पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औँ शिखर सम्मेलन अवरोध नगर्न भारतलाई आग्रह गरेको छ। भारत भौतिक रुपमा सम्मेलनमा सहभागी हुन नचाहे भर्चुअल माध्यमबाट भए पनि सहभागी हुन पाकिस्तानले आग्रह गरेको छ। भारत-पाकिस्तानबीचको टकरावले सार्क मृतप्रायः बनेका बेला पाकिस्तानले यस्तो बताएको हो।
‘हामी १९ औँ शिखर सम्मेलन आयोजना गर्न तयार छौँ र यसमा सहभागी हुन भारतलाई निम्तो छ। यदि भारतीय नेतृत्वलाई भौतिक रुपमा शिखर सम्मेलनमा भाग लिन इस्लामावाद आउने इच्छा छैन भने ऊ भर्चुअल माध्यमबाट भए पनि शिखर सम्मेलनमा सहभागी हुनसक्छ। तर, भारतले अरु सदस्यलाई सम्मेलनमा भाग लिन रोक्न भएन,’ इस्लामावादस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले भने।
विदेशमन्त्री कुरेसीले सार्क निष्क्रिय हुनुमा इस्लामावादमा सार्क शिखर सम्मेलनमा भाग नलिने भारतको हठ जिम्मेवार रहेको आरोप लगाए। सन् २०२१ भित्र पाकिस्तानले वैदेशिक सम्बन्धमा हासिल गरेको उपलब्धि सुनाउन आयोजित पत्रकार सम्मेलनमा कुरेसीले भारतसँगको सम्बन्धमा कुनै बदलाव नआएको बताए।
दुई साताअघि पाकिस्तान भ्रमणमा गएका सार्क महासचिव एसला विराकुनसँग पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सार्कमा देखिएका ‘कृत्रिम अवरोध’ हटे १९ औँ सार्क शिखर सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताएका थिए। खानको संकेत सार्कको अर्को सदस्य मुलुक भारततर्फ थियो।
सीमापार आतंकवादलाई पाकिस्तानले बढावा दिएको आरोप लगाउँदै इस्लामावादमा हुने सार्क शिखर सम्मेलनमा आफू सहभागी हुन नसक्ने भारतको अडान कायमै छ। उसले अन्य सार्क सदस्य देशलाई पनि इस्लामावादमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिन सुझाउँदै आएको छ।
२०१६ यता ‘सार्क प्रोसेस’ अवरुद्ध
भारत र पाकिस्तानबीचको टकरावले ‘सार्क प्रोसेस’ ठप्प भएको चार वर्ष भइसकेको छ। सन् २०२१ अगस्टमा सार्क सदस्य मुलुक अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि सार्कको भविष्य थप संकटमा परेको छ। तालिबान शासनले अन्तर्राष्ट्रिय वैधता नपाएका कारण सार्कका सदस्य देशले समेत अफगानिस्तानलाई सार्कको कुनै पनि गतिविधि सहभागी गराउन चाहेका छैनन्। जसकारण गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाको साइडलाइनमा हरेक वर्ष हुँदै आएको सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक समेत रद्द भयो।
‘यसै पनि सार्क प्रोसेस ठप्प छ। त्यसमाथि तालिबान शासनले वैधता नपाएसम्म सार्कमा अफगानिस्तानलाई सहभागी गराउने पक्षमा कुनै पनि सार्क सदस्य मुलुक छैनन्। पाकिस्तानले आग्रह गरे पनि भारत तत्काल शिखर सम्मेलनमा सहभागी हुने संकेत देखिँदैन,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने।
सार्क प्रोसेस ठप्प रहे पनि सार्क महासचिव विराकुनले सार्क शिखर सम्मेलन गरेर यसलाई गति दिन आफ्नो तर्फबाट प्रयास जारी राखेका छन्। श्रीलंकाका पूर्व विदेश सचिव विराकुन गत मार्चयता सार्क महासचिव छन्। उनी सार्कका १४ औँ महासचिव हुन्।
त्यसयता उनले भारत र पाकिस्तानको पहिलो पटक भ्रमण गरेका हुन्। गत अगस्टमा उनले भारत भ्रमण गरी भारतका विदेशराज्यमन्त्री रञ्जन सिंह, विदेशसचिव हर्ष श्रृङ्गला लगायत उच्च अधिकारीसँग भेटेर अवरुद्ध सार्क प्रक्रियाबारे छलफल गरेका थिए। सार्कमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य छन्।
नेपालले सन् २०१४ मा १८ औँ सार्क शिखर सम्मेलन आयोजना गरेको थियो। सार्कका शीर्ष नेताबीच १९ औँ शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा पाकिस्तानमा आयोजना गर्ने सहमति भयो।
शिखर सम्मेलनका लागि सबै सदस्य मुलुक तयार भए पनि उरीस्थित भारतीय सैनिक अड्डामा आतंकवादी हमला भएपछि भारतले त्यसको दोष पाकिस्तानलाई लगायो।
त्यसयता भारतले सार्क शिखर सम्मेलन आयोजना हुन नसक्नुमा पाकिस्तानलाई दोष दिँदै आएको छ। पाकिस्तानले चाहिँ भारतको गैरजिम्मेवारीपनले सार्क मृतप्रायः रहेको बताउँदै आएको छ।
भारत–पाकिस्तान दुस्मनी, कस्मिर विवाद र सीमापार आतंकवादबारे मतभेदका कारण विगतमा पनि सार्क शिखर सम्मेलन प्रभावित भएका थिए। छिटफुटबाहेक सार्कका विभिन्न संयन्त्रका बैठक हुन सकेका छैनन्।
पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके अब रोलक्रम अनुसार श्रीलंकाको पालो आउँछ। क्षेत्रीय मामिला विज्ञहरु पाकिस्तानमा सम्मेलन हुन नसके श्रीलंकामा आयोजना गरेर भए पनि सार्कलाई गति दिन पहल गर्नुपर्ने बताउँछन्। यसका लागि सार्कको वर्तमान अध्यक्ष मुलुक हुनुका नाताले नेपालले विशेष पहलकदमी लिनसक्नुपर्ने उनीहरुको बुझाइ छ।