदुरले बताएका छन्। यस्ता कार्यक्रमले केही राहत भने मिलेको उनीहरुले सुनाए।

    पर्यटकीय शरह पोखराको प्रमुख आकर्षण हिमाल, ताल, नदी लगायत प्राकृतिक सुन्दरता रहेकोले संरक्षणमा बेलैमा ध्यान दिनु पर्ने गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख सिनियर डिभिजन इन्जिनियर प्रेमप्रसाद डोटेलले बताए। प्राकृतिक स्रोतको संरक्षण र विकास नै दिगो पर्यटनको आधार रहेकोले यसतर्फ सबै नागरिक स्तरबाटै जुट्नु पर्नेमा उनले जोड दिए।

    पर्यटन बोर्ड र यूएनडीपीद्वारा साढे २० लाख डलर लगानीमा दिगो पर्यटन परियोजना सुरु भएको हो। यसअघि पथप्रर्दशकहरुले पनि यस्तै कार्यक्रम अन्तर्गत कास्कीको पदयात्रा मार्ग सफा गरेका थिए। कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना सुरु गरिएको हो।

    नेपाल  पर्यटन बोर्डले संयुक्त राष्ट्रसङघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना संचालन गरिरहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रवन्धक नविन पोखरेलले बताए। परियोजनाबाट पर्यटन क्षेत्रका श्रमिक तथा मजदुरलाई राहत पुग्ने विश्वास गरिएको छ।

    कोभिडको कारण बेरोजगार बनेका पर्यटन मजदुरलाई यस क्षेत्रबाट पलायन हुन नपरोस् भन्ने दृष्टिकोणले यो कार्यक्रम आएको युएनडिपीका प्रतिनिधि सुदिप अर्यालले बताए। कोभिडका कारण हजारौं पर्यटन मजदुर बेरोजगार भएको अवस्थामा पलायन हुनबाट रोक्न यस्ता कार्यक्रम महत्वपूर्ण रहने पश्चिमाञ्चल क्षेत्रीय होटल संघका पूर्व अध्यक्ष भरत पराजुलीले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend