९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
नेकपा मसाल सम्पर्क केन्द्र माओवादीमा विलय

ओलीमाथि प्रचण्डको कटाक्ष: ‘बालुवाटारबाट बालकोट, ६ वटा प्रदेशबाट चट’


जनमञ्च संवाददाता
  • ९ पौस २०७८ , शुक्रबार

  • ओलीमाथि प्रचण्डको कटाक्ष: ‘बालुवाटारबाट बालकोट, ६ वटा प्रदेशबाट चट’

    काठमाडौं, ९ पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि देशमा प्रतिक्रान्तिका षड्यन्त्र चलिरहेका बताएका छन्।

    नेकपा मसाल (सम्पर्क केन्द्र) सँग शुक्रबार भएको एकता कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    ‘अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको छ। गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइ नै रहेको छ’, उनले भने, ‘परास्त भएका सामन्ती तत्वहरु अहिले सक्रिय भएका छन्। तिनले प्रतिक्रान्ति र प्रतिगमनको प्रतिनिधित्व गरिरहेका छन्।’

    प्रचण्डले गत साल पुस ५ गतेदेखि देशमा प्रतिगमन र प्रतिक्रान्तिको डरलाग्दो रुप आएको पनि बताए।

    ‘संविधान, लोकतन्त्र र त्यसका मूलभूत मान्यतालाई लत्याउँदै संविधान खारेज गर्ने र यो  परिवर्तन उल्ट्याउने गरी कदम चालियो’, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षित गर्दै उनले भने, ‘पार्टीमा अन्तरसंघर्ष चलेकाले प्रतिनिधिसभा विघटन गरिएको भनियो। त्यसबेला निकै ठूलो संघर्ष चलेको थियो। जरुरी परे हामी ठूलो क्रान्ति गर्न तयार छौँ भनेका थियौँ।’

    ओलीले देशमा निकै ठूलो सेटिङ गरेको पनि उनले बताए। ‘त्यसबेला निकै ठूलो सेटिङ थियो, त्यो भत्कियो। तर अहिले पनि ढुक्क हुने अवस्था छैन’, उनले थपे, ‘अहिले पनि प्रतिक्रियावादीहरु षड्यन्त्रकै पक्षमा छन्। कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्नेलाई हामी चुनौती दिन्छौँ। तिमीहरुको षड्यन्त्र चल्ने छैन। सबै खाले चुनौती सामना गर्न नेपाली तयार छन्।’

    दाहालले एमालेसँगको एकता जोगाउने आफूहरुको चहाना हुँदाहुँदै पनि जोगाउन नसकिएको बताए। ‘सही राजनीति र विचारले एकता अघि बढोस् भन्ने थियो। तर एकतालाई सफल हुन दिएनन्’, उनले भने, ‘तर हामी फेरि एकता प्रक्रियामा अघि बढेका छौँ। अहिले तपाईंहरुसँग एकता भयो। यसैगरी मा‌ओवादी अब बलियो हुँदै जानेछ।’

    दाहालले अबको चुनावमा को विजयी हुने भन्ने जनताले देखाइदिने पनि बताए। ‘केही समयपछि नै को विजयी हुने हो स्पष्ट हुने, को हुने को होइन भन्ने थाहा हुनेछ’, उनले थपे, ‘प्रतिनिधिसभामा माओवादीहरुलाई हल्का रुपमा नहेरियोस् भनेको थिएँ। आगोसँग खेल्ने दुस्साहस नहोस् भनेको थिएँ।’

    तर माओवादीसँग खेल्न खोज्दा केपी ओलीको बिजोग भएको पनि उनले बताए। ‘माओवादीसँग खेल्न खोज्दा, आगोसँग जिस्किँदा बालुवाटारबाट बालकोट भयो, ६ वटा प्रदेशबाट चट भयो’, उनले ओलीतिर लक्षित गर्दै भने, ‘आगोसँग खेल्दा आगामी निर्वाचनमा कसको हालत के हुनेछ भन्ने नेपाली जनताले देखाउनेछन्। हामी जित्ने छौँ।’

    नेकपा मसाल सम्पर्क केन्द्र माओवादीमा विलय

    नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रमा विलय भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।

    मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुमा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । सोही समूह माओवादी केन्द्रमा विलय भएको हो ।

    विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ ।

    माओवादी शान्त्रि प्रक्रियामा आएपछि मोहनविक्रम सिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदी लगायत माओवादीसँग एकतामा आएका थिए । लम्साल त्यो एकतामा सहभागी नभइ मसालभित्रै अन्तरसंघर्षमा रहेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend