बागलुङ, १० पुस– बिद्यालय प्रवेश गरेपछि हरेकले फूल रोप्ने, तरकारी फलाउने र कृषिका सबै काम जान्नैपर्छ । बिद्यालय हाताभित्रै ताजा तरकारी फलाउन खनजोत पनि गरिन्छ । माछापालनको पोखरी छ । बिद्यार्थीले पढाइसँगै ती काम पनि सिक्छन् । सरसफाईका लागि धेरै सूचक पुरा गरिएको छ । साना बालबालिकादेखि ठूला सम्मका लागि कक्षाभित्र र सामुहिक पुस्तकालय र प्रयोगशालाको व्यवस्था छ ।
गलकोट नगरपालिका–३ को गलकोट नमूना माबिले कृषिकर्मदेखि मल्टीमिडियाको प्रयोगसहितको उत्कृष्ठ शिक्षण र व्यवस्थापन गरेको हो । बिद्यालयमै फुलबारी र हरियाली बनाउने अभियानमा प्रअ देबेन्द्र खत्रीसहितका शिक्षक र बिद्यार्थीले साथ दिन्छन् । सबैले सफाइको काम गर्छन् । व्यवस्थापन र चुस्त प्रशासनले बिद्यालय अब्बल ठहरिएको छ ।
तोकिएका सूचक पुगेकोले सरकारले नमूना माबिको रुपमा सूचिकृत गरेको छ । सामुदायिक भएपनि अंग्रेजी माध्यममा पढाइ, कक्षाकोठा व्यवस्थापन, प्राथमिक तहमा एउटा कक्षामा २५ जना मात्रै पढाउने, हरियाली पार्क निर्माण, खेलेर सिक्ने व्यवस्था गरिएको हो । हरेक कक्षा कोठाभित्रै शौचालय, साबुनपानीले हात धुने व्यवस्था, शुद्ध खानेपानी, जंकफुड निशेध, कम्प्युटर शिक्षा, बिज्ञानका चारथरी प्रयोगशाला र बिद्यालयभित्रै संग्राहलयसमेत बनाइएको छ । झण्डै ५ करोडमा बिद्यालयको दुइवटा भवन संचालनमा आइसकेको छ ।
बिद्यार्थीले बिद्यालयमै काउली, मुला, साग र गोलभेडा फलाएका छन् । बिद्यालयमा कृषि बिज्ञान बिषयको पढाइसमेत भैरहेको छ । ‘पढाइ स्वरुप फूल रोप्ने र हरियाली बढाउने काम पनि गरेका छौं’ कक्षा ८ का सुमन खत्रीले भने, ‘पानीअमला र धुपी जस्ता बिरुवा खोजेर बिद्यालयमा रोपेका छौं ।’ सुन्तला र लालुपाते फूल रोपिएको उनले बताए । बिरुवा रोप्ने र गोड्ने काममा पनि सबैले मिलेर काम गर्छन् । फूल र बिरुवाले बिद्यालयको आर्कषण थपेको स्थानीय मञ्जु चालिसेले बताइन् । ‘देबेन्द्र सरको अगुवाई र व्यवस्थापनले बिद्यालयमा बालबालिका रमाएका छन्’ उनले भनिन्, ‘बिद्यालयलाई बास्तविक नमूना बनाउनुभएको छ ।’ २८ बर्षदेखि खत्री यो बिद्यालयको प्रअको रुपमा क्रियाशिल छन् ।
राजधानीको त्रिचन्द्र र पाटन संयुक्त क्याम्पसमा नेपाली बिषय प्राध्यापन गर्दागर्दै छाडेर उनी गलकोट आएका थिए । राजधानी छाडेर घर फर्कंदा धेरैले खत्रीले गरिखाने भएनन् भनेर सरापेको सम्झन्छन् । तर बिद्यालयमा प्रवेश गरेपछि निरन्तरको खटाइले उनले ल्याएको परिवर्तनपछि आलोचक पनि नतमस्तक छन् । ‘राष्ट्रिय पहिचान बनाउने अवसर त मैले छाडेकै हो, तर गाउँबाट गुणस्तरीय शिक्षा दिने योजना बनाएर फर्केको थिएँ’ खत्रीले भने, ‘सामुदायिक बिद्यालयमा पढेर पनि उत्कृष्ठ स्थान पाउन सकिन्छ भन्ने सन्देश दिन खोजेका हौं ।’ त्यसका लागि सफलता मिल्दै गएको उनले बताए ।
बिद्यालयका संरचना अपांग र बालमैत्री पनि बनेका छन् । हरेक कक्षा कोठामा मल्टी मिडियाबाट पढाउने व्यवस्था छ । कक्षा ५ सम्मका बालबालिकालाई कक्षा कोठाभित्रै टेलिभिजनमार्फत सकारात्मक सन्देश दिने सामाग्री देखाउने व्यवस्था छ । माथिल्लो कक्षामा पुगेका छात्राको महिनाबारीको बेला पर्ने समस्या समाधानका लागि तातोपानी सहितको स्नान गृह बनाइएको छ । उनीहरुका लागि सेनिटरी प्याड र भित्रि बस्त्र फेर्नुपर्ने भएमा पनि व्यवस्थापन गरिएको छ ।
आफ्नो कार्यकालमा सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र टुर एण्ड ट्राभल बिषयको कक्षा संचालन गर्ने योजना खत्रीले सुनाए । छात्राका लागि सिलाई कटाइ र छात्रलाई प्लम्बिङ तालिम पनि दिने गरेको उनले बताए । ‘एसईईपछिको समयमा हरेक बिद्यार्थीले आधारभूत सीप सिकेर कक्षा ११ पढ्नेछन्’ उनले भने, ‘बिद्यालयमा छिरेको बिद्यार्थी पढाई सकेर निस्कंदा सबै क्षेत्रको बिज्ञ बन्नुपर्छ भन्ने लक्षले काम गरेका हौं ।’