२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

पूर्वराष्ट्रपति गनीको बयान: अफगानिस्तान छाडेर यसरी भागेँ


जनमञ्च संवाददाता
  • १५ पौस २०७८ , बिहिबार

  • पूर्वराष्ट्रपति गनीको बयान: अफगानिस्तान छाडेर यसरी भागेँ

    काठमाडौं – अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनीले देश छाडेर भागेको दिनको विवरण सार्वजनिक गरेका छन्। बीबीसीको एक कार्यक्रममा कुरा गर्दै गनीले आफ्नो सो निर्णयको बचाउ पनि गरेका छन्।

    अगस्ट १५ का दिन गनी देश छाडेर भागेका थिए। सोही दिन राजधानी काबुल तालिबानको कब्जामा गएको थियो। गनी भागेपछि थुप्रैले उनको चर्को आलोचना गरेका थिए। तर, गनीले काबुललाई विनाशबाट बचाउन आफू भागेको तर्क गरेका छन्।
    १५ अगस्टको बिहान निद्राबाट ब्युँझिँदा त्यो अफगानिस्तानमा आफ्नो अन्तिम दिन हुनेछ भनेर आफूलाई अलिकति पनि नलागेको उनको भनाइ छ। तर, अपर्झट विमान चढेर काबुलबाट उड्दै गर्दा मात्रै त्यो महसुस गरेको उनले बताए।

    ‘त्यो दिन बिहान तालिबान लडाकुहरु काबुल प्रवेश नगर्न सहमत भएका थिए। तर, दुई घण्टा नबित्दै उनीहरुले बाचा तोडे,’ गनीले भनेका छन्, ‘तालिबानको दुई अलग खेमा दुई फरक दिशाबाट प्रवेश गर्न थाल्यो। उनीहरुको द्वन्द्वले ५० लाख जनसंख्या भएको सहरलाई ध्वस्त पार्न सक्थ्यो। मानिसहरुमाथि प्रलय निम्त्याउन सक्थ्यो।’

    त्यहीबेला गनीले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकार र उनकी पत्नीलाई देश छाड्ने अनुमति दिए। त्यसपछि रक्षा मन्त्रालय जाने कार पर्खिन थाले।

    ‘तर, कार आउँदै आएन। बरु आतंकित भएर राष्ट्रपतीय सुरक्षा टोलीका प्रमुखले फोन गरे– तपाईंले अडान लिनुभयो भने हामी सबै मारिनेछौँ,’ गनीको भनाइ छ, ‘उनले मलाई दुई मिनेटभन्दा बढ्दा समय पनि दिएनन्। काबुल छाडेर कोस्त सहरतिर जाने बन्दोबस्त गर्नू भन्ने मेरो निर्देशन थियो। तर, कोस्त सहरमा तालिबानले कब्जा जमाइसकेको उनले बताए। जलालाबादको हाल पनि उही थियो।’

    ‘हामी कता जान्छौँ, मलाई थाहा थिएन। जब विमान उड्यो, तब मात्रै स्पष्ट भयो– हामी अफगानिस्तान छाडेर जाँदैछौँ। त्यसैले सब अपर्झट भयो,’ उनले भनेका छन्।

    ‘पैसा लिएर भागेको होइन, बलिको बोको बनाइयो’
    उनी भागेपछि गनीले ठूलो मात्रामा पैसा पनि लगेको आरोप लाग्यो। सो आरोपको खण्डन गर्दै उनले यसविषयमा अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह गरे। ‘म स्पष्ट रुपमा भन्न चाहन्छु– मैले मुलुकबाट पैसा बाहिर लगिनँ। मेरो जीवनशैली कस्तो छ, सबैलाई थाहा छ। पैसा लिएर मैले के गर्नु?’ उनले भने।

    अफगानिस्तानमा आफ्नो तर्फबाट केही गल्ती भएको उनले स्वीकारे। तर, अमेरिका र तालिबानबीच भएको सम्झौताका कारण सिंगो मुलुक तालिबानको हातमा गएको उनको दाबी छ। ‘शान्तिप्रक्रियाको सट्टामा हामीले फिर्तीप्रक्रिया पायौँ,’ गनी भन्छन्, ‘जब अमेरिका र तालिबानबीच सम्झौता भयो, तब हामी नामेट भयौँ।’

    २०२० को फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानबाट विदेशी सेनाको संख्या कटौती गर्ने, कैदी साटासाट गर्ने र तालिबानले अफगान सरकारसँग वार्ता गर्नेलगायतका सम्झौता भएको थियो। तर, २०२१ को गर्मीमा अमेरिकाले सेप्टेम्बर ११ भित्रमा सेना फिर्ता गरिसक्ने घोषणा गर्यो।

    यससँगै तालिबान एकपछि अर्को सहर कब्जा गर्दै काबुलतिर बढ्न थाल्यो। ‘अन्त्यमा राजनीतिक सहमति वा जनताको सहभागितामा राजनीतिक प्रक्रियाको सट्टा हिंसात्मक कू भयो,’ गनी भन्छन्।

    काबुल तालिबानको हातमा गएको तीन महिनापछि गनीले अन्तर्राष्ट्रिय साझेदारहरुसँग भर पर्नु आफ्नो गल्ती भएको बताए।

    ‘काबुलको पतनका लागि केही दोष म पनि लिन्छु। जस्तै, अन्तर्राष्ट्रिय साझेदारीमा भर पर्नु।’ ‘मेरो सारा जीवनको काम सर्वनाश भयो। मेरा मूल्यमान्यताहरु नष्ट भए,’ उनले थपे, ‘र मलाई बलिको बोको बनाइयो।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend