मुम्बई, १६ पुस – वर्ष २०२१ फिल्म क्षेत्रका लागि चुनौतीपूर्ण रह्यो । कोरोना महामारीका कारण यो वर्ष लामो प्रतिक्षापछि बल्ल हलहरु खुले । बलिउडका एक तहका अभिनेताहरु सलमान खान, खक्षय कुमार, रणवीर सिंह र आयुष्मान खुराना जस्ता कलाकारहरुको चलचित्रले हलका ढोका खोलिदियो । अर्थात उनीहरुले कोरोना कालमै चुनौती मोलेर हलमा आफ्ना चलचित्र रिलिज गर्ने निर्णय लिए ।
केही चलचित्र सफल भए, केही असफल । तर, पूरै वर्षको हिसाब हेर्ने हो भने यो वर्ष अभिनेत्रीहरुकै रह्यो भन्न सकिन्छ । जहाँ एक–दुई नभई कयौं दमदार अभिनेत्रीले आफ्नो अभिनयको छाप छोडे ।
यो वर्ष हुमा कुरैशी र विद्या बालनदेखि ओटीटीमा डेब्यू गर्ने दक्षिण भारतीय सुपरस्टार सैमन्था, रविना टंडन र लारा दत्ताले ओटीटी प्लेटफार्ममा आफ्नो अभिनयको छापा छोड्न सफल बने ।
कोरोना संक्रमणका केसहरु कमहुन थालेसँगै हलहरु पुनः खुले । तर, हल खुल्ने प्रतिक्षा नगर्दै थुप्रै महिला प्रधान चलचित्रका निर्माताहरुले उनीहरुको चलचित्र सिधै डिजिटल प्लेटफर्ममा दिइसकेका थिए ।
फिल्म समीक्षकहरुका अनुसार, कृति सैननले यो चलचत्रिमा उनले आफ्नो अभिनय करियरकै सबैभन्दा उत्कृष्ट चरित्र निभाएकी थिइन् । चलचित्रमा उनी ‘परम सुन्दरी’देखि सरोगेट आमाको भूमिकामा छिन् ।
नुसरत भरुचाको ‘छोरी’
‘अजीब दास्तां’ वेब शोसाथ नुसरत भरुचाका लागि यो वर्ष निकै राम्रो रह्यो । यो चलचित्रका साथै उनले बुसान इंटरनेशनल फिल्म फÞेस्टिबलमा एशियन कन्टेन्ट अवार्डमा सर्वश्रेष्ठ अभिनेत्रीको श्रेणीमा नामांकित गरिएको थियो ।
यो चलचत्रि उनको करिअरका लागि एउटा टर्निङ प्वाइन्ट साबित भयो किनभने उनले आफ्नो कम्फर्ट जाेनबाट बाहिर पाइला चालिन् र चलचित्रलाई एउटा महत्वपूर्ण सन्देशका साथ अगाडि बढाइन् । ‘छोरी’ चलचित्रको सन्देश ‘कन्या भू्रण हत्या’को मुद्दामा आधारित थियो । यो चलचित्रले अभिनेत्रीप्रति दर्शकको भनाइ परिवर्तन गर्न सफल बन्यो ।
शेरनीको रुपमा विद्या बालन
गत वर्ष डिजिटल प्लेटफर्ममा अभिनेत्री विद्या बालनको चलचित्र ‘शकुन्तला देवी’ ले डिजिटल प्लेटफर्ममा दर्शकको धेरै माया पायो । त्यस्तै यो वर्ष पनि अमेजोन प्राइममा उनकै चलचित्र ‘शेरनी’ ले ठूलो चर्चा पायो ।
यो चलचित्रले जंगली जनावरको संरक्षणलाई लिएर ठूलो सन्देश दियो । अभिनेत्री बालन त्यस्ती अभिनेत्री हुन् जसले महिलाप्रधान चलचित्रलाई दर्शकसम्म पुर्याउने काम मात्रै नभएर सफलताको उचाइसम्म पुर्याउन सफल बनिन् ।
बलिउडमा महिलाहरुको संघर्षमा कुरा गर्दै विद्या भन्छिन्, “हामी चाहे घरगृहिणी, कोर्पोरेट क्षेत्रमा, मिडियामा, अभिनयमा वा राजनीतिमा हामी आफ्नो बाटो खोज्छौं नै ।”
चाहे जस्तोसुकै परिस्थिती आए पनि महिलाले सबै कुरालाई सन्तुलनमा राख्ने सक्ने उनको दाबी छ ।
महिलाहरुको क्षमतामा थुप्रै प्रश्न चिह्न
महिलाको क्षमतामा धेरै प्रश्न चिह्न उठ्ने विद्याको गुनासो छ । “हामी महिलाहरुको क्षमतामा धेरै प्रश्न चिह्नहरु उठ्छन् । हामीलाई लाग्छ कि हरेक भूमिकामा हामी सफल रुपमा खडा हुन सक्छौं । तर, यही चक्करमा हामी पनि मानिस हौं भनेर बिर्सने गर्छौंंँ ।”
महिलाप्रधान चलचित्र डिजिटल प्लेटफर्ममा रिलिजबारे बालन भन्छिन्, “अहिले धेरै हलहरु बन्द छन् । तपाईं भन्न सक्नुहुन्छ हिरो सेन्ट्रिक चलचित्रहरु ओटीटीमा कोही हेर्न चाहदैनन् । तर, मलाई त्यस्तो लाग्दैन । चलचित्र राम्रो बनेको छ भने त्यो अभिनेता होस वा अभिनेत्रीको फरक पर्दैन । ती चलचित्र हलमा पनि चल्छन् र दर्शक पक्कै हेर्न जानुहुन्छ ।”
रकेटको गतीमा तापसीको करिअर
अभिनेत्री तापसी पन्नुको करिअर पनि वर्ष २०२१ मा उकालो चढ्यो । यो वर्ष ओटीटीमा रिलिज भएका तापसीका दुई चलचित्र ‘रश्मि रकेट’ र ‘हसिन दिलरुबा’मा उनको अभिनयलाई दर्शकले रुचाए ।
यी चलचित्रले तापसीलाई उत्कृष्ट अभिनेत्रीको सूचीमा समावेश गर्न सफल भए ।
लाराको ‘हिकअप्स एन्ड हुकअप्स’
कोरोनाकै समयमा रिलिज भएको बीग बजेट चलचित्र ‘बेल बटम’मा अभिनेत्री लारा दत्ताले इन्दिरा गान्धिको भूमिका निभाएर दर्शकलाई सरप्राइज दिइन् । यसलगतै उनले यही वर्ष ओटीटीमा ‘हिकअप्स एन्ड हुकअप्स’मार्फत डिजिटल प्लेटफर्ममा डेब्यू गरिन् ।
यो शो मा लाराले ४० वर्षकी (सिंगल मदर) वसुको भूमिका निभाइन् जसलाई जीवन साथीको खोजी हुन्छ । लारा लामो समय चलचित्रबाट टाढा रहिन् । उनको कमब्याक कोरोना महामारीको समयमा भए पनि बलियो देखियो । “अहिलेको मेरो उमेरले मलाई स्वतन्त्रता दिइसकेको छ । अब मलाई कुनै पनि छबीलाई कायम राख्ने बाध्यता छैन । न त मलाई कसले के सोच्ला कसले के भन्ला भन्ने चिन्ता नै छ । मलाई लाग्छ म स्वयंलाई राम्रो सोच्छु ।”
ओटीटी प्लेटफर्मकै कारण ४० वर्षको महिलाका लागि पनि मुख्य किरदारमा देखाइयो ।
सामन्था रथु प्रभु
अभिनेत्री सामन्था रथु प्रभु, मनोज बाजपेयीसँग डिजिटल प्लेटफर्ममा वेब सिरिज ‘फ्यामिली म्यान’ सिजन–२ बाट दमदार भूमिकामा प्रस्तुत भइन् । उनले यो सिरिजमार्फत डिजिटल प्लेटफर्ममा डेब्यू गरेकी हुन् ।
डेब्यू सिरिजबाटै उनी दर्शकको रुचिमा पर्न सफल बनिन् । यो सिरिजमा सामन्यतया ‘राजी’ नामकी महिला पात्रको भूमिकामा छिन्, जो आतंकवादिसँग मिलेर काम गर्छिन् ।
रवीना टण्डनको ‘अरण्यक’
बलिउड चलचित्रहरुमा आफ्नो छबी बनाइसकेकी अभिनेत्री रवीना टण्डनले नेटफिल्क्सको शो ‘अरण्यक’बाट आफ्नो डिजिटल डेब्यू गरेकी हुन् । रवीनाको यो क्राइम–थ्रिलरलाई दर्शकले निकै रुचाइरहेका छन् ।
यसको कथा रवीनाको पात्र (कस्तुरी डोगरा) वरिपरि घुम्छ । कस्तुरी आमा अनि प्रहरी अधिकारी दुबैको भूमिकामा छिन् । यी दुबै आ–आफूमै महत्त्वपूर्ण अनि चुनौतीवूर्ण जिम्मेवारीलाई उनले सुन्दर रुपमा निभाएको देख्न सकिन्छ ।
डिजिटल प्लेटफर्मको तारिफ गर्दै उनी भन्छिन्, “ओटीटी प्लेटफर्मका कारण कोही पनि कामविहीन बन्नुपरेको छैन । तर, मैले चलचित्रमा प्रवेश गर्दा अभिनेत्रीहरुले कैयौं चलचित्रमा काम गरेपछि बल्ल फरक फरक पात्र रोज्ने मौका पाउथेँ ।”
‘आर्या–२’ मा एक्सनसहित सुष्मिता सेन
गत वर्ष हटस्टारमा रिलिज भएको सुष्मिता सेनको वेब सिरिज ‘आर्या’ले पनि निकै चर्चा पायो । त्यो सँगै ‘आर्या–२’ लाई पनि दर्शकले उत्तिकै रुचाए । लामो समयपछि अभिनेत्री सेनले आफ्नो स्टाइल, एक्टिंगले पुनः एकपटक आफ्ना प्रशंसकहरुको मन जित्न सफल बनिन् ।
यसमा उनको अभिनयले त तारिफ पायो नै साथै उनका केही डायलगले पनि दर्शकको मन जित्न सफल बन्यो । ‘कमजोर हम नहिँ, वक्त होता हैं’, ‘मैं डन नहिँ हुँ, मैं बस वर्किंग मदर हुँ’ लगायत केही डायलग दर्शकले निकै रुचाए ।
हुमा कुरैशी बनिन् महारानी
बलिउड अभिनेत्री हुमा कुरैशीको वेब सिरिज ‘महारानी’ले पनि यो वर्ष निकै चर्चा बटुल्यो । ‘महारानी’मा उनको भूमिका एउटा साधारण गृहिणीदेखि राजनीतिमा प्रवेशसम्मको कुरा छ ।
भारतीको पात्रमा रहेकी उनी आफ्ना सन्तानसँग बिहारको एउटा गाँउमा बस्छिन् । एक्कासी उनको जीवनमा यस्तो उथलपुथल हुन्छ कि उनी बिहारकी मुख्यमन्त्री बन्छिन् ।
सुप्रिया पाठकको ‘टब्बर’ र कोकणाको ‘गीली पुच्ची’ पनि यो वर्षका उत्कृष्ट महिला प्रधान चलचित्रमा पर्न सफल बन्यो । डिजिटल दुनियाँमा आएका यी सिरिज अनि चलचित्रमा अभिनेत्रीहरुको भूमिकाले विशेष स्थान पाए ।
मधु पाल/बीबीसी