काठमाडौं, २० पुस – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षमा पुनः निर्वाचित भएपछि प्रचण्डले केन्द्रीय कमिटीलाई धन्यवाद दिँदै माओवादी आन्दोलन प्रचण्डको निजी नभएको र देश तथा पार्टीको आवश्यकताले पुनः अन्तिमपटक नेतृत्व गर्नुपर्ने बाध्यतामा आफूले जिम्मेवारी लिएको बताए ।
‘मैले पटक-पटक भन्ने गरेको छु– प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सकिँदैन । कसैले कमजोर बनायो भने पनि इतिहासले त्यसलाई खोतलिरहन्छ, अगाडि ल्याइरहन्छ । माओवादी आन्दोलन सदा जीवित रहनेछ र शक्तिका साथ अगाडि आउनेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘कसैले के भ्रम नपाले हुन्छ भने माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत होइन ।’
उनले सम्पन्न भएको आठौँ महाधिवेशनमा विचारमा आधारित भएर राजनीतिक प्रतिवेदन र विधान पारित भएको भन्दै अहिलेको केन्द्रीय कमिटी सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा आएको बताए । प्रचण्डले महाधिवेशनमा प्रतिवेदन र विधानमाथि गम्भीरतापूर्वक समूहगत छलफल गरी त्यसमाथि बहस गरेर पारित गर्दा पनि कतिपयले प्रचण्डको आदेशमा ताली लगाएर नेतृत्व चयन भएको भन्नु गलत रहेको बताए । उनले महाधिवेशन र महाधिवेशनमा आएका झन्डै १८ सय प्रतिनिधिलाई अपमान गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।
उनले प्रचण्ड नहुने हो भने माओवादी पार्टी के होला भनेर कतिपयले भन्ने गरेको भन्दै यो प्रश्न नै गलत रहेको बताए । ‘माओवादी एउटा क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी विचार हो । यसले इतिहासमा निकै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको छ । युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको छ,’ उनले भने,
‘हामीले फेरि एकपटक ऐतिहासिक क्रमभंग गरेका छौँ । हामीले यो पार्टीलाई क्रान्तिकारी पार्टीकै हिसाबमा अगाडि बढाउने, राष्ट्र र जनताको बृहत्तर हितमा समर्पित पार्टीको हिसाब अगाडि बढाउने महाधिवेशनबाट ऐतिहासिक संकल्प लिएर आएका छौँ ।’
उनले सोमबार बिहान राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा बालुवाटारमा बसेको गठबन्धनको बैठकमा निर्वाचनसम्म सहकार्य गर्ने विषयमा छलफल भएको बताए । ‘एकथरी प्रवृत्ति र शक्ति यो गठबन्धन कसरी भत्काउन सकिएला भनेर लागिरहेका छन् । त्यसलाई हामी सबैले बुझेकै कुरा हो,’ उनले भने, ‘यसको निर्माण गर्न र एकतालाई कायम राख्न हामीले अथक मिहिनेत गर्यौँ । आज मात्रै यसलाई अक्षुण्ण राख्ने र निर्वाचनसम्म जाने वातावरण बनाउन नेतृत्वको तर्फबाट मैले र नारायणकाजी श्रेष्ठले धेरै नै मिहिनेत ग¥यौँ र सफल पनि भएका छौँ ।’ उनले आफूमा देश र पार्टीप्रतिको जिम्मेवारी र जनताको विकास र समृद्धिको आकांक्षाप्रति जिम्मेवारी झन् बढेको बताए ।
बाँकी पदाधिकारीको विषयमा छलफल गर्न २५ पुसमा अर्को केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रचण्डले त्यही बैठकबाट पदाधिकारी चयन हुने बताए ।
बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारका लागि हाल चीनमा रहेका नेताहरू वर्षमान पुन र ओनसरी घर्ती मंगलबार नेपाल आउने र त्यसपछि उनीहरूसँग पनि छलफल गरेर पदाधिकारी टुंग्याउने बताए । ‘उहाँहरूलाई पनि सामेल गर्नु भावनात्मक, संवेदना, विचार हरेक दृष्टिबाट उचित हुने भएको हुनाले पदाधिकारी चयन नगरेका हौँ,’ उनले भने, ‘अर्को बैठकबाट हुन्छ ।’