८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

राजनीति : रुप र सार


शिव प्रसाद पाँण्डे
  • २८ मंसिर २०७८ , मंगलबार

  • राजनीति : रुप र सार

    हामीले पचासौ हजार मानिस उतार्छौ । मानिस कति हुछन् हेर्न आउनु । हामीले जति मानिस जम्मा गर्न नसकेर कोठे सम्मेलन गर्दैछन् । पाँच हजार मानिस थिए होला तीस हजार भन्दछन् । पाटीको सम्मेलनमा जन सागर देखियो । सबै पाटीका समर्थक कहाँ हुन र खानाको लागि जम्मा भएका हुन् । सभामा सिठीझारा ल्याउनु पर्दछ । सभामा नआउनेको नाम टिपिन्छ भन्नु है । बाइकमा तेल र मासुभात फ्री बनाएको छ रे । घरमा कति समस्या छ तरपनि देखिनु पर्ने होला । जनता पनि भेडै हुन । बेरोजगारीको संकेत यसैबाट देखिन्छ —- आदि । यी र यस्तै भनाई नेता कार्यकर्ता र सर्वसाधरणको मुखबाट आजभोलि सुन्ने गरिन्छ ।
    कुनै राजनैतिक पाटीलाई सह्राउने र कुनैलाई सत्तो सराप गर्नु पर्ने कुनै तात्तिक कारण देखिदैन । सबैको भनाइ र गराई ताल र लय सोलोडोलो उस्ता उस्तै छ । एकजना सिधा साधा जन जातीका वृद्धलाई पहिलो पटक गुनगान र धर्म सिकाउन सप्ताहव्यापि पुराण सुनाउन लगिएछ । उनले सात दिन सम्म ध्यान दिएर सुनेछन् । उनी घर फर्कर्दै गर्दा कसैले सोधेछन् – पुराण कस्तो लाग्यो ? उनले जवाफ दिएछन् – पुराण भनेको के के न होला भनेको त्यहि लोग्ने स्वास्नीको कुरा त रहेछ । नेताहरुले गर्ने भाषण अर्को पाटीका नेता अझै भनौ केही समय अघिसम्म राम्रो ठानिएको नेताहरूलाई यो संसारको सबभन्दा नीच बदमास ठानी गाली गलौजको निम्न स्तर खोजि खोजि क्यारिकेचर शैलीमा उछिटो काडिन्छ । सभामा सुसेली हाल्दै ताली पिटिन्छ । नेताको मूल कुरा यहि भएकोछ । यो पूर्व अनुमान गर्न सकिन्छ । भनि राखेको सत्तो सराप दोहोरिन्छ ।राजनीतिमा धेरै प्रयोग हुने पदावलीमध्ये रुप र सार पनि एक हो । राजनीतिमा पाटीको नीति दर्शन सिद्धान्त र कार्यक्रम सार हो । सार निश्चित उदेश्य हो । उदेश्यलाई मूर्त रूप दिने सिलसिलामा गरिने सम्मेलन भेला रूप हुन । सार हराउदै जादा रूप प्रमुख हुन्छ । रूप सतही हुन्छ । यसलाई जसले पनि देख्न सक्दछ । यो भौतिक पक्ष हो । तर सार अभौतिक हुन्छ । यो अमुर्त हुन्छ । पदार्थ रूप हो भने चेतना सार हो। रुपले सधै परिमाण खोज्दछ । सारले सधै गुण खोज्दछ । रूप बिनाको सार हुदैन । तर सबै रुपहरुले सार दिन्छन भन्ने छैन । त्यसैले भनिन्छ – निश्चित उदेश्य परिपूर्तिका लागि गरिने आन्दोलन क्रान्ति हुन्छ भने उदेश्य बिनाको आन्दोलन गुण्डागर्दी हुन्छ । विभिन्न तामझाम रुप हो । ती तामझामले के उदेश्य पूरा गर्दछ भन्ने नै सार हो । सार रुपको पछि लाग्यो भने त्यो दिशा बिहिन हुन्छ । सारको पछि रूप लाग्नु पर्दछ भनिन्छ । कुनै रूपबिना सार खोज्नु पनि काल्पनिक हुन जान्छ । रूप अनुसाको सार र सार अनुसारको रूप हुने हुदा यी दुईकोबीच सापेक्ष सम्बन्ध रहन्छ। सार र रूपबीचको सम्बन्ध अस्थायी तथा परिस्थितिजन्य हुन्छ । नयाँ सारले पुराना रुपहरूलाई उपयोग गर्दछ ; गर्नुपर्दछ ।
    आज राजनैतिक पाटीहरू सिद्धान्त बिचार नीति र प्रतिबद्धताबाट टाढिदै गएका छन्। । पाटीहरू दलाल बिचौलियाहरुको घेरामा पर्दै गरेको कुरा नेताहरूले स्वीकार गरेको अवस्था छ । एकजना छिमेकीको घरमा पछौरा ओडेर भजन गाउन गएका थिए । उनी घर फर्कदा सिराक चोरेर ल्याएछन् । पछि सिरकको मालिक छिमेकी घरमा आउदा आफ्नो सिरक चिनेछन् । सिरक चोरेर ल्याउनेलाई अठ्यारो पर्यो । उनले आत्तिदै भनेछन् – यो सिरक मेरो पछौरामा लटपटिएर आएछ । पाटी र नेता पनि यसरी नै लटपटिएको अवस्था छ । गणतन्त्रपछि धेरै प्रयोग भएको शब्द समाजवाद पनि एक हो । पाटी र संविधानको सार एउटै हुदा पनि किन समाजवादका संकेत देखिएका छैनन् ? बरू पंचायती व्यवस्थामा संचालित सरकरी उद्योगहरू बेचियो । निम्न स्तरका कर्मचारीहरूलाई ठेकेदारले खटाएर पठाउने व्यवस्था गरियो । आधा तलवमा काम गर्न बाध्य पारियो । यस्ता समाजवाद विरोधी परिपाटीका कयौ रूप बढ्दै गएका छन् ।
    धेरै क्षेत्रहरूमा रूप पक्षलाई जोड दिएको पाइन्छ । विद्यालय संघ संस्थाहरुले गर्ने वार्षिक उत्सव होस वा बिशेष उत्सवहरूमा सामाजिक र शैक्षिक विकास सार पक्ष देखाएर चन्दा सहयोग जुटाउने गरिए पनि रूप पक्षमा खर्च गरेर सक्ने गरेको पाइन्छ । सभ्य र भब्यको नारा दिइन्छ । भव्यको अर्थ रूपलाई मात्र बुझिन्छ । छाडा नाचगान खानपान बिकृति होहल्ला तामझामले अधिकांश समय लिएको देखिन्छ । शृजनात्मक र रचनात्मक क्रियाकलाप ओझेलमा पारिन्छन् । शिक्षकहरु पाटीको जिल्ला र क्षेत्रको कार्य समितिको पदाधिकारी भनि परिचय दिदा जुन शान मान मिल्छ प्ना वि तहको शिक्षक भन्दा मिल्दैन। शिक्षण सिकाई प्रक्रियामा कम संलग्न हुने नै वढुवा र पुरस्कृत हुने वर्गमा पर्दछन् । धर्म जस्तो अमुर्त कुरालाई समेत रूप दिइएको पाइन्छ । कयौं मानिसले खान नपाइरहेको अवस्थामा धातु र ढुङ्गाको मुर्तिको मुखमा केरा पेडा रोटी कोचाई दिएको यत्रतत्र देखिन्छ । यस्तै मनोदशा भएका भोटरहरुलाई रूप पक्षले आकर्षण गर्दछ ।
    शहरी क्षेत्रमा घर निर्माण गर्दा रूप पक्षलाई महत्व दिइन्छ । धेरै खर्च रंगरोवन,नमस्ते, फूलबुट्टा, ढुङ्गा टास्ने जस्ता कार्यका गरेको देखिन्छ । अरुलाई देखाउने यो रूप पक्ष हो । भित्र उपभोग गर्ने सुविधाहरु नाजुक हुन्छन् । पढन नजान्ने वा नपढेका मानिसको घरमा पनि दराजमा पुस्तक सँजाएर राख्ने संस्कृतिको विकास भएको छ । प्राकृतिले विभिन्न प्राणीहरूलाई नक्कली अंगहरू दिएर वास्तबिक रूपलाई ढाकछोप गरेको देखिन्छ । भ्यागुताले गाँड फुलाएर,चराहरूले पखेटा फिजाएर,छेपाराले रंग फेरेर सत्रुबाट बच्न तथा शिकार गर्ने गर्दछन् । अहिले पालिकाहरुले बस्तिलाई जोखिम हुने गरि डोजर लगाएर बाटो बनाएकोलाई मात्र विकासको रूपमा लिइन्छ । दीर्घकालिन रूपले गरिएको लगानी तथा चेतनामूलक कार्यमा गरिएको लगानीलाई विकास मानिदैन ।
    पहिले पहिले शोषणका रूपहरु केहि हदसम्म देखिने खालका हुन्थे । तर अहिलेका भष्टचारका अनेक रूपहरुलाई सामान्य जनले बुझ्न गाह्रो छ । नीतिगत भ्रष्टचार कमिशन तन्त्र गोप्य मन्त्र बुझि नसक्नु छ ।
    भष्टाचार मुक्त समाज भष्टचारप्रति शुन्य सहनसिलता भन्दै चर्को भाषण गरे पनि यसको विस्तारमा नेता र नेतृत्वको संग्लनता रहेको छ । एनसेल कर छली,वाइड वडि खरिद काण्ड, औषधि खरिद काण्ड,वालुवाटार काण्ड,सेकुरिटि प्रेस खरिद काण्ड, राहत वितरण काण्ड आदि प्रतिनिधि काण्ड मात्र हुन् । उधारोमा शासन चलेको छ । कार्यन्वयन गर्नुपर्ने धेरै मुद्दाहरूको खात लागेको छ । संवैधानिक अंगहरूलाई काम गर्न दिइएको छैन वा गर्न लगाएको छैन । मुद्दाहरूको कार्यन्वयनको कुरा बिरालाले पाठा सारे झै भाका सारिएको छ ।
    देश विकासको लागि राजतन्त्र ल्याउनु पर्छ भन्नेको संख्या पनि बढदै गएको छ । बाजे राजा,छोरा राजा वा नाती राजा कुन हो छुट्टाइएको छैन । आजको राष्ट प्रमुख कसैले ठगाएर उभिन्छ भन्ने छैन । राज्य संचालन गर्ने जस्तो काम खेतला हालेर गर्न सकिदैन । राजतन्त्रको फलाको वर्तमान असंतुष्टिको तुस मेटाउने बाटो मात्र हो । मूल नीति राजनीति हल्का बन्दा समाजमा संचालित अन्य नीतिहरू स्वभाविक हल्का बन्दछन् । युद्धमा एकजना योद्धा टाउकोमा गोली लाएर मरेको कुरा कसैलाई सुनाइएछ । सुन्ने व्यक्तीले साहानुभुतिसाथ भनेछन – बिचरा ! कस्सो चण्डि जोगाएछ । मरि सकेपछि चण्डि जोगिएर के भो ! आज राजनीतिको चण्डि जोगाउन मुश्किल भएको देखिन्छ ।
    अवश्य पनि युवा पुस्ता जागरूप हुनु पर्दछ । राजनीति आफैमा महंगो होइन बनाइएको हो । नेतृत्व कसैले दिने बिषय पनि होइन । मानिस जन्मदैन बनाइन्छ भने झै नेतृत्व कसैले दिदैन जन्मनु पर्दछ । कार्य र कारण,अनिवार्य र आकस्मिकता,संभावना र वास्तविकता, पूर्ण र अंश आदि एक अर्कोमा सम्बन्धित पदावली हुन । यीनै बीचको अन्तर छुट्टाउन नसक्दा रुप भित्र सार हराएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend