बागलुङ, ११ पुस – ८७ औं भूपि जयन्ती शनिवार बागलुङमा मनाइएको छ । धवलागिरि साहित्य प्रतिष्ठानको आयोजनामा जयन्ती मनाइएको हो ।
उक्त अबसरमा प्रतिष्ठानले मुस्ताङको भूपि स्मृति थाक पुस्तकालयलाई संस्थागत सम्मान गरेको छ । २५ हजार नगद सहित संस्थालाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए ।
उक्त अबसरमा कवि भूपि शेरचन सम्बन्धी अन्तरक्रिया समेत सम्पन्न भएको थियो । कार्यक्रममा आएका गलकोट बहुमुखी क्यामपसका प्रमुख कृष्णप्रसाद गौतमले भूपि शेरचन नेपालको साहित्य इतिहासमा मात्र नभइ देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा पनि महत्वपूर्ण पात्र भएको बताए ।
उनका काम र क्रियाकलाप बारे अझै धेरै अध्ययन हुन बाँकी रहेको भन्दै शेरचनको घुम्ने मेचमाथी अन्धोमान्छे नामक कृतिनै नेपालको इतिहास देखि वर्तमान र भविष्य सम्मको थयार्थपरक कृति भएको बताए ।
कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले भूपिलाई साहित्य मात्र नभएर सामाजिक अगुवा र सुशासनका प्रवद्र्धकको रुपमा मान्नुपर्ने बताए । भूपिले चितवन, भैरहवा, काठमाण्डौ जस्ता स्थानमा बस्दा गरेका कामको अझै खोजी हुन नसकेको भन्दै अध्ययन अनुसन्धानको पाटो बाँकी रहेको बताए ।
प्रतिष्ठनका अध्यष काजी रोशनको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन र साहित्यकार धनराज सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा थाक पुस्तकालयका प्रतिनिधि दया शेरचन, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्मा लगायतले भूपिको जीवनी बारे बोलेका थिए ।