काठमाडौं, १५ पुस – सरकारले कोभिड महामारीको जोखिम कम गर्न दैनिक औसत पाँच लाखका दरले खोप लगाउने तयारी गरेको छ । आगामी दुई सातासम्म अभियान नै सञ्चालन गरेर खोप लगाउने सरकारको योजना छ ।
युरोपलगायत कतिपय देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तेस्रो लहरका रूपमा देखा परेकाले त्यसको असर नेपालसम्म पर्ने अनुमान गर्दै सरकारले यस्तो अभियान थालेको हो ।
डा. शेरबहादुर पुन, वरिष्ठ सरुवारोग विशेषज्ञ
अहिले खोप भएको अवस्थामा यसलाई सबैको पहुँचमा पुग्ने गरी लगाउनुपर्छ । खोप लगाएका मानिसमा ‘ओमिक्रोन’ संक्रमण भए पनि अस्पताल भर्ना गराउने संख्यामा धेरै कमी ल्याउनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनमा ७५ लाख नागरिकलाई खोप दिने लक्ष्य लिएको र सोही लक्ष्य पूरा गर्न अभियान थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीका स्वास्थ्यविज्ञ सल्लाहकार प्रा.डा. आरपी बिच्छाले दुई साताभित्र कम्तीमा ७५ लाखलाई खोप लगाएर थप डोज सुरु गर्ने तयारी भएको बताए ।
स्वास्थ्यसचिव डा. रोशन पोखरेलले ‘पाँच लाख प्रतिदिन, १५ दिन’ अभियानकै रूपमा सुरु भएको जानकारी दिए । सोमबारदेखि यो अभियान सुरु भएको हो । जसअनुसार सोमबार पाँच लाख ६८ हजार तीन सय १९, मंगलबार दुई लाख ८३ हजार दुई सय ६५ र बुधबार दुई लाख दुई हजार ६ सय ८७ ले खोप लगाएका छन् ।
नेपालमा हालसम्म दुई करोड ४० लाख २३ हजार पाँच सय ६१ ले खोप लगाएका छन् । जसमध्ये एक मात्रा लगाउने एक करोड ३७ लाख ९४ हजार चार सय १७ र दुई मात्रा लगाउने एक करोड दुई लाख २९ हजार एक सय ४४ जना छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार अझै एक करोडभन्दा बढी डोज खोप मौज्दात छ । ठूलो मात्रामा खोप मौज्दात हुँदासमेत दैनिक एकदेखि डेढ लाख मात्रा खोप चल्दै आएको थियो । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले ‘ओमिक्रोन’बाट बच्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताए ।
‘अहिले खोप भएको अवस्थामा यसलाई सबैको पहुँचमा पुग्ने गरी लगाउनुपर्छ । खोप लगाएका मानिसमा ‘ओमिक्रोन’ संक्रमण भए पनि अस्पताल भर्ना गराउने संख्यामा धेरै कमी ल्याउनेछ,’ उनले भने ।
अंग्रेजी नयाँ वर्षले गर्दा भारतमा अबको केही समयपछि संक्रमणदर बढ्ने उनको भनाइ छ । ‘नेपालमा पनि संक्रमणदर बढ्ने भएकाले खोप अभियानमा कुनै बाधा आउनुहुँदैन । जति धेरै खोप लगायो, त्यति नै ठूलो क्षति हुनबाट जोगिन्छ,’ उनले भने । खोप लगाएकामा ‘ओमिक्रोन’ संक्रमण भए पनि मृत्युदर न्यून हुने अनुमान पुनको छ ।
सिरिन्जको संख्या न्यून भएकाले लक्ष्यअनुसार खोप सञ्चालन हुनेमा स्वास्थ्य विज्ञहरूको शंका छ । फाइजर खोप सञ्चालन गर्न घोलक र सिरिन्ज नभएकैले केही समय स्थगित भएको छ ।
एक साताभित्र सिरिन्ज नआए अहिले चलिरहेको भेरोसेल खोप अभियान पनि रोकिन सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । हाल नेपालमा ६० लाखको हाराहारीमा सिरिन्ज मौज्दात छ ।
यद्यपि, अभियानका रूपमा खोप सञ्चालन गर्न सिरिन्ज पर्याप्त रहेको स्वास्थ्य मन्त्रालयको दाबी छ । ‘दैनिक पाँच लाख लगाउन सक्छौँ भनेका छौँ, लगाउने कति आउँछन्, त्यसमा भर पर्छ,’ स्वास्थ्य विभागको खोप शाखाप्रमुख सागर दाहालले भने ।
