पोखरा, ७ पुस – ओछ्यानमा पिसाब फरेको भन्दै पोखराको एक होस्टल वार्डेनले ५ वर्षीय बालकको लिंगमा रबर बाँधिदिएकी छन् । पोखरा महानगर १५ मा रहेको न्यु लाइफ स्कुलको होस्टल वार्डेन जानुका नेपालीले सोही होस्टलमा बसेका रेमन बुढाको लिंग बाँधिदिएकी हुन् ।
घटना सोमबार बिहानको हो । डोल्पाबाट पढ्न पोखरा उनी नर्सरी कक्षामा अध्ययनरत छन् । सोमबार बिहानभर बालकको लिंग बाँधिदिएका कारण पछि उनको पेट फुल्न पुगेको थियो ।
बिहान १० बजेतिरको समयमा कक्षा शिक्षिका सिर्जना कँडेलले बुढालाई रोइरहेको फेला पारेका थिए । कारण खोतल्दै जाँदा उनको लिंगमा रबर बाँधिएको खुल्न आएको थियो । तर, घटना बाहिरिन नदिन होस्टलले गुपचुपमै लिखित सम्झौता गरे पनि घटना बाहिरिएको छ । घटना बाहिरिएसँगै प्रहरीले होस्टल वार्डेन नुवाकोट पञ्चकन्या गाउँपालिका २ स्थायी घर भई हाल पोखरा १४ बस्ने जानुका नेपालीलाई नियन्त्रणमा लिएको छ ।

हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएको पाइएको छ । उक्त होस्टलमा ९ जनाले आश्रय लिइरहेको होस्टलकै एक कर्मचारीले जानकारी दिए ।
लिखित सम्झौतामा आइन्दा उक्त प्रकृतिको घटना दोहोरिन नदिने होस्टल सञ्चालक राहुल नेपालीले गरेका छन् । सम्झौतामा भनिएको छ, ‘आइन्दा यस्तो घटना दोहोरिएको पाइएमा जे कारबाही पनि भोग्न तयार भएको व्यहोरा जानकारी गराइन्छ ।’ जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी दीपक केसीले जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उक्त सम्झौता पत्रमा स्कुलका सहायक प्रधानाध्यापक जुना थापा, होस्टल सञ्चालकद्वय राहुल नेपाली र गणेश परियार नर्सरी शिक्षक सिर्जना कँडेल, केजी शिक्षक सम्झौता गौतम, आरोपी जानुका नेपाली र उनका श्रीमान किसन नेपालीले हस्ताक्षर गरेका छन् ।