९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

तोरीखोला होमस्टेः पाहुनानकुल नमुना !


जनमञ्च संवाददाता
  • २० पौस २०७८ , मंगलबार

  • तोरीखोला होमस्टेः पाहुनानकुल नमुना !

    ‘हामीले तोरीखोलालाई होमस्टे मात्र नभएर कृषि, पशुपालन तथा सरसफाइको नमुना क्षेत्र पनि बनाएका छौं । स्थानीयले पनि सक्रियता देखाएर साथमा साथ दिएका छन् ।’

    बागलुङ, २० पुस – पाहुना आउने खबर पाएपछि पञ्चेबाजाको टोली बाटोसम्म लिन पुग्ने । बाजागाजासहित सामुदायिक भवनमा लैजाने । स्वागत गर्ने र साँस्कृतिक कार्यक्रममार्फत पाहुनालाई भरपुर मनोरञ्जन दिने यहाँको चलन छ । त्यतिमात्र होइन, गाउँमा आएका पाहुनालाई सबै जनाको घर घरमा लगेर राख्ने । राख्दा उनीहरुको घरको क्षमता अनुसार पाहुना बाँड्ने । खानामा अर्गानिक तत्वहरु पाइने खाजा र खान खुवाउने । सरसफाइ, शौचालयको व्यवस्था तथा पाहुनाप्रति गरिने उच्च सम्मानको व्यवहारले होमस्टेप्रति धेरैको चासो बढ्ने । गलकोट नगरपालिका २ को तोरीखोला होमस्टे पाहुना स्वागतको अनुपम नमुना हो ।

    त्यसो त बागलुङमा २८ वटा होमस्टे छन् । केहीमा सामान्य स्वागत सत्कार गरिन्छ । कतिपय अनुदान लगेका होमस्टे गुमनाम छन् । तोरीखोलामा भने अनुदानबाट मात्र नभई स्थानीयको सक्रियतामा धेरै संरचना बनाउने काम भएको छ । गलकोट नगरपालिकाले पनि तोरीखोला होमस्टेलाई नगरको गौरवमय कार्यक्रममा समावेश गरेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । ‘हामीले तोरीखोलालाई होमस्टे मात्र नभएर कृषि, पशुपालन तथा सरसफाइको नमुना क्षेत्र पनि बनाएका छौं’ गैरेले भने, ‘स्थानीयले पनि सक्रियता देखाएर साथमा साथ दिएका छ्न् ।’

    यहाँका किसानले प्लाष्टिक टनेलमा तरकारी खेती गरेका छन् । नाम जस्तै तोरी, सागपात, आलु, पिडालुजस्ता तरकारी बारीमै फलाएका छन् । ‘बाबुबाजेकै पालादेखि मेहेनत गरेर खानुपर्छ भन्ने सन्देश पाएका छौं, त्यसैले अहिले पनि काम गर्न छाडेका छैनौं’ तोरीखोला सामुदायिक होमस्टे संचालक समितिका अध्यक्ष कुमार घर्तीमगरले भने, ‘नगरलाई चिनाउने होमस्टे बनाउन खोजेका छौं ।’

    मगर समुदायको कौरा, सोरठी, लोकदोहोरी, भजन समेतमा उनीहरु मिलेर गाउने, नाच्ने गर्छन् । ‘पाहुना भित्राउँदा भजनकृतनमार्फत स्वागत गर्ने, सामुदायिक भवनमा आएपछि मगर संस्कृति देखाउने र बिदाइ गर्दा सामुहिक नृत्य गर्न मिल्ने लोकगीतहरु गाउने गरेका छौं’ स्थानीय सीता घर्तीमगरले भनिन्, ‘पाहुना आएर बसिदिए हाम्रो स्वागत सत्कारको काम लाग्छ, नत्र त नाम मात्रैको होमस्टे त भयो नी ।’ होमस्टे र कृषि व्यवसायिकरणमार्फत युवा स्वरोजगारका कार्यक्रम बनाउन खोजेको उनले बताइन् ।

    वडा अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला होमस्टेले वडाको गौरव बढाएको बताए । ‘सामाजिक विकृति हटाउने, काममा सामुहिक भावना जगाउने जस्ता बिशेषता तोरीखोलामा पाइन्छ’ भण्डारीले भने, ‘प्राकृतिक सम्पदा नबिगारी धेरै बिकास निर्माणसमेत भएका छन् ।’ यहाँका बासिन्दाले सडक खन्ने निहुँमा पदमार्गहरु नमासेको भन्दै संरक्षणमा ध्यान दिएको बताए । मठमन्दिर, चौतारा र सार्वजनिक स्थललाई उनीहरुले संरक्षण गरेर राखेका छन् ।

    यहाँका १५ घरमा ४० जनासम्म पाहुना राख्ने क्षमता छ । तर परिस्थिती अनुसार ६० जना सम्मलाई उनीहरुले खानेबस्ने व्यवस्था गरेका छन् । श्रमदान र दाताको खोजी गरेर सामुदायिक भवन बनेको छ । १३ लाखमा बनेको यो भवनमा सामानको स्टोर र कार्यक्रम हलसमेत छ । तालिम, गोष्ठी, बैठक र कुनै काम बिशेषले छलफल राख्नुपर्दा यहाँ बस्ने गरिन्छ । जिपमा सामान लैजान सकिने गरी भवनसम्मै सडक जोडिएको छ । ‘हामीले थोरै लगानी गर्दा गाउँलेहरुको धेरै लगानी हुन्छ’ भण्डारीले भने, ‘होमस्टे मात्र नभएर सामाजिक भावनाको अनुपम उदाहरण हेर्न पनि तोरीखोला जान सकिन्छ ।’

    गलकोट नगरभित्र पाण्डवखानी, रिघा लगायतका स्थानमा पनि होमस्टे संचालनमा छन् । गण्डकी प्रदेश सरकारले होमस्टे संचालन गरेको समुदायमा पूर्वाधार निर्माण गर्न १० लाख रुपैयाँ अनुदानसमेत दिने गरेको छ । उक्त रकम सदुपयोग भए नभएको नगरपालिकाले अनुगमन गर्छ । ‘नगरभित्रका होमस्टेमा आएको बजेट सदुपयोग भएको देखिन्छ’ उपप्रमुख रेणुका काउचाले भनिन्, ‘अनुगमन समितिको हैसियतमा निश्पक्ष काम गर्दा दुरुपयोग भएको देखिंदैन ।’ कतिपय स्थानमा दुरुपयोग भएको, बेरुजु आएको खवर सुनेपनि आफ्नोमा त्यस्तो नभएको उनले दाबी गरिन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend