८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेस उपसभापति गुरुङ पोखरामा: ताली पाए, माला पहिर्‍याउँदा बेखुस भए


जनमञ्च संवाददाता
  • ८ पौस २०७८ , बिहिबार

  • कांग्रेस उपसभापति गुरुङ पोखरामा: ताली पाए, माला पहिर्‍याउँदा बेखुस भए

    पोखरा, ८ पुस – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफू गोबर सोहोरेर र घाँस काटेरै राजनीतिमा आएकाले गलत नगर्ने प्रतिबद्धता जनाएका छन्। उनले नेताले बदमासी गर्दा नै देश बिग्रिएकाले त्यो प्रवृत्ति रोकिनुपर्नेमा जोड पनि दिएका छन्।

    हालै सम्पन्न १४औं महाधिवेशनबाट कांग्रेसको उपसभापतिमा निर्वाचित गुरुङ नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको १०औं केन्द्रीय महाधिवेशन उद्घाटन गर्न बुधबार पोखरा पुगेका हुन्।

    ‘एउटा (कर्मचारी) ले बदमासी गर्दैमा सबै सकिँदैन। एउटा इन्जिनियरले पुल र सडक बनाउँदा घुस खायो भने पुल छिट्टै बिग्रन्छ, एउटा इन्जिनियरले बाटो बनाउँदा घुस खायो भने बाटो छिट्टै भत्कन्छ’, उनले भने, ‘देश चलाउने नेताले घुस खायो, कमिसन खायो भने सिंगो देश बिग्रन्छ। त्यसैले म खराब नेता बन्न चाहन्नँ। जहाँ पुगे पुगौंला, तर अहिलेसम्म मन्त्री भएको छैन ठीकै छ।’

    उनले आफू अब देश चलाउने अठोटका साथ अघि बढेको पनि बताए।

    ‘गोबर सोहोरेका यिनै हात हुन्, गाउँमा घाँस काटेका यिनै हात हुन्। अब मलाई लाग्छ, देशको नीति लेख्ने ठाउँमा पनि यिनै हात पुर्याउँछु भन्ने अठोटले अगाडि बढिरहेको छु’,उनले भने, ‘गोबर सोहोर्न छाडेर आन्दोलनमा हिँडेको मै हुँ, घरमा बाच्छो, भैंसी कराउँदै गर्दा घाँस नकाटेर जुलुसमा कराउँदै हिँड्ने मै हुँ। यो देशको कथाव्यथा मलाई राम्रोसँग थाहा छ।’

    उनले यो मुलुक बनाउँछौं भनेर आन्दोलन गरेका नेताहरूले मुलुक बनाउने ठाउँमा पुग्दा पनि भ्रष्ट प्रवृत्ति नबदल्दा देश उँभो नलागेको जिकिर पनि गरे।

    नेपाली कांग्रेसका एक नेताले आफूलाई मन्त्री पदको अफर गरेको तर पछि नपाएको पनि उनले खुलासा गरे।

    त्यो सम्झिँदै उनले भने,  ती नेतासँग मैले यदि मन्त्री बनाउनुभयो भने मलाई विज्ञान तथा प्रविधि मन्त्रालय दिनुहोस् भनेको थिएँ। श्रद्धेय नेता दंग पर्नुभयो। सबै नेताले भौतिक, स्वास्थ्यलगायतका मन्त्रालय खोज्छन् भनेर भन्नुभयो। मैले भनेको थिएँ– तपाईंले पनि मैले पनि अहिलेको युग विज्ञान र प्रविधिको युग भन्ने अनि त्यही मन नपराउने? हो, हामी यस्तै कुरा गर्छौं। समग्र देशको हितमा राजनीति लिएर जानुपर्छ।’

    सामाजिक सञ्जालमार्फत खादा र माला नलगाउन आग्रह गरेका उनले कार्यक्रममा खादा र मालाको सम्मान पाए।

    सम्मानबाट उनी खुसी भएनन् र सुरुमै भने ,‘धनराज गुरुङले वर्षौंदेखि खादा–माला र ब्याज बहिष्कार गर्नुपर्छ भन्दै आएको छ। म यो खादा–माला नभएदिएको भए म खुसी हुने थिएँ। आफैं बदलिएर सुरु गर्नुपर्छ। एउटा गरीब विद्यार्थीलाई कापी–कलम किनिदिनुहुन्छ कि भन्ने लागेको थियो तर हामी रुपान्तरण भएनौं।’

    आफू रुपान्तरण नहुने तर अरू रुपान्तरण भइदिओस् भन्दा देश ,पार्टी र समाज रुपान्तरण नहुने उनले बताए। उनले कर्मचारी र सत्ता चलाउने मान्छेको सम्बन्ध दुई आँखाजस्तै हुनुपर्ने तर्क पनि गरे।

    दुई आँखामध्ये एउटाले अर्कालाई देख्न नसक्ने तर सहकार्य सधैं भइरहने उदाहरण दिँदै उनले भने, ‘कर्मचारी साथी र कर्मचारी साथीहरूको सम्बन्ध दुईटा आँखाजस्तो भए पुग्छ।’

    दाहिनेले देब्रेलाई कहिल्यै र दाहिने आँखाले देख्न पाउँदैन, देब्रेले दाहिनेलाई कहिल्यै देख्न पाउँदैन। तर, यी दुईबीच यस्तो सम्बन्ध छ कि दुवै आँखा सँगै सुत्छन्, सँगै झिम्किन्छन्। दाहिने आँखाले बन्द गर्छु, देब्रेलाई १२ बजेसम्म खुलै राख्छु भन्न मिल्दैन भन्ने व्याख्या गर्दा उनले ताली पनि खुबै पाए।

    बिहीबारसम्म चल्ने वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकको १०औं केन्द्रीय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा देशभरका ५ सय प्रतिनिधि सहभागी छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend