बागलुङ, २९ मंसिर – लोप हुन थालेको लोकभजन जगेर्ना गर्ने उद्देश्यले बागलुङ नगरपालिका-४ कुडुँलेमा निर्माण भएको शालिग्राम संग्राहलयमा आयोजना गरेको प्रथम लोक भजन महोत्सवमा ४२ समूहले लोक भजन प्रदर्शन गरेका छन् । भजन महोत्सव मङ्सिर २४ गते देखि २८ गते सम्म आयोजना गरिएको थियो ।
महोत्सवमा गण्डकी प्रदेशका गोरखा, कास्की, म्याग्दी, पर्वत र बागलुङका ४२ भजन समूह सहभागी रहेको भजन महोतसव मूल आयोजक समितिका संयोजक राजु खड्काले जानकारी दिए । क्षेत्रीका अनुसार गोरखाका दुई भजन समूह, म्याग्दीका तीन भजन समूह, कास्कीका तीन भजन समूह, पर्वतका ६ भजन समूह र बागलुङका २८ भजन समूहको सहभागीता थियो ।
५० भजन समहूको भजन प्रदर्शन गर्ने लक्ष्य रहेको महोत्सवमा कोरोनाको नयाँ भेरियन्टको त्रासका कारण केही भजन समूह आउन नसकेपनि भजन महोत्सव अत्यन्तै सफल भएको संयोजक खड्काले जानकारी दिए ।

भजन महोत्सव अवधीभर भजन आयोजक समितिलाई रु. १२ लाख ७० हजार दान प्राप्त भएको आयोजक समितिका सह–संयोजक संगम घर्तीले वताए । भजन महोत्सवमा सहभागी ४२ भजन समूहलाई रु. पाँच हजारका दरले यातयात खर्च उपलव्ध गराइएको छ । भजन समूहलाई यातयात खर्च स्वरुप रु. २ लाख १० हजार खर्च भएको आयोजकले जनाएको छ ।
भजन महोत्सवमा सहभागी भजन समूह तथा भक्तजनहरुलाई खाना र आवासको समेत व्यवस्था गरिएको थियो । भजन महोत्सव मुठ्ठि दानमा सञ्चालन गरिएको शालिग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले बताए ।
पाँच दिनसम्म चलेको भजन महोत्सवमा कलाकारहरु रेशम सापकोटा, प्रजापति पराजुलीले लोकभजन प्रस्तुत गरेका थिए । बागलुङ नगरपालिका–४ कुँडुले फेदीको बालाजीधाम मंसिर २४ देखि पाँच दिनसम्म भक्ति संगीतले गुञ्जायमान भएको स्वामी प्रपन्नचार्यले बताए । गीता जयन्तीको सन्दर्भ पारेर महोत्सव आयोजना गरिएको उनको भनाई छ ।
युवा पुस्ताको बेवास्ता र पुस्ता हस्तान्तरण हुन नसक्दा भजन गुन्जिन छोडेका थियो । प्रतियोगितामा प्रतिस्पर्धा हुने भएकाले खुल्ला रुपमा भजन आयोजना गरिएको भजन महोत्सव आयोजक समितिले जनाएको छ ।