बेनी, ८ पुस – म्याग्दीको रघुगंगा गाउँपालिकाले सबै वडालाई बालश्रम मुक्त बनाउने भएको छ । सबै प्रकारका बालश्रमिकको अवस्था पहिचान गरी शून्यमा झारेर बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तरगत बुधबार वडा नं १ बेगखोलालाई बालश्रम मुक्त घोषणा गरिएको हो ।
बालश्रममुक्त गाउँपालिका बनाउनका लागि स्थलगत सर्वे, बालश्रमिको तथ्याङ्क संकलन तथा सम्भावित जोखिममा रहेका बालबाकिलाको पहिचानसहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरिएपछि वडालाई घोषणा गरिएको वडाध्यक्ष बिलबहादुर फगा
बालश्रममुक्त वडा घोषणा अगाडि स्थलगत सर्वे, अतिविपन्न तथा अभिभावकविहीन बालबालिकाको पहिचानसहित सम्भावित जोखिममा रहेकाको विवरण संकलन गरिएको थियो।अभियानमा वडाका जनप्रतिनिधि, आमा समूह, युवा क्लबसहित स्थानीय सरोकारवाला निकायका प्रतिनिधिले समेत बालश्रम मुक्त वडा घोषण अभियानमा सामूहिक प्रतिवद्धता जनाएका थिए ।
बालश्रमका सम्भावित १४ बालबालिकालाई सहयोग गरिएको थियो । ८ वडा रहेको गाउँपालिकाले एक महिनाभित्र सबै वडालाई बालश्रमिकमुक्त घोषणा गर्ने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । ‘सबै वडामा बालश्रमिक मुक्तका लागि आवश्यक पर्ने सूचक पूरा भएको छ । बालश्रम मुक्तका लागि लामो समयदेखि प्रयास भएको थियो,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ।
अधिकृत सुवेदीले बालश्रमिकको जोखिममा रहेका गाउँपालिकाभित्र एघार सय घरधुरीमा स्थलगत रुपमा गरिएको सर्वेक्षणमा १ सय ५० जना सम्भावित जोखिममा भेटिएपछि अभिभावकलाई सीमुलक तालिम तथा बालबालिकालाई शैक्षिक साम्रागी वितरण गरिने बताए ।
बालश्रमिक मुक्त वडा घोषणा गरेपछि रघुगंगा भित्रका आर्थिक अवस्था विपन्न भएका कारण बालश्रमिक हुनपुगेका बालबालिकालाई निशुल्क भर्ना अभियान सहित शैक्षिक अभिभावकत्व समेत ग्रहण गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्र हालसम्म १ जना पनि बाश्रमिक नभेटिएपनि विपन्नतका कारण जोखिममा परेकाहरूलाई सहयोग नगरे बालश्रमिक बन्ने सम्भावना रहेकाले गाउँपालिकाले अभियानको रुपमै सञ्चालन गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
‘घोषणापछिको अवस्थालाई समेत कार्ययोजनासहित अगाडि बढेका छौं । पालिकाबाट श्रमको खोजीमा अभिभावकले नै बाहिर पठाएका बालश्रमिकको उद्धार तथा पुनःस्थापना हुन्छ,’ अध्यक्ष भण्डारीले भने । बालश्रममुक्त बनाउने बारेका हरेक सामुदायिक विद्यालयमा समेत अभियान सञ्चालन गरिने छ ।
नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका गत आवको २६ पालिकामा छनोटमा परेको थियो । यो अभियानसँगै रघुगंगा म्याग्दीको पहिलो बालश्रम मुक्त पालिका हुनेछ ।