८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

तीस वर्ष नपुगेका युवामा पनि उच्च रक्तचाप !


जनमञ्च संवाददाता
  • ८ पौस २०७८ , बिहिबार

  • तीस वर्ष नपुगेका युवामा पनि उच्च रक्तचाप !

    काठमाडौं, ८ पुस  – काठमाडौंका २३ वर्षीय विद्यार्थीलाई केही दिनदेखि टाउको दुख्ने, रिँगटा लाग्नेजस्ता समस्या भएपछि सोमबार ह्याम्स अस्पतालमा उपचारका लागि पुगे। वरिष्ठ मुटुरोग विशेषज्ञ डा.दिवाकर शर्माले जाँच गरे। जाँचको क्रममा उनमा उच्च रक्तचापका कारण यी समस्या देखिएको पत्ता लाग्यो। डा.शर्माको अनुभवमा अति कम उमेरका रक्तचापको समस्या लिएर आउने बिरामीमध्ये ती विद्यार्थी पर्छन्। उनी हाल स्नातक तहमा अध्ययनरत छन्।

    उनमा अन्य रोगका कारण रक्तचाप नबढेको भन्दै डा. शर्माले उनीबारे थप जानकारी लिए। उनी र उनको अविभावकसँग बुझ्दा ती युवामा गलत जीवनशैली र दैनिकी रहेको जानकारी पाए। उनका पिताले चिकित्सकलाई बताएअनुसार उनी रातिको १२ देखि १ बजेसम्म इन्टरनेट तथा मोबाइल चलाएर बस्छन् र ढिला गरी मात्र सुत्ने बानी छ। उनी दैनिक जंकफुड तथा फास्टफुड बढी खान्थे। यी खाना खाए पनि उनले कुनै व्यायाम गर्दैनथे। यी आफ्नै गतिविधिले उनमा सानै उमेरमा उच्च रक्तचापको समस्या बढेको पाइएको हो।

    आइतबार नै ह्याम्समा उपचारका लागि पुगेका ३५ वर्षीय युवामा पनि उच्च रक्तचापको समस्या भेटियो। उनी पनि टाउको दुख्ने र रिँगटा लाग्ने समस्या भएपछि ह्याम्स पुगेका थिए। यी दुवै युवामा तौल र मोटोपना बढी भएको डा. शर्माले बताए। ह्याम्समा हालै पुगेका यी दुई युवाबाहेक राष्ट्रिय कार्डियोक सेन्टरमा पुगेका एक युवामा पनि केही महिनाअघि उच्च रक्तचापको समस्या देखिएको थियो। उनी १८ वर्षका युवा थिए। उनमा देखिएको उच्च रक्तचापको समस्या कुनै वंशाणुगत कारण र अन्य रोगका कारण नभई आफ्नै जीवनशैलीका कारणले भएको केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

    युवा उमेरमै उच्च रक्तचापको समस्या हुनका लागि परिवारमा कसैलाई पहिला नै उच्च रक्तचापको समस्या हुनु र मिर्गौला या अन्य रोगको कारण हुनुपर्छ। ५० वर्ष उमेर कटेपछि पाको उमेरमा उच्च रक्तचापको समस्या देखिनुलाई सामान्य मानिन्छ। तर नेपालमा यी कारणबिनै अत्यन्त कम उमेरका युवामा उच्च रक्तचापको समस्या देखिने क्रम बढ्दै गएको चिकित्सकको अनुभव छ।

    ‘मैले आजै हेरेका बिरामी २३ वर्षका मात्र छन्,’ उनमा उच्च रक्तचापको समस्या छ,’ ह्याम्स अस्पतालका मुटुरोग विशेषज्ञ डा.दिवाकर शर्माले भने। ‘पछिल्लो समय १८ देखि २० वर्षकै उमेरमा उच्च रक्तचाप भएर आउने युवा बढ्दै गएका छन्,’ राष्ट्रिय कार्डियो केन्द्रका डा.अनिलले भने। उनका अनुसार केन्द्रमा उपचारमा पुगेका बिरामीमध्ये दैनिक १५ जना युवा मात्र छन्, जसलाई उच्च रक्तचापका कारण औषधि सेवन गर्नुपर्ने अवस्था छ। औषधि सेवन गर्नुपर्ने युवामध्ये पाँच जना २० देखि ३० वर्षभित्रकै छन्। चिकित्सकको अनुभवमा विगत डेढ दशकयता युवा उमेरमै उच्च रक्तचापको समस्या बढ्न थालेको हो।

    दुई दशकको अवधिमा उच्च रक्तचापको उमेर समूहमा १५ वर्षको फरक परेको डा.अनिलले बताए। पहिला ५० वर्ष पुगेपछि मात्र देखिने उच्च रक्तचापको समस्या घटेर ३५ वर्षमा देखिनसक्ने स्थिति बढेको डा.अनिलले सुनाए। ‘पहिला ५० वर्ष कटिसकेपछि मात्र उच्च रक्तचापको औषधि खान्थे, अहिले ३५ वर्ष नपुग्दै औषधि खानुपर्ने अवस्थामा धेरै छन्,’ उनले भने।

    ह्याम्स अस्पतालका मुटुरोग विशेषज्ञ डा. शर्माका अनुसार व्यायाम नगर्ने, राति नसुती मोबाइल तथा इन्टरनेटमा बढी समय बिताउने, फास्टफुड तथा जंक फुडको प्रयोग गर्ने, चुरोट तथा रक्सीको सेवन गर्ने युवामा उच्च रक्तचापको समस्या कम उमेरमै देखिएको पाइएको छ। डा.अनिलको अनुभवमा बैंकमा धपेडीमा काम गर्ने, एकै दिन धेरैवटा कलेजमा पढाउने शिक्षकलगायत धपेडीमा काम गर्ने पेसा अपनाएका युवामा कम उमेरमै उच्च रक्तचापको समस्या देखिएको छ।

    चिकित्सकको अनुसार गाउँका युवाको तुलनामा सहरका युवामा यो समस्या धेरै छ। चुरोट रक्सीको सेवन, तनावयुक्त जीवनशैली, व्यायाम नगर्ने, दैनिक बढी नुन, तेल र चिनी बढी, मासुजन्य पदार्थ भएका जंकफुड खाने, सामाजिक, पारिवारिक तथा आर्थिक तनाव झेलिरहेका युवामा उच्च रक्तचापको समस्या बढी देखिएको छ।

    चिकित्सकका अनुसार आजका युवाहरू तनावमा काम गर्ने तर व्यायाम नगर्ने कारण शरीरमा मोटोपना बढ्ने, शारीरिक सन्तुलन नहुने हुँदा रगतमा रक्तचाप बढ्छ। त्यसैगरी मदिरा र चुरोटले मुटुबाट अन्य भागमा पुग्ने रक्तनलीका भित्ताहरू साँघुरो बनाउँछ र रक्तचाप बढ्छ। बढी मासुजन्य खानेकुरा, चिल्लो र नुनिलो खानेकुराले पनि रक्तचाप बढ्छ।

    उच्च रक्तचाप भएका व्यक्ति अन्य रोगको जोखिममा हुने भएकाले समयमै उच्च रक्तचाप नियन्यत्रण गर्नुपर्छ। उच्च रक्तचापको नियमित जाँच गर्ने, चिकित्सकको सुझाव लिई नियमित औषधि सेवन गर्नेजस्ता सावधानी अनपाउनुपर्छ। उच्च रक्तचाप नियन्त्रण नभए शरीरका अन्य अगं मिर्गौला फेल हुने, हृदयाघात तथा मस्तिष्कघात हुने, आँखाको दृष्टि गुम्नेलगायत रोग लाग्ने

    भएकाले उच्च रक्तचापलाई हल्का रूपमा लिन नहुने चिकित्सक बताउँछन्। माथि उल्लिखित कारणमध्ये आजकलको जीवनशैली अपनाइरहेका युवा र वंशाणुगत रूपमा यस्तो समस्या भएका युवा सचेत भएमा जोखिमबाट बच्न सकिने डा.अनिलको सुझाव छ। अहिलेकै जस्तो जीवनशैली युवाहरूले नछोड्ने हो भने आगामी बर्षहरू युवाहरूको लागि थप घातक बनेर आउने सम्भावना रहेको चिकित्सक बताउँछन्। माथि उल्लेखित उच्च रक्तचापको जोखिम कारकलाई त्यागेर युवाहरू आजैवाट स्वस्थ जीवनशैली अपनाउनु पर्ने अहिलेको मुख्य आवश्यकता रहेको चिकित्सकहरू बताउँछन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend