बागलुङ, ८ पुस – हातमा मखमली र सयपत्री फुलका माला । पञ्चपालामा अविरको टिका । लामबद्ध बसेका मिलिजुली आमा समुहका सदस्यहरु । मगर पोषाकमा सजिएका महिलामा नत कुनै आडम्बर न कुनै तडकभडक । सबैको एउटै चाहना हुन्छ यहाँ आउने पाहुनाको चित्त नदुखोस् । गाउँले मिलेर घरबास चलाएका छन् । घरबासमा आउने पाहुनालाई स्वागत र सत्कार गर्ने उनीहरुको आफ्नै तरिका छ ।
बागलुङ नगरपालिका–१० भकुण्डे सुन्दर गाउँ । मगर समुदायको बसोबास रहेको यो गाउँको नजिकै हिरा ताल छ । वर्षामा भरिभराउ हुने हिराताल हिउँदमा भने सुक्छ । डाँडामा रहेको ताल वरिपरि सडक बनेपछि सुक्न थालेको हो । हिरातालको छेवैमा रहेको ठुलो चौरमा पर्यटक पुग्दा सिंगारिए जस्तै देखिन्छ । भकुण्डे घुम्न र घरबासमा बस्न पुग्ने पर्यटकको समुह जब लामबद्ध हुन्छ तब देखिन्छ घरबासको संस्कार ।
भकुण्डेमा रहेको ‘अतिथि सत्कार सामुदायिक होमस्टे जिल्लाकै नमुना घरबास हो । पहिलो घरबास भएकाले यहाँको सिको गर्दै जिल्लामा तीन दर्जनभन्दा धेरै घरबास खुलेका छन् । २०७३ सालदेखि यो सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । यहाँका ११ घर मिलेर खोलेको यो घरबासमा पाँच बर्षदेखि निरन्तर पाहुना आईरहेका छन् । ‘बिचमा कोरोनाले केही असर गर्यो, हामीले नै पाहुना राख्न सक्दैनौ भनेका थियौं’ घरबास सञ्चालक यामबहादुर थापा भन्छन् ‘अहिले ठुलो समुहमा आउने धेरै छन्, कोही घुम्नका लागि मात्रै आउनुहुन्छ, कोही यहाँको लोकल स्वाद लिन ।’
भकुण्डेको सबैभन्दा उच्च पहाडमा भ्यू–टावर निर्माण भएको छ । पुसको चिसोलाई बेवास्ता गर्दै बिहानै भ्यू–टावर पुग्ने हो भने ६ बजेको आसपासमा सूर्योदयको दृष्य देखिन्छ । आकाशमा हलुका देखिएको बादल आगोको ज्वालोले हुर्किएको परालजस्तो देखिने बादलको प्रकाश अनेकौं हिमश्रृंखलामा ठोकिँदा देखिने दृष्य सबैलाई मोहित बनाउँछ । चिसो याममा बिहानमा तुसारोले सेताम्मे देखिने बारीका पाटाहरु गर्मी याममा हरियो खेतीबालीले भरिभराउ हुन्छन् । यहाँबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतको दर्जनौं हिमचुली देखिन्छ । भकुण्डे गाउँ नजिकै जंगल छ । यहाँ गाउँमै मृग र कालिजहरु आउँछन् ।
बागलुङ बजार नजिकैको अतिथि सत्कार होमस्टेमा स्थानीय परिकार पाक्छ । ‘कोदोको सेलरोटी, लोकल कुखुरा र खसी, मुलाको अचार, हाम्रै बारीको मकै मुख्य खाना हुन्’ थापाले भने ‘बाँको र मुलाको गुन्द्रुक, मुलाको धजरा र आलु कोशेली पठाउन सकिन्छ ।’ भ्यू–टावर, जनजाती संग्रहालाय र गाउँको पुछारमा रहेको बराहताल र मन्दिर यहाँ पुग्ने आन्तरिक पर्यटकले रुचाउने क्षेत्र हुन् । यानीमायाँ, सुनीमायाजस्त गीत र नृत्य पाहुनाको मागअनुसार साँझ पस्किने यहाँका आमा समुहलाई पुरुषहरुले पनि साथ दिन्छन् । भकुण्डे क्षेत्र ८५० देखि २३५० मिटरसम्मको उचाइमा छ । घुम्नका लागि मात्रै पुग्ने पर्यटकले पनि यहाँ एक दुईरात बिताउने गरेको अनुभव सञ्चालकहरुको छ ।
‘सिरेठोले कानको छेउछाउ सेकाउँदा पनि यहाँको आत्मियता भुल्न नसकिने खालको छ’ भकुण्डे पुगेका सिगानाका शिक्षक पवन खड्काले भने ‘मोहित बनायो भकुण्डेले ।’ सदरमुकाम बागलुङ बजारको नजिकै रहेर पनि भकुण्डेमा ग्रामीण जीवनशैली छ । घरमा आएका पाहुनालाई आफ्नै ठान्ने घरबास सञ्चालकहरु पाहुनासँगै रमाउँछन् ।
हिउँदमा खुलेको हिमाल हेर्न र बर्षामा गर्मी छल्नका लागि भकुण्डे पुग्न सकिन्छ । भकुण्डेबाट देखिने बागलुङ बजार, बागलुङ कालिका, पञ्चकोट, दक्षिणका गाउँहरु, रायडाँडाको बुद्ध गुम्बा, राङ्खानीको हाँडीकोट, पर्वतको पाङ् खुर्कोट, फलेवास लगायतका ठाउँहरुले मोहित बनाउँछन् । उत्तरतिर देखिने मनोरम धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका दर्जनौ हिमश्रृंखलाले सवैको मन लोभ्याइरहेका हुन्छन् ।