काठमाडौं, ३ पुस – बेलायती अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टमा गम्भीर लक्षणबाट बचाउन बुस्टर डोज प्रभावकारी हुने बताएका छन्। बीबीसीका अनुसार अध्ययनमा ओमिक्रोनबाट गम्भीर बिरामी हुनबाट रोक्न ८५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने पाइएको छ। यद्यपि यो सुरक्षा अन्य भेरियन्टमा कोरोना खोपले दिने सुरक्षाभन्दा केही कम हो।
बेलायतमा अहिले ओमिक्रोन भेरियन्टसहितको संक्रमण उल्लेख्यरुपमा फैलिइरहेको छ। अहिलेसम्म यो भेरियन्टबारे धेरै जानकारी प्राप्त हुन सकेको भने छैन। त्यसैले यसबारे मानिसहरुमा अन्योल फैलिएको छ।
कोरोनाको पूरा डोज खोपले यसबाट केही सुरक्षा प्रदान गर्ने भए पनि बलियो सुरक्षाको लागि बुस्टर डोज लिनु आवश्यक रहेको जानकारहरुले बताएका छन्। डेल्टा भेरियन्टविरुद्ध बुस्टर डोज ९७ प्रतिशत प्रभावकारी देखिएको थियो। ओमिक्रोनविरुद्ध भने बुस्टर डोज ८० देखि ८५.९ प्रतिशत मात्र प्रभावकारी रहने पाइएको हो।
ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएका धेरैजसोमा सामान्य लक्षण मात्र देखिएको छ भने यसबाट मृत्यु हुनेको संख्या पनि कम देखिएको छ। यद्यपि वैज्ञानिकहरुले यसबाट बच्न सतर्कता आवश्यक रहेको बताउँदै आएका छन्।