पोखरा, २२ पुस – यातायात व्यवस्था कार्यालय कास्कीले अब अनलाइनबाटै सेवा दिने भएको छ । यसका लागि कार्यालयले सबै फाइल र ढड्डाहरुलाई स्क्यान गरेर डिजिटल बनाउने काम सुरु गरेको छ । त्यो कामको जिम्मा सिड राजदेवी समृद्धि जेभीलाई दिइएको छ ।
कार्यालयका प्रमुख डिल्लीराम रिजालका अनुसार अहिले कार्यालयमा भएका फाइल, ढड्डाकोे स्क्यानिङ र डिजिलाइजेसनको काम भइरहेको जानकारी दिए । ‘पाँच चरणमध्ये तीन चरण हार्डवेयर, सफ्टवेयर, इस्टलेसनका काम सकिएको छ’,उनले भने,‘बाँकी काम जेठसम्म सकिने छ ।’ उनले जेठपछि सेवाग्राहीले घरमै बसेर सबै सेवा लिन सक्ने जानकारी दिए ।
परामर्शदाता कम्पनीले बनाएको मोवाइल एप्स र वेवसाइटको बुधबार गण्डकीका भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले उद्घाटन गरे । मन्त्री खड्काले यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवामा समयानुकुल सुधार र सरलीकरण गर्ने कार्य गण्डकी प्रदेश सरकारको प्राथमिकतामा परेको बताए ।