८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘हिलटेक-कांग्रेस’ चुनाव सकिएको १० दिनसम्म मत गनेको गन्यै


जनमञ्च संवाददाता
  • ६ पौस २०७८ , मंगलबार

  • ‘हिलटेक-कांग्रेस’ चुनाव सकिएको १० दिनसम्म मत गनेको गन्यै

    काठमाडौं, ६ पुस – नेपाली कांग्रेसको सानेपास्थित मुख्यालय सामान्यतया बेलुकी ६–७ बजेपछि सुनसान हुन्छ । तर, अचेल त्यहाँ मध्यरातसम्म बाक्लो भिडभाड र होहल्ला हुने गरेको छ । कारण हो, पार्टी चुनावको जारी मतगणना ।

    कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन गत मंसिर २४ गते उद्घाटन भएको थियो । महाधिवेशन सुरु भएको तीन दिनपछि २७ गते नयाँ नेतृत्वका लागि निर्वाचन भयो । तर, कांग्रेस प्रतिनिधिले भोट खसालेको ९ दिनसम्म पनि मतगणना सकिएको छैन ।

    मतगणना यति लामो र पट्यारलाग्दो हुनुको एक मात्र कारण हो, कांग्रेसलाई प्रविधिमा विश्वास नहुनु । हाइटेकको जमानामा कांग्रेसले आफ्ना प्रतिनिधिलाई हिलटेकको पानी ट्यांकीमा कागजी मतपत्र खसाल्न लगायो ।

    मेसिनबाट मतदान गराइएको भए भोलीपल्टै सबै परिणाम प्राप्त भइसक्यो । तर, कागजको मतपत्र गन्नका लागि समय र जनशक्तिको अनावश्यक नोक्सानी भइरहेको छ ।

    कांग्रेसमा १३ पदाधिकारीसहित १३४ जनाका लागि एकैपटक पुस २७ गते चुनाव भएको थियो । सभापतिको छिनोफानोपछि मात्रै अरु पदको मतगणना सुरु गर्ने कांग्रेसको योजना थियो । सभापतिको मतगणना २८ गते बिहान ४ बजेबाट सुरु भयो ।

    उक्त मतगणनामा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत हासिल गर्न सकेनन् । त्यसपछि पार्टीको विधानअनुसार सर्वाधिक मत प्राप्त गर्ने शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव भयो ।

    २७ गते दोस्रो चरणको चुनाव भएर राति साढे ११ बजेबाट मतगणना सुरु गरिएको थियो । केही घन्टामा सभापतिको मतपरिणाम आएर देउवा विजयी भए । त्यसपछि सुरु भयो पदाधिकारीको गणना । २ उपसभापति, २ महामन्त्री र ८ महामन्त्रीको छिनोफानोपछि केन्द्रीय सदस्यको मतगणना सुरु भएको हो, जुन अहिले पनि जारी छ ।

    कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे भोली रातिसम्म सबै मतगणना सकेर अन्तिम परिणाम आउने बताउँछन् ।

    यसरी भइरहेको छ मतगणना

    सभापतिको पदको चुनावको मतगणना अहोरात्र भएको थियो । तर, त्यसयता अन्य पदहरुको गणनामा राति केही घन्टा ब्रेक लिने गरिएको छ । अहिले विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरुको १२ ठाउँमा बेग्लाबेग्लै गणना भइरहेको छ ।

    संयोजक घिमिरेले राति १०–११ बजेबाट मतगणना बन्द गरेर बिहान ८–९ बजे फेरि सुरु गर्ने गरिएको जानकारी दिए । दिनमा भने अनवरत मतगणना गर्ने गरिएको छ ।

    मतगणनाका लागि कांग्रेसको निर्वाचन समितिले करिब एक सय जनाको जनशक्ति परिचालन गरेको छ । कांग्रेस निकट शिक्षक, प्राध्यापक र वकिलहरुलाई मतगणनामा खटाइएको छ । मतगणना गर्ने टिम दैनिकरुपमा परिवर्तन हुने गर्छ । उनीहरुलाई कुनै भत्ता नदिइएको घिमिरेले बताए ।

    ‘सबैले स्वेच्छिकरुपमा सहयोग गर्नुभएको हो, हामीले कुनै भत्ताको व्यवस्था गरेका छैनाैं,’ उनले भने । यातायात खर्चको रुपमा केही रकम दिने कि भन्ने सल्लाह भइरहेको घिमिरेले बताए ।

    मतगणनामा खटिएको जनशक्तिसहित उम्मेदवारका प्रतिनिधिहरुलाई खानपानको व्यवस्था केन्द्रीय कार्यालयमा मिलाइएको छ । उनीहरुले बिहान ब्रेकफास्ट, दिउँसो लन्च र बेलुका डिनर कार्यालयमै गर्छन् । खानेकुराहरु बाहिरबाट प्याकेटमा ल्याइन्छ । मतगणना नटुटाइकन गणकहरुले आलोपालो खाने गरेका छन् । राति मतगणना सकेर सबै आफ्नो वासस्थानमा फर्किन्छन् ।

    मतगणनामा निर्वाचन समितिले खटाएका व्यक्ति बाहेक उम्मेदवार र उनीहरुका प्रतिनिधिहरु पनि बसेका हुन्छन् । समितिले प्रत्येक उम्मेदवारको तर्फबाट बढीमा दुई जनालाई गणनामा बस्ने अनुमति दिएको छ । धेरै उम्मेदवारहरु भएको क्लस्टरमा उम्मेदवार र एक प्रतिनिधि तथा थोरै उम्मेदवार भएको क्लस्टरमा उम्मेदवार र दुई प्रतिनिधि बस्न पाउँछन् ।

    एक ठाउँको गणनामा निर्वाचन समितिका कम्तिमा चार जना संलग्न हुन्छन् । एकजनाले पढ्ने, अर्कोले रेजा लगाउने, तेस्रोले चेक गर्ने र चौथोले नम्बरिङ गर्ने गरिएको छ । गणनामा धेरै पछि परेका उम्मेदवारहरु बिस्तारै लाखापाखा हुन्छन् । जित नजिक वा प्रतिस्पर्धामा रहेकाहरु अन्तिमसम्म बस्छन् ।

    मतगणना अन्तिम चरणमा आइपुग्दा केन्द्रीय कार्यालयको भिड घट्दै गएको छ । यद्यपि, अहिले पनि सयौंको संख्यामा कार्यकर्ताहरु कार्यालयमा आउने गरेका छन् । उनीहरु रातिसम्मै ढुकेर बस्छन् ।

    कांग्रेस चुनावमा २९ वटा मतपत्र प्रयोग भएका थिए । एक मतदातालाई भोट हाल्न झण्डै एक घन्टा लागेको थियो । करिब ४८ सय प्रतिनिधले भोट हालेका थिए ।

    योभन्दा छिटो सम्भव थिएन : घिमिरे

    कांग्रेसको मतगणना पट्यारलाग्दो भए पनि अघिल्लो महाधिवेशनसँग तुलना गर्दा अहिले छिटो भएको निर्वाचन समितिको भनाइ छ । अघिल्लो १३ औं महाधिवेशनमा पूरा परिणाम आउन १५ दिन लागेको थियो ।

    समितिका संयोजक घिमिरले कागजी मतपत्रको गणना योभन्दा छिटो हुनै नसक्ने बताए ।

    ‘मतगणना एकदमै फास्ट भएको छ । म सन्तुष्ट छु,’ उनले भने ।

    अर्को महाधिवेशनमा भने कांग्रेसले कागजी मतपत्रको साटो मेसिनलाई नै रोज्ने घिमिरेको विश्वास छ ।

    ‘२९ गते सभापतिको निर्णय भइसकेपछि १ गतेबाट अरु मतगणना सुरु भएको हो । एक हप्तामा सबै परिणाम आइसक्ने भयो । म त धेरै खुशी छु । कम समयमा यति ठूलो काम भएको छ । हामीलाई त प्रेसले पनि धन्यवाद दिनुपर्छ,’ उनले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend