काठमाडौं, १२ पुस – कोरोनाविरुद्धका ३० लाख डोज खोप मात्रै अट्ने शीतभण्डार (कोल्ड रुम) भएको नेपालले बढाएर एक करोड ६५ लाख क्षमतामा विस्तार गरेको छ । सरकारले एक करोड ३५ लाख डोज अट्ने थप नौवटा भण्डार बनाएको हो ।
४०–४० हजार लिटरका काठमाडौंमा दुईवटा तथा विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा एक–एकवटा भण्डार विस्तार गरेको हो । प्रत्येकमा १५ लाख डोजका दरले खोप भण्डारण गर्न सकिन्छ ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्रप्रसाद मरासिनीले अब जति खोप आए पनि भण्डारणमा कुनै समस्या नहुने बताए । ‘एक करोड ३५ लाख डोज हट्ने थप भण्डार विस्तार भएपछि अब खोप भण्डारणमा समस्या हुँदैन,’ उनले भने ।
मरासिनीका अनुसार हाल देशभर करिब एक करोड डोज खोप मौज्दात छ । शुक्रबार मात्रै ५० लाख सिरिन्ज खोप युनिसेफमार्फत प्राप्त भएको छ । थप आउने क्रम जारी छ ।
महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले खोपको आयात बढेसँगै दातृ निकायको सहयोगमा कोल्ड रुम बनाइएको बताए । देशभर कोभिडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन तयारी तीव्र पारिएको उनले बताए ।
यसअघि नियमित खोपका लागि देशभर २८ वटा कोल्ड रुम रहेकामा कोरोनाविरुद्धका खोप राख्न ११ कोल्ड रुम खाली गरिएका थिए । तर, यतिले भण्डारण क्षमता धान्न नसक्ने भएपछि नौवटा कोल्ड रुम थप गरिएको हो ।
विगतमा स्वास्थ्य सेवा विभागका दुई कोल्ड रुम, विराटनगर, केन्द्रीय भ्याक्सिन स्टोर पथलैया, हेटौँडा स्टोर, सुर्खेत र धनगढीमा गरी ३० लाख खोप भण्डारण क्षमता थियो । अब प्रत्येक प्रदेशमा २० लाखभन्दा बढी डोज खोप भण्डारण क्षमताका कोल्ड रुम तयार भएका छन् ।
कति खोप आयो कतिले लगाए ?
जनसंख्या :
तीन करोड तीन लाख ७८ हजार ५५
लक्षित जनसंख्या :
एक करोड ९९ लाख २२ हजार १६४
हालसम्म खोप
प्राप्त मात्रा : तीन करोड ९२ लाख तीन हजार ९२७ डोज
प्रयोग भएको
खोप : दुई करोड ३० लाख ९५ हजार ६४७ डोज