बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी यही अवस्थामा तत्काल अघि बढाउनुपर्ने मत राखेका थिए।
तर, त्यसको प्रतिकार गर्दै नेता नारायणकाजी श्रेष्ठले यही रुप र अवस्थामा कुनै हालतमा एमसीसी अगाडि बढाउन नसकिने अडान लिएका थिए। उनलाई सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले साथ दिएका थिए।
‘यही अवस्था र यही रुपको एमसीसी अगाडि बढाउनै मिल्दैन’, कार्कीलाई जवाफ दिँदै श्रेष्ठले बैठकमा भने, ‘अहिले नै जस्ताको त्यस्तै संसदमा टेबल गर्न मिल्दैन।’
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्न दलहरुबीचमा साझा सहमति कायम गर्ने हिसाबले सर्वदलीय बैठक बोलाएका थिए। तर, बैठकमा साझा सहमति कायम हुन सकेन।
एमसीसी अगाडि बढाउने पक्षमा प्रचण्ड
स्रोतहरुका अनुसार यही पुसमा हुने राष्ट्रिय सम्मेलनबाट म्यान्डेट लिएर मात्रै एमसीसी अगाडि बढाउने पक्षमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छन्।
माओवादी केन्द्रको पुस ११ देखि १३ सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ। यो बैठकले पार्टीका दस्तावेज, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन पास गर्दैछ।
त्यसैगरी देशको राजनीतिक परिस्थिति, विश्व परिस्थितिको पनि समीक्षा हुनेछ। त्यस्तै यो सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीलाई पनि एउटा एजेन्डाका रुपमा छलफलमा लैजाँदैछन्।
‘राष्ट्रिय सम्मेलनबाट म्यान्डेट लिएर अध्यक्ष कमरेड एमसीसीलाई अगाडि बढाउने योजनामा हुनुहुन्छ जस्तो लाग्छ,’ स्रोतले भन्यो, ‘सम्मेलनबाट त्यसको अधिकार लिएपछि पार्टीभित्र विरोध पनि हुँदैन।’
तर, प्रचण्डले एमसीसीमा परिमार्जन भएका केही कुराहरुप्रति असहमति जनाइरहेका छन्।
उनले सर्वदलीय बैठकमा पनि त्यसबारे संकेत गरेका थिए। यसअघि आइतवारै बसेको पाँच दलीय गठबन्धन बैठकबाट एमसीसीबारे अध्ययन गर्न झलनाथ खनाले नेतृत्वको तीन सदस्यीय समिति बनाइएको छ।