काठमाडौं, २ पुस – नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा आठजना सहमहामन्त्रीमध्ये बिहीबार तीनवटा क्लस्टरको छिनोफानो भएको छ। जसअनुसार दुईवटामा शेरबहादुर देउवा पक्ष र एकवटामा डा. शेखर कोइराला पक्ष विजयी भएको छ।
जसअनुसार महिलातर्फ एकजना सहमहामन्त्रीमा महालक्ष्मी ‘डिना’ उपाध्याय निर्वाचित भएकी छन्। मतपरिणाम अनुसार देउवा प्यानलकी डिनाले २५३३ मत ल्याएर विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन्।
कांग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ पनि देउवा समूहका भीष्मराज आङदेम्बे विजयी भएका छन्। आदिवासीतर्फ ४६८१ मत खस्दा आङदेम्बे २७११ मत ल्याए। उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत पाएका छन्।
आङ्देम्बे शेरबहादुर देउवा प्यानलका हुन् भने लामा शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए।
कांग्रेसको आठ सहमहामन्त्रीमध्ये दलिततर्फ भने डा. शेखर कोइराला प्यानलका जीवन परियार विजयी भएका छन्। कोइरालाको प्यानलबाट सहमहामन्त्री उठेका परियारले सभापति देउवा प्यानलका मानबहादुर विश्वकर्मालाई हराएका हुन्।
दलिततर्फ सहमहामन्त्री विजयी हुने क्रममा परियारले २२१२ मत ल्याउन सफल भए। पराजित विश्वकर्माले २१७५ मतमा चित्त बुझाए। विजयी परियार यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य थिए। कास्कीबाट कांग्रेसको राजनीति थालेका उनीसँग संविधानसभा सदस्यको अनुभव पनि छ।
सहमहामन्त्रीमा फड्को मारेका परियारले कांग्रेसनिकट दलित संघको महासचिवका रुपमा पनि काम गरिसकेका छन्।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबार पार्टी कार्यालय सानेपामा सहमहामन्त्रीका तीन समूह महिला, आदिवासी जनजाति र दलिततर्फको मत गणना भएको हो।
मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस-आर्यतर्फका सहमहामन्त्रीको मत शुक्रबार गणना हुने निर्वाचन समितिले जनाएको छ। सहमहामन्त्रीमा विभिन्न क्लस्टरबाट ८ जना निर्वाचित हुने छन्।