९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

मनाङ र मुस्ताङको तापक्रम माइनस १५ सम्म, खोला नै जम्न थाले


जनमञ्च संवाददाता
  • ८ पौस २०७८ , बिहिबार

  • मनाङ र मुस्ताङको तापक्रम माइनस १५ सम्म, खोला नै जम्न थाले
    चिसोले मनाङमा जमेको खोलाको पानी। तस्बिर सौजन्यः लेखनाथ गौतम

    पोखरा, ८ पुस – अधिक चिसोले हिमाली जिल्लाका बासिन्दाको बसोबास प्रभावित बनेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङको माथिल्लो भेगको तापक्रम अहिले माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको छ। रातीमा तापक्रम माइनस १५ डिग्रीसम्म झर्ने र दिनमा घाम लाग्दा केही घट्ने भएपनि बसोबास सकसपूर्ण रहेको त्यहाँका बासिन्दाले बताएका छन्।

    अधिक चिसोले गर्दा खोलाको पानी समेत जम्ने गरेको छ। चिसोले गर्दा धाराबाट पानी समेत खस्न छाडेको छ। बिहान अबेरसम्म जमेको पानी दिउँसो घाम लागेर पग्लेपछि मात्र धाराबाट झर्ने गरेको स्थानीयले बताएका छन्। चिसो बढेपछि माथिल्लो भेगका बासिन्दा अहिले तल (पोखरा, काठमाडौं) झरेका छन्। स्थानीयबासि तल झरेपछि गाउँ पनि सुनसान बनेका छन्।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार मनाङको तापक्रम दिउँसोमा माइनस ४ र रातीमा माइनस १५ डिग्री हाराहारीमा पुगेको छ। खोलाको पानी पनि जम्न थालेको उनले बताए। २७१० मिटर उचाईको सदरमुकाम चामेमै पाँचदिनदेखि धारामा पानी आउन रोकिएको उनले बताए।

    ‘बिस्तारै बग्ने खोलाको पानी जमिसकेको छ। पानीको वहाव तिब्र भएको ठाउँमा कम जमेको भएपनि समथर भागमा भने पानी जमेर खोला नै सेताम्य भएको छ,’ गौतमले भने, ‘अधिक चिसोका कारण मानवीय गतिविधि पनि कम भएका छन्।’ उनका अनुसार तिमाङमा झरनाको पानी जम्दा बाटो नै अवरुद्ध हुने गरेको छ। सडकमा बगेको झरनाको पानी जमेको ठाउँमा फुटाएर मात्र गाडी आउजाउ गर्ने गरेका छन्। सदरमुकाम भन्दा माथिको सबैजसो भागमा अहिले रातीको तापक्रम माइनस १५ डिग्रीसम्म झर्ने उनले बताए।

    गौतमका अनुसार चिसो छल्नका लागि हिमाली भेगका करिब ८० प्रतिशत गाउँले तल झर्छन। घर कुरुवा र गोठाला मात्र गाउँमा रहन्छन। ‘हिउँ त परेको छैन, तर चिसो अधिक छ,’ उनले भने, ‘ग्रामिण क्षेत्र मात्र नभई सदरमुकामका गतिविधि नै कम भएका छन। चिसोका कारण हिडडुल नै छैन।’ अन्नपूर्ण फेरोको पदयात्रामा पर्ने मनाङमा यो बेला होटलमा केही कामदार कुरुवाको रुपमा रहेपनि अधिकांश घरमा बासिन्दा नरहेको उनले सुनाए।  

    चिसो बढेपछि उच्च हिमाली भेगका गाउँपालिकाका काम पनि सदरमुकाम चामेबाट गर्न थालिएको छ। गाउँमा सेवाग्राही नभएपछि गाउँपालिकाका धेरै कर्मचारी पनि सदरमुकाम झरेका छन। मनाङको नार्पा भूमि गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितले चिसोका कारण स्थानीयलाई सहज होस भनेर सदरमुकाम चामेबाटै सेवा प्रवाह गरिएको बताए। ‘गाउँमा त मान्छे नै छैनन । भएका बासिन्दा पनि तल झरेका छन, उनीहरु कामले आएमा सदरमुकामबाटै दिने गरेका छौ,’ पण्डितले भने।

    अर्काे हिमाल जिल्ला मुस्ताङमा पनि उत्तिकै चिसो बढेको छ। एक्याप मुस्ताङका संरक्षण अधिकृत ऋषि बरालका अनुसार अहिले सदरमुकाम जोमसोम क्षेत्रमा घाम लाग्दा दिउँसोमा केही न्यानो भएपनि रातीमा भने अधिक चिसो हुने गरेको छ। उनले पनि ३५ सय मिटरमाथि खोलामा पानी जमेको बताए। चिसो बढेपछि गाउँलेहरु तल झर्ने क्रममा छन। लोमान्थाङ क्षेत्रका अधिकांश मानिस चिसो छल्न तल झर्छन। उनीहरु सदरमुकाम सहित काठमाडौं र पोखरामा बसोबास गर्छन । कात्तिक लागेपछि तल झर्ने गाउँले फागुनपछि बल्ल घर फर्किन थाल्छन्।

    माथिल्लो भेग लोमान्थाङमा रातीको समयको तापक्रम माइनस १५ डिग्रीमा झरेको एक्यापका लोमान्थाङस्थित कर्मचारी राम गुरुङले बताए। उनका अनुसार दिउँसोको तापक्रम माइनस २ र रातीमा माइनस १५ सम्म तापक्रम ओर्लेको छ। ‘पानी जम्न थालेको धेरैदिन भयो। निरन्तर बगिरहने खोलाको छेउछाउँमा पानी जमेको हुन्छ। सतहमा पानी जमेपनि भित्रभित्र पानी बग्ने गरेको छ,’ गुरुङले भने, ‘चिसोले सबैतिर सुनसान बनेको छ। गाउँ नै रित्तिएको अवस्थामा गतिविधि हुने कुरै भएन।’ उनका अनुसार लोमान्थाङ क्षेत्रका ८० प्रतिशत बासिन्दा तल झरेका हुन्छन्। अहिले गतिविधि केही नहुँदा सबैतिर सुनसान बनेको उनले बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend