काठमाडौं, ८ पुस – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना अझै सकिएको छैन।
कांग्रेस निर्वाचन समितिका अनुसार अब खसआर्य र जनजाति आदिवासी केन्द्रीय सदस्यतर्फका मत गनिसक्न मात्र बाँकी छ।
खसआर्यतर्फ १७ सय र आदिवासी जनजातितर्फ २५ सय मत मात्र गन्न बाँकी रहेकाे समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
‘त्यो पनि हामी गन्न थालिसक्यौं’, सचिव श्रेष्ठले भने, ‘आज अपराह्न ५ बजे सक्छौं।’
दलिततर्फ पुरुष ५ र महिला ४ केन्द्रीय सदस्यको मतगणना बुधबार राति सकिएको छ।
अब खसआर्य र जनजाति आदिवासीतर्फ गणना सकिएपछि मतगणना पूरा हुने कांग्रेस निर्वाचन समितिका सचिव श्रेष्ठले बताए।
सभापति, उपसापति २, महामन्त्री २, सहमहामन्त्री ८ र १२१ केन्द्रीय सदस्य गरी १३४ पदका लागि गत मंसिर २७ गते काठमाडौंमा चुनाव भएको थियो।
सुरुकाे चुनावमा कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिका लागि भने भाेलिपल्ट पुन: मतदान गरिएकाे थियाे। त्यसमा शेरबहादुर देउवा विजयी भए।
कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते
यसैविच, नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका हुन् ।
आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने पौडेलले बताए । अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ
अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।
कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।