८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मध्यरातमा सत्यावती मन्दिरमा चिच्याएर वर मागे


जनमञ्च संवाददाता
  • ५ पौस २०७८ , सोमबार

  • मध्यरातमा सत्यावती मन्दिरमा चिच्याएर वर मागे

    बागलुङ, ५ पुस – मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि । स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ । धार्मिक परम्पराअनुसार यो पूर्णिमाका दिन बागलुङको बरेङ गाउँपालिका वडा नं. ३ मा रहेको सत्यावती मन्दिर साग्दीमा रातको समयमा चिच्याएर वर माग्दा मनोकांक्षा पूरा हुने मान्यता छ ।

    दुई वर्ष यता कोरोना महामारीका कारण साग्दी पुग्न नसेका गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाका भक्तजन यो वर्ष बागलुङको बरेङ पुगे । आइतबार बिहानै भक्तालुले चिच्याएर वर मागे । शनिबार दिउँसोदेखि साग्दीमा जम्मा भएका भक्तजनले बर मागेपछि मन्दिरमा पूजाआजा र वली दिएका थिए । दुई वर्ष पहिला पूर्णिमाको दिनमात्रै दश हजारभन्दा बढी भक्तालुले चिच्याएर वर मागेका थिए ।

    तर यो वर्ष संख्या कम रहेको वडा अध्यक्ष दुर्गा कार्की थापा क्षेत्रीले बताइन् । पूजाको अवसर पारेर स्थानीय क्लवहरुले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने गरेका छन् । ‘शनिबार राति आएका भक्तजनले चिच्याएर वर मागे, आइतबार साँझसम्म पूजा र वलीको कार्यक्रम चलिरहेको छ’, क्षेत्रीले भनिन् ‘अबेरसम्म हजार जनाभन्दा बढी भक्तजन पुजाका लागि लाईनमा छन् ।’

    विशेषगरी पूर्णिमाको रात प्रतिपदाको बिहान उज्यालो हुनुपूर्व वर माग्नुपर्ने मान्यता रहेको भएपनि मंसिर र पुसभर वर माग्दा मनोकांक्षा पूरा हुने मान्यताले सत्यावतीमा भक्तजन पुग्ने गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउछन् । सत्यवतीमा पुजाका लागि गाउँपालिकाले स्वयंसेवक परिचालन गरेको थियो । पूर्णिमामा भीड बढी हुने भएकाले गाउँपालिकाले व्यवस्थापन गर्ने गरेको हो ।

    बरेङको सत्यवतीमा बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, म्याग्दीलगायत जिल्लाबाट भक्तालु पुग्ने गरेका छन् । परापूर्वकालमा महाशक्ति सत्यावती बराजुले चिच्याएर वर माग्दा दिनको उज्यालोमा मागेको वर अरू कसैले सुन्ने र बराजुले वर दिन नसक्ने मान्यताअनुसार हरेक वर्षको दिवाली पूर्णिमाको दिन भक्तालु त्यहाँ पुगेर वर माग्ने गरेको बरेङका स्थानीय जेष्ठ नागरिकले बताए । सत्यवतीमा पुगेर रातीमा मागेको वर पूरा हुने विश्वासले भक्तालुहरु त्यहाँ पुग्ने गरेका छन् ।
    सत्यवती बराजु बहिरा रहेकाले चिच्याएर वर माग्नुपर्ने र वर मागेको अरू कसैले देख्न नहुने मान्यता छ । पहिले हप्तौँ लामो बाटो हिँडेर सत्यावती पुग्ने गरेका भक्तालु यसवर्ष भने सवारी साधनको प्रयोग गरेर त्यहाँ पुग्ने गरेका छन् । रातीमा वर माग्नु पर्ने भएकाले अघिल्लो दिन त्यहाँ पुग्नुपर्ने र पूर्णिमाको रात वर माग्नका लागि रातमा लाइन बस्नुपर्ने भएकाले भक्तालुलाई समस्या हुने गरेको सवारी चालक हर्कबहादुर तामाङ बताउछन् ।

    पहिलेजस्तो यातायातको समस्या नभए पनि खाना बस्न समस्या हुने गरेको त्यहाँ पुगेका भक्तालुले बताउने गरेका छन् । हाल सत्यवती जानका लागि बागलुङ बजारहुँदै दुदिलाभाटी बाटाकाचौर, बागलुङ–कुश्मीशेरा–बरेङहुँदै बाटाकाचौरसम्म कच्ची सडक सञ्चालनमा रहेकाले समस्या नरहेको शर्माले बताए ।

    हाल मन्दिर आसपासमा निर्माण गरिएका दुईवटा सामुदायिक भवनबाहेक बस्नका लागि अन्य पूर्वाधार नभएको स्थानीय बताउँछन् । गाउँपालिकाले रणनीतिक योजना नै बनाएर सडक सञ्जालसँग सत्यवतीलाई जोडेको छ ।
    आदिकालमा सत्यावती बराजुका सात बहिनीमध्ये एक बहिनी बागलुङमा बसेको र उनले रातको समय मागेर भक्तजनलाई वर दिने गरेको किंवदन्तीका आधारमा भक्तालु त्यहाँ जाने गरेको बूढापाकाहरु बताउँछन् । पाल्पामा रहेको सत्यावती बराजु, गुल्मीमा रहेको मालिका माइको भने कार्तिक शुक्ल पूर्णिमामा पनि दर्शन गर्न सकिने मान्यता छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend