काठमाडौं, ५ पुस – बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातलाई थप निरुत्साहन गर्न केही विलासिताका वस्तुहरूको आयातमा कडाइ गरेको छ ।
सोमबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले त्यस्ता वस्तुहरूको आयात गर्न बैंकहरूबाट एलसी (प्रतितपत्र) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले विभिन्न १६ वस्तुमा नगद मार्जिन राखेर मात्र एलसी खोल्न पाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले चिनी र चकलेट, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य वस्तु, पर्फ्युम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठी, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिकजस्ता वस्तुहरूको आयातमा १०० प्रतिशत नगद मार्जिन राखेर मात्रै एलसी खाेल्न सक्ने व्यवस्था गरेको छ ।
यसैगरी, विद्युतीयबाहेक अन्य सवारी साधन आयात गर्न एलसी खाेल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ ।
तर, उद्योगहरूले आफ्नै प्रयोजनका लागि आफैँले आयात गर्ने कच्चा पदार्थको हकमा लागु हुने छैन । औषधिजन्य प्रयोजनका लागि हुने आयातको हकमा पनि यो व्यस्था लागु हुने छैन ।
मार्जिन रकम नगदका अतिरिक्त चल्ती/बचत/कल निक्षेप खाता खर्च गरी वा भुक्तानीका माध्यम प्रयोग गरी समेत जम्मा गर्न सकिनेछ । तर मार्जिन रकममा व्याज प्रदान गर्न पाइने छैन ।
मार्जिन रकम जम्मा गर्ने प्रयोजनका लागि कुनै पनि कर्जा प्रवाह (स्वेदशी मुद्रामा समेत) गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । माथि उल्लिखित वस्तु आयातका लागि अग्रिम भुक्तानी गर्न पाइने छैन । मार्जिन रकम प्रतीतपत्र खोल्दाकै अवस्थामा लिनु पर्नेछ ।आयातको भुक्तानी गर्दा त्यस्तो मार्जिन रकम समेतलाई प्रयोग गर्न सकिनेछ ।
नेपाल सरकारका निकाय, कूटनीतिक नियोग र अस्पतालहरूले गर्ने आयातमा यो व्यवस्था नहुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट भने आयात नियन्त्रण भन्दा पनि व्यवस्थित गर्न केही वस्तु आयात गर्न नगद मार्जिनकाे व्यवस्था गरिएको बताउँछन् । अब विभिन्न १६ प्रकारका वस्तु आयात गर्दा कति रकमकाे एलसी खाेल्न लागिएकाे हाे त्यसकाे ताेकिएअनुसार कति रकम बैंकमा जम्मा गरेपछि मात्रै एलसी खाेल्न सकिने उनले बताए ।