८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

फेरि कोभिड महामारीको संकेत देखियो: डा. सुवेदी


जनमञ्च संवाददाता
  • २८ मंसिर २०७८ , मंगलबार

  • फेरि कोभिड महामारीको संकेत देखियो: डा. सुवेदी

    काठमाडौं, २८ मंसिर – संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले फेरि पनि कोरोना संक्रमणको महामारीको संकेत देखिएको बताएका छन् । कोभिडका विरामीको संख्या र स्थिति देख्दा यस्तो संकेत देखिएको उनको भनाइ छ ।

    ‘उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग-प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने गरेको देखिएको छ,’ डा. सुवेदीले सामाजिक सन्जालमा लेखेका छन्, ‘ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टा मात्रको लहरभन्दा ठूलो हुने पनि सुनिश्चित जस्तै भएको छ ।’ उनले स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न र एन-९५ वा सो सरहको मास्क हरबखत लगाउन आह्वान गरेका छन् ।

    यस्तो छडा. सुवेदीले सार्वजनिक गरेको धारणा :

    विगत १-२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ ।

    ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरिएन्टले नै पनि हिउँदमा फेरि अर्को -अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो । त्यसको मुख्य कारण उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग-प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने गरेको देखिएको छ ।

    ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन् चाँडो आउने र डेल्टा मात्रको लहर भन्दा ठूलो हुने पनि सुनिश्चित जस्तै भएको छ ।

    त्यो ओमिक्रोनको लहर अघिल्लो -दोस्रो) लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि केही सानो, कम क्षति गराउने हुन्छ ? भन्ने मात्र अहिल्यै अनुमान गरिहाल्न सकिंदैन ।

    विगत केही दिनमा विशेष गरी सभा-सम्मेलन, बिहे, भोजमा संक्रमित भएर हप्तादिन जति पछि अस्पताल जाने, भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ । यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित हिउँदे उभार हो कि यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउँछ । तर मूल कुरो, सबै फेरि एकदम सतर्क हुनुपर्छ ।

    बिहेबारी, भोजभतेर, सभा-सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला । घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन-९५ वा सो सरहको मास्क हरबखत लगाउनुहोला । आफूले स्कुल पठाएका केटाकेटीहरूलाई पनि त्यसो गर्न सिकाउनुहोला ।

    मास्क लगाउँदा, मास्कको छेउ वा तलमाथिबाट हावा ननिस्कने गरी अनुहारमा टपक्क मिल्ने मास्क मात्र लगाउनुपर्छ । त्यस्तो मास्क नभेटिएमा बरू टपक्क मिल्छ भने एन-९५ मास्क र सर्जिकल मास्क वा सर्जिकल र कपडाको मास्क, आदि २ थरी मास्क एकैचोटी लगाउने गर्नुपर्छ ।

    यो युट्युब भिडियो लिंकमा देखाइए झैं मास्कको दुई छेउमा गाँठो र मुजा पारेर लगाउँदा पनि मास्कलाई तपाईंको अनुहारमा उपयुक्त तरिकाले टपक्क बस्ने बनाउन सकिन्छ ।

    ०००

    भेन्टिलेशन राम्रो नभएको बन्द कोठा वा ठाउँमा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला । सकेसम्म भेटघाट र विशेष गरी अरु व्यक्तिसँग खानपान, बाहिर खुला ठाउँमा मात्रै गर्नुहोला ।

    परिवारको कसैलाईसामान्य रुघा वा खोकी वा हल्का ज्वरो मात्र वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने पनि तुरुन्त पिसिआर जाँच गराउनुहोला । अनि रिपोर्ट नआउन्जेल घरका अरु कोही पनि सदस्य कार्यालय, स्कुल वा बाहिर कतै नजानुहोला ।

    यदि घरको एक जनाको मात्र पिसिआर पोजिटिभ देखियो भने पनि पोजिटिभ हुने त छुट्टै बस्नै पर्यो, बाँकी अरुले पनि क्वारेन्टिनका सबै नियमको पालना सकेसम्म गर्नुहोला ।
    सकेसम्म आफू पनि छुट्टै बस्ने, एकै कोठामा बस्दा सकेसम्म मास्क लगाउने, सँगै खाना नखाने, ७-१० दिनमा पिसिआर गर्ने गर्नुहोला ।

    कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला ।

    जतिसुकै महिनाका गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधी खाने सबैले कोभिड विरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ र लगाउनुपर्छ ।

    सबैजना आफू जोगिऊँ, अरुलाई जोगाऔं ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend