८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

माओवादीको विधान पारित गरी नेतृत्व चयन आजै


जनमञ्च संवाददाता
  • १७ पौस २०७८ , शनिबार

  • माओवादीको विधान पारित गरी नेतृत्व चयन आजै

    काठमाडौं, १७ पुस – नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनबाट आज विधान पारित हुँदैछ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन। विधान मस्यौदा पारित गर्नका लागि शनिबार बिहान ११ बजेबाट बन्दसत्र सुरू हुन्छ।

    विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

    बन्दसत्रमा अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए। उनले दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान् बहसको थालनी गरेको निष्कर्ष सुनाउँदै तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव पेश गरे।

    प्रचण्डले सुझाव र जिज्ञासामाथि जवाफ दिने क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेका पुरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेका भिन्न मतलाई भिन्न मतकै रूपमा स्वीकारेको जानकारी दिए। त्यसैगरी २५ वटै समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षलाई दस्तावेजमा समेट्ने विश्वास दिलाए।

    आयोजक तथा प्रतिनिधिबाट प्राप्त सुझाव समावेश गरी दस्तावेज आवश्यक परिमार्जन गर्ने प्रतिबद्धतासहित उक्त दस्तावेज पारित गरिदिन आग्रह गरेपछि महाधिवेशनको सिङ्गो हलले सर्वसम्मतिबाट पारित गरेको हो। बन्दसत्र शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम छ।

    विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ।

    माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ।

    विधान पारित भएपछि निर्वाचनको काम अगाडि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार विधान पारित भएपछि निर्वाचनको प्रक्रिया शुरु हुन्छ।

    क्लस्टर अनुसार प्रदेशबाट केन्द्रीय सदस्यका लागि नाम माग गरेका छन्। ३५ प्रतिशत महिला र ४० प्रतिशत युवा समेटेर केन्द्रीय सदस्यको माग गरेका छन्। उनीहरूले नाम दिएपछि चयन प्रक्रिया अघि बढ्छ। सकेसम्म प्रचण्डले केन्द्रीय सदस्यको नाम सर्वसम्मत गर्ने तयारीमा छन्।

    केन्द्रीय सदस्यको टुंगो लागिसकेपछि पदाधिकारी चयन प्रक्रिया अगाडि बढ्नेछ।

    हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ। वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ। महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन्। यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्षसमेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend