२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

२२ वर्षपछि पक्राउ परे मानव तस्कर युवराज गुरुङ


जनमञ्च संवाददाता
  • ८ पौस २०७८ , बिहिबार

  • २२ वर्षपछि पक्राउ परे मानव तस्कर युवराज गुरुङ

    काठमाडौं, ८ पुस – आफू मुद्दा हाल्ने मुख्य जाहेरीकर्ताकै मृत्यु भएको थाहा पाएपछि नेपालीमूलका बेल्जियम नागरिक युवराज गुरुङ निष्फिक्री नेपाल आउजाउ गर्थे । व्यापारका लागि नेपाल आएको भन्दै राजनीतिक दल र सरकारका उच्च अधिकारीसँग सम्बन्ध बनाउँथे । प्रतिष्ठित जीवन बिताइरहेका ५२ वर्षीय गुरुङको हातमा जब प्रहरीको पक्राउ पुर्जी पर्‍यो, बल्ल उनी झस्किए ।

    बेल्जियम लैजाने प्रलोभनमा २२ वर्षअघि उनले काठमाडौंकी कल्पना शर्मा (परिवर्तित नाम) लाई भारतको नयाँदिल्ली लगेर अलपत्र मात्रै पारेनन्, उनीसँग भएको साढे ५० लाख रुपैयाँ लिएर बेल्जियम भागे । बिल्लीबाठ बनेका पीडितका श्रीमान् वीरबहादुर शर्मा (परिवर्तित नाम)ले तत्कालीन जिल्ला प्रहरी कार्यालय काठमाडौं (हाल महानगरीय प्रहरी परिसर काठमाडौं)मा गुरुङविरुद्ध उजुरी हाले । सोही उजुरीका आधारमा गुरुङ २२ वर्षपछि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट २३ मंसिरमा सानेपाबाट पक्राउ परे ।

    २२ वर्षअघि साढे ५० लाख लुटिएकी महिलाकै सहयोगमा गुरुङ समातिए : एसएसपी दुर्गा सिंह प्रमुख, मानव बेचबिखन अनुसन्धान ब्युरो

    २२ वर्षअघि उसले एक महिलालाई बेल्जियम लैजाने भन्दै दिल्ली लगेछ । तर, महिलालाई अलपत्र छाडेर साढे ५० लाख रुपैयाँ लिएर आफू भने बेल्जियम भागेछ । पीडित महिलाकै श्रीमान्ले घटना भएको वर्ष दिनपछि प्रहरीमा जाहेरी दिएका रहेछन् । सोही जाहेरीका आधारमा हामीले उनलाई पक्राउ गर्न सकेका हौँ ।

    ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले कठोर मिहिनेतपछि गुरुङलाई पक्राउ गरिएको बताइन् । ‘२२ वर्षअघि उसले एक महिलालाई बेल्जियम लैजाने भन्दै दिल्ली लगेछ । तर, महिलालाई अलपत्र छाडेर साढे ५० लाख रुपैयाँ लिएर आफू भने बेल्जियम भागेछ । पीडित महिलाकै श्रीमान्ले घटना भएको वर्ष दिनपछि प्रहरीमा जाहेरी दिएका रहेछन् । सोही जाहेरीका आधारमा हामीले उनलाई पक्राउ गर्न सकेका हौँ,’ उनले भनिन् ।

    श्रीमती खोज्दाखोज्दै वीरबहादुरको मृत्यु
    ब्युरोका अनुसार पीडित महिलाका श्रीमान् वीरबहादुर भारतीय सेनाका सैनिक हुन् । उनैले जिप्रका काठमाडौंमा गुरुङविरुद्ध जिउ मास्ने बेच्ने अभियोगमा ६ माघ ०५६ मा जाहेरी दिएका थिए । बेपत्ता श्रीमती खोजीकै क्रममा उनको ०७० मा मृत्यु भयो । बेल्जियम रहेका गुरुङले त्यो खबर केही महिनापछि थाहा पाए । त्यसपछि भने उनी निष्फिक्री तवरले नेपाल आउने-जाने गर्थे ।

    ‘०५५ मा गुरुङले महिलालाई दिल्ली लगेर महिना दिन सँगै राखेको देखिन्छ । महिलासँगको रकम हात पारेपछि ऊ एक्लै बेल्जियम भागेको रहेछ । महिलाका श्रीमान् वीरबहादुरले एक वर्षपछि प्रहरीमा जाहेरी दिए । श्रीमतीको खोजीकै क्रममा उनको मृत्यु भयो । जाहेरवालाकै मृत्यु भएपछि उसले आफूलाई फुक्काफाल महसुस गर्दै बारम्बार नेपाल आउने-जाने गरेको देखिन्छ,’ एसएसपी सिंहले भनिन् ।

    बेल्जियम जाने सपनामा घर र गरगहना बिक्री
    पीडित कल्पनाका श्रीमान् वीरबहादुर त्यसवेला भारतमै बस्थे । तलब आउनसाथ श्रीमतीलाई पठाइदिन्थे । यही रकमबाट उनीहरूले घर पनि जोडेका थिए । यही क्रममा कल्पना गुरुङसँग नजिकिइन् । बेल्जियम जाने र उतै विवाह गर्ने गुरुङको प्रलोभनले उनी लोभिइन् । उनले घर र गरगहना बेचिन् । बैंकमा भएको रकम निकालिन् । भारतको दिल्लीबाट बेल्जियम जाने भन्दै कल्पना गुरुङसँगै काठमाडौंबाट दिल्ली हिँडिन् । महिना दिनसम्म दुवै दिल्लीमै बसे । तुरुन्तै लिन आउने भन्दै कल्पनासँगको सबै रकम लिएर गुरुङ भने बेल्जियम उडे । तर, गुरुङले कल्पनालाई कहिल्यै बेल्जियम बोलाएनन् । अलपत्र परेकी कल्पना दिल्लीबाट सुनौली नाका हुँदै बुटवल आइन् । घरजम गरेर बुटवल नै बसिन् । बिल्लीबाठ बनेका वीरबहादुर भने कल्पनाको खोजीमा दिनरात भौँतारिन थाले । प्रहरीमा उजुरी दिए । श्रीमती खोजीकै क्रममा उनको मृत्यु भयो ।

    जाहेरीकर्ताको मृत्युको खबरले गुरुङले अब जितियो भन्दै उत्सव नै मनाए । तर, जिप्रकाबाट महानगरीय प्रहरी कार्यालयमा बदलिएको काठमाडौं परिसरले २५ साउन ०७७ मा जब मुद्दा ब्युरोलाई बुझायो, त्यसपछि भने उनको सूक्ष्म तवरले खोजीकार्य अघि बढ्यो । यही क्रममा उनी नेपाल आएको खबर ब्युरोले पायो । खोजीमा जुटेको ब्युरोले अन्ततः गुरुङलाई २३ मंसिरमा ललितपुरको सानेपाबाट पक्राउ गर्‍यो । ‘गुरुङ नेपालमा रहेको सूचना थियो । तर, उनलाई चिन्ने पीडित महिलाबाहेक अरू थिएनन् । खोजीकै क्रममा हामीले उनलाई बुटवलमा भेट्यौँ । घटना पुष्टि गराउन उनलाई काठमाडौं ल्यायौँ । दुवैलाई सँगै राखेर अनुसन्धान सुरु गरेपछि घटनाको रहस्य खुल्यो, त्यसपछि मात्रै गुरुङलाई पक्राउ गरेका हौँ,’ ब्युरो प्रमुख सिंहले भनिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend