बागलुङ, १ पुस – बागलुङ नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुगेको छ । स्वास्थ्य संस्था नरहेका वडाहरुमा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरु सञ्चालनमा आएसँगै सबै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको हो ।
स्वास्थ्य संस्था नरहेका वडा नं. १, ३ र ४ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । वडा नं. १ रामरेखामा गत आर्थिक वर्षदेखि केन्द्र सञ्चालनमा आएको थियो । बुधबार वडा नं. ३ खहरेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन भएको छ । वडा नं. ४ उपल्लाचौरमा समेत सेवा केन्द्रको भवन तयार रहेको र सेवा प्रवाह भैरहेकाले सबै नागरिक आधारभुत स्वास्थ्य सेवाको पहुँचमा आएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
वडा नं. २ मा भने धौलागिरी अस्पताल रहेकाले स्वास्थ्य संस्थाको आवश्यकता छैन् । बुधबार खहरे स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख जनकराज पौडेलले नागरिकको आधारभुत आवश्यकतामा पर्ने स्वास्थ्य सेवा प्रवाहमा नगरपालिका प्रतिबद्ध रहेको बताए । स्वास्थ्य संस्था नभएका वडाहरुमा स्वास्थ्य केन्द्रको स्थापना र नगरअस्पताल समेत सञ्चालनको तयारी भैरहेको उनले जानकारी दिए । मध्यपहाडी लोकमार्गको छेउमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रले सडकमा सुत्केरी हुनुपर्ने बाध्यताको अन्त्य हुने उनको तर्क थियो ।
‘राज्यको पुनसंरचनापछि हामि नव संरचना निर्माणको क्रममा छौं, खहरेको स्वास्थ्य सेवा केन्द्रको भवन एउटा नमुना हो’ प्रमुख प्रसासकीय अधिकृत जीवन ज्ञवालीले भने ‘अब हाम्रो नगरमा आधारभूत तहको स्वास्थ्य सेवा नपुगेको वडा रहेन् ।’
खहरेमा निर्माण भएको भवन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा तयार भएको हो ।
आर्थिक बर्ष २०७६ फागुनमा निर्माण थालिएको भवन २०७७ मंसिरमा निर्माण सम्पन्न भएर हस्तान्तरण भएको थियो । निर्माणको जिम्मेबारी लिएको तिलक निर्माण सेवाले समयमै भवनको काम सकेको भएपनि कोरोना महामारी लगायतका कारणले उद्घाटन हुन सकेको थिएन् । भवन अभावमा साँघुरो कोठाबाट प्रवाह हुँदै आएको क्लिनिक सेवा अब आधारभुत स्वास्थ्य सेवा केन्द्रका रुपमा विकास भएको ज्ञवालीले बताए । ६१ लाख रुपैयाँको लागतमा निर्माण भएको भवनमा आधारभुत स्वास्थ्य सेवा केन्द्रका लागि आवश्यक सबै संरचना तयार छन् ।
दुईजना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीले सेवा प्रवाह गरिरहेका छन् । बुधबार उद्घाटन समारोहमा स्थानीय बद्रीबहादुर केसी, राम बहादुर हमाल, विश्वनाथ रेग्मी लगायतले बोले । वडाअध्यक्ष तथा आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मि बास्कोटाको अध्यक्षता, केन्द्र प्रमुख सकुन्तला थापाको स्वागत र वडा सचिव भीमसेन पन्तको सञ्चालनमा कार्यक्रम भएको थियो ।