९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

पन्ध्र वर्षमै ‘जनयुद्ध’को रापताप सेलाएका प्रचण्ड


जनक नेपाल
  • १० पौस २०७८ , शनिबार

  • पन्ध्र वर्षमै ‘जनयुद्ध’को रापताप सेलाएका प्रचण्ड

    राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार स्थायी कमिटी बैठक स्थगित गरेर मसालको विद्रोही एउटा समूहलाई पार्टीमा प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘माओवादी आगो हो । आगोसँग खेल्ने दुस्साहस नगर्दै राम्रो होला भनेको थिएँ । खेल्न खोज्दा के भयो ? बालुवाटारबाट बालकोट, छवटै प्रदेशका मुख्यमन्त्री चैट ।’

    नेकपा विभाजन भई माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्डले बारम्बार आफैँले आफैँलाई आगो भनिरहेका छन् । तर, नेपाली राजनीतिमा प्रचण्ड र उनको पार्टी माओवादी केन्द्रको राप–ताप भने बिस्तारै घट्दै गइरहेको छ ।

    डेढ दशकअघि सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा अवतरण हुँदा प्रचण्ड शक्तिको केन्द्रमा थिए । २०६४ को संविधानसभामा प्रत्यक्षतर्फ ५० प्रतिशत सिट जितेर माओवादी संसदीय राजनीतिमा उदाएको थियो । १५ वर्षअघि केन्द्रमा रहेका प्रचण्ड अहिले पनि राजनीतिमा प्रभावी त छन् तर ‘किङमेकर’का रूपमा । उनी अरुलाई प्रधानमन्त्री बनाउन काँध थाप्नमै रमाइरहेको विश्लेषक हरि रोका टिप्पणी गर्छन् ।

    ‘शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी कार्यनीति र कार्यदिशाबाट च्यूत हुँदै गयो,’ विश्लेषक रोका भन्छन्, ‘प्रचण्डको भूमिका पनि पार्टीलाई शक्तिशाली बनाउनेभन्दा पनि अरुलाई प्रधानमन्त्री बनाउन काँध थापेरै रमाउन थाले । प्रचण्ड राप ताप घटेर अहिलेको स्थिति आउनुको खास कारण त्यही हो ।’

    दशक लामो सशस्त्र विद्रोह गरेको माओवादी पार्टी यसबीच छिन्नभिन्न भएको छ । ‘जनयुद्ध’ हाँकेका ३५ केन्द्रीय नेतामध्ये १५ कमाण्डरहरू अहिले प्रचण्डसँग छैनन् । उनीसँग न पार्टीलाई विचारमा क्रान्तिकारी बनाइराख्ने मोहन वैद्य किरण छन्, न त माओवादीले चुनुवाङ बैठकबाट लिएको लोकतान्त्रिक गणतन्त्रको वैचारिक लाइनका डा. बाबुराम भट्टराई । ‘जनयुद्ध’का आँटिला खम्बा नेत्रविक्रम चन्द विप्लव र चुनुवाङमा ‘प्रचण्डमा विलीन भएको’ घोषणा गर्ने रामबहादुर थापा बादल पनि उनीदेखि धेरै टाढा पुगिसकेका छन् । प्रतिस्पर्धी नेताले छाडेको पार्टीमा ३४ वर्षपछि पनि निर्विकल्प अध्यक्षका रूपमा चुनिँदैछन– प्रचण्ड ।

    राष्ट्रिय सम्मेलनले शान्ति प्रक्रियायताका डेढ दशकको समीक्षा गर्ने, विचार संश्लेषण गर्ने र नयाँ क्रान्तिकारी पार्टी बनाउने दाबी प्रचण्डको छ । उनले नेतृत्वप्रति गर्व गर्नेगरी प्रतिवेदन लैजाने बताइसकेका छन् । सम्मेलनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताको वैचारिक आधार खडा गर्ने विश्वास नेताहरूको छ । विप्लवलाई प्रचण्डको उत्तराधिकारीका रूपमा पार्टी महासचिवको प्रस्तावसहित प्रवक्ता कृष्णबहादुर महराको पहलमा संवाद अघि बढाइएको स्रोत बताउँछ । विप्लव समूहलाई नजिक ल्याउनकै लागि माओवादी केन्द्रले वैज्ञानिक समाजवादलाई स्वीकार्दैछ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचनलाई जोडका साथ उठाउँदै छ । त्यस्तै, ‘जनयुद्ध’का शहीद, घाइते, बेपत्ता कार्यकर्ताप्रति गरिएको बेवास्ताप्रति आत्मालोचना गर्दै माओवादी आन्दोलनका सहयात्री शक्तिलाई एक ठाउँ ल्याएर पार्टीलाई २०६४ सालकै स्थितिमा फर्काउने उद्घोष प्रचण्डको छ ।

    सत्ताको संरचना भत्काउन तयार नहुँदासम्म नयाँ क्रान्तिकारी पार्टी बनाउने प्रचण्डको भनाइ चुनावलाई प्रभावित पार्ने कुरा मात्र ठान्छन्, नेकपा नेता एवं विश्लेषक गुणराज लोहनी । ‘सत्ताको संरचना भत्काउन तयार नहुँदासम्म न त्यो नयाँ पार्टी बन्छ, न नेकपासँग एकता नै सम्भव छैन । संसदीय व्यवस्था मान्दिनँ भन्ने ठाउँमा प्रचण्डहरू पक्कै पुग्नुहुन्न,’ उनी भन्छन्, ‘माओवादी पार्टीलाई २०६४ कै स्थितिमा फर्काउने कुरा ठट्टामजाक हैन ।’

    माओवादी केन्द्रले औपचारिकताका लागि भए पनि वैज्ञानिक समाजवाद, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा उभिए पनि संसदीय व्यवस्थाबाट बाहिर आउन नसक्ने भएकाले विप्लव नेतृत्वको नेकपासँग एकता सम्भव नरहेको लोहनी बताउँछन् । ‘संसदीय व्यवस्था असफल भयो । प्रचण्डले त्यो स्वीकार्न सक्ने स्थिति छैन । विप्लवलाई महासचिव बनाउनेजस्ता हरियो घाँस हाल्न सक्छन् । तर, अहिले मोर्चाभन्दा अघि बढेर एकता हुने स्थिति म देख्दिनँ,’ उनले भने ।

    ‘जनयुद्ध’मा समेत सहभागी लोहनी प्रचण्डलाई २०५७/२०५८ सालसम्मको क्रान्तिकारी, नियत खराब नभएको, क्षमतावान् नेता मान्छन् । तर, पार्टीलाई ढाँटेर बिस्तारै उनले धरालत छाडेको उनको आरोप छ । ‘पार्टी, जनमुक्ति सेना र बाबुराम भट्टराई कारबाही गरी जनसरकारको एक्लो कमाण्डर थिए । लड्न सकिन्न भन्ने टुंगोमा पुगिसकेपछि पनि पार्टीमा विद्रोहको निर्णय गराएर भारतीय प्रभावमा ‘जनयुद्ध’को अवतरण गराए,’ लोहनी भन्छन्, ‘माओवादीको धरातल भनेको सर्वहारा वर्ग हो । प्रचण्डको वैचारिक विचलनले उनी मात्र हैन, समग्र माओवादी आन्दोलन अहिलेको ठिटलाग्दो स्थितिमा आइपुग्यो ।’

    २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको माओवादी प्रदेश र संघीय संसदको चुनावमा भने एमालेसँग वाम गठबन्धन गरेर चुनावमा गएको थियो । गत निर्वाचनमा लोकप्रिय जनमतसहित गठबन्धनले सुविधाजनक बहुमत ल्याएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता पनि भयो । तर, पार्टी र सत्ता शक्तिसंघर्षले नेकपा विभाजन भई पूर्ववत् पार्टीहरू ब्युँतिन पुगे । बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणी थापालगायतका नेताहरू एमालेमै रहेपछि माओवादीको शक्ति क्षयीकरण भयो । सम्मेलनबाट नेता कार्यकर्तामा उत्साह र ऊर्जा भरेर आउँदो वर्ष हुन लागेका स्थानीय, प्रदेश र संघीय निर्वाचनमा शक्ति आर्जन गर्न रणनीतिमा छन्, प्रचण्ड ।

    वाम बुद्धिजीवि डा. ऋषिराज बराल प्रचण्डले एमालेमा विलय गराएको माओवादी पार्टी सर्वोच्च अदालतको फैसलाले उद्धार गरेको बताउँछन् । तर, प्रचण्डमा अहिले देखिएको छटपटी, पीडा र कुण्ठाले नै उनी कहाँबाट कहाँ पुगे भन्ने संकेत गरेको उनको टिप्पणी छ । ‘प्रचण्डबाट न अब नयाँ क्रान्ति सम्भव छ, न त कुनै छलाङ,’ उनले भने, ‘चुनुबाङ बैठकबाट ओरालो लागेको पार्टी संसदीय भासमा परिसक्यो । जतिसुकै शब्दजाल फालेर भ्रम दिए पनि पार्टी पतन भयो, अब निस्कने सम्भावना छैन ।’

    अध्यक्ष प्रचण्डले आफू विश्राम लिएर संस्मरण लेख्न चाहे पनि साथीहरूकै आग्रहमा नेतृत्व गरिरहेको बारम्बार भन्दै आएका छन् । तर, नेतृत्व हस्तान्तरणप्रति भरोसा पनि देखिँदैन । दोस्रो पुस्ताका भनिएका नेता सहभागी एउटा कार्यक्रममा भनेका थिए, ‘लिन प्याओलाई उत्तराधिकारी भनेको त उसैले माओलाई गोली हान्न हिँड्यो । उत्तराधिकारी भनेपछि भनिफासो हुँदो रै’छ । त्यो त काल रहेछ । म किन भन्ने भन्दिनँ ।’

    माओवादी पृष्ठभूमिका विश्लेषक मुमाराम खनालले खरो शब्दमा त्यो अभिव्यक्तिको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड पुष्पकमल दाहाल उर्फ प्रचण्ड ज्यू, ३४ वर्षसम्म लगातार पार्टीको मुख्य नेतृत्वमा रहेका तपाईंलाई यो उमेरमा बिदा बस्न पनि दिन्नन् भने बुझ्नुस्– अब माओवादीमा तपाईंलाई भजाएर घरबार चलाउने नालायकहरू मात्र बाँकी छन् । हुन त मलाई राम्रैसँग थाहा छ- तपाईंको कुरा नाटकै हो, नौटंकी नै हो ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend