काठमाडौं, १५ पुस – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्रमा पार्टी मध्यम र धनाढ्य वर्गको चंगुलमा फस्दै गएको कुरा प्रतिनिधिहरूले उठाएका छन्।
तीन दिनदेखि जारी बन्दसत्रमा बिहीबार बोलेका महाधिवेशन प्रतिनिधिहरुले पार्टीलाई पुँजीपतिहरूले कब्जा गर्दै लगेकोमा चिन्ता जनाएका हुन् । उनीहरुले नेताहरुको अस्वभाविक जीवनशैलीलाई लिएर नेतृत्वमाथि प्रश्न उठाए।
बिहीबारको बन्द सत्रमा समूह २२ (बागमती प्रदेश) को तर्फबाट सुझाव दिँदै टोली नेता इन्द्रबहादुर थिङ `छिन्ताङ’ले नेताहरुको जीवनशैलीमाथि प्रश्न उठाए।
थिङले माओवादीभित्र समानस्तरका नेताहरुका जीवन शैलीमा देखिएको असमानताबारे प्रश्न उठाएका हुन्। ‘माओवादीमा समानस्तरका नेताहरुको जीवन शैलीमा देखिएको असमानता अन्त्य हुनु पर्छ’, उनले भने, ‘नेताहरुमा देखिएको विलाशी जीवनशैलीबारे नेतृत्वले जवाफ दिन सक्नुपर्छ।’
यही क्रममा बिहीबार सुझाव दिने अन्य नेताहरुले पनि पार्टीमा आवद्ध १० धनाढ्य नेताहरुको नाम सार्वजनिक गर्न माग गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदनमा विश्वका दश धनाढ्यको विवरण रहेको भन्दै शान्ति प्रक्रियामा आएपछि धनी भएका माओवादी नेताहरुको पनि सूची सार्वजनिक गर्न प्रस्ताव पेश भएको हो ।
‘अध्यक्षको दस्तावेजमा विश्वका दश मुख्य धनाढ्यहरुको नाम उल्लेख छ,’ समूहगत रुपमा उठेको सुझाव राख्दै लुम्बिनी प्रदेश ‘ख’बाट नेता सुदर्शन बरालले भने, ‘शान्ति प्रक्रियामा आएपछि माओवादीका नेताहरु पनि धनी भएका छन्। ती १० धनाढ्य नेताको नाम उल्लेख गर्न साथीहरुले मलाई मौखिक सुझाव दिनुभएको छ।’
माओवादी केन्द्रको आइतबारदेखि जारी महाधिवेशनको बन्द सत्र बिहीबारबाट सकिएको छ। अध्यक्ष प्रचण्डले सोमबार ४५ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदनमाथि सुझाव दिन २५ समूह बनाइएको थियो। त्यसक्रममा अध्यक्ष प्रचण्डले वाम बाटो छाडेर दक्षिणपन्थी मार्ग अवलम्बन गरेको सहित अनेक आरोप लागेका छन्।