९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमाले कास्की अधिवेशन: मुखमा सर्वसम्मत, मनमा प्रतिस्पर्धा !


जनमञ्च संवाददाता
  • २२ पौस २०७८ , बिहिबार

  • एमाले कास्की अधिवेशन: मुखमा सर्वसम्मत, मनमा प्रतिस्पर्धा !

    पोखरा, २२ पुस – नेकपा एमाले कास्कीले १० औं महाधिवेशनको तयारीबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलनको आयोजना ग¥यो । २३ गते हुने अधिवेशनको तयारी पूरा भएको र प्रतिनिधि छनोट सकिएको जानकारी औपचारिक थियो ।

    तर, जानकारी दिन आयोजित पत्रकार सम्मेलनको दृष्य भने अनौठो थियो । मञ्चमा केन्द्रीय सदस्यबाहेक पदाधिकारीका आंकाक्षी थिए भने हलमा पनि उनीहरुकै बाहुल्यता ! त्यस्तैमा प्रचार प्रसार समितिका संयोजक तेजनारायण पौडेल कार्यक्रम संचालक थिए भने अध्यक्षको भूमिकामा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ ।

    तेजनारायणले प्रेस विज्ञप्ति पढ्ने औपचारिकता पूरा गरे । नेताहरु मौन तर उकुसमुुकुस देखिन्थे । त्यस्तैमा प्रश्नको उत्तर दिन कार्यवाहक अध्यक्ष मनबहादुर तयार भए । उनले भने,‘एमालेमा अरुबेला केन्द्रीयता र महाधिवेशनको बेला आन्तरिक जनवाद लागू गर्ने हो,नेतृत्व सर्वसम्मत चयन हुन्छ, नभए स्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

    उनी त्यतिमै रोकिएनन् । पार्टीमा कुनै गुट नभएको दावी पनि गरे र चिट बाँडेर वा लिस्ट बनाएर चुनाव नहुने जिकिर पनि गरे । आफै अध्यक्षको दावेदार भएको सन्दर्भमा उनले भने,‘प्राकृतिक न्यायको हिसाबले म अध्यक्ष नै हो ।’

    कार्यवाहक अध्यक्ष भएकाले अबको अध्यक्ष आफै बन्ने र आफ्नै नाममा सर्वसम्मत हुनुपर्ने उनको आशय थियो । उनले त्यसो भनिरहँदा बगलमै रहेका अध्यक्षका अर्का प्रत्यासी दामोदर वैरागी गम्भीर देखिए ।

    अध्यक्षको दौडमा रहेका वैनबहादुर क्षेत्री र जगन्नाथ बास्तोलादेखि यसअघिका अध्यक्ष कृष्ण थापासम्मले कुनै प्रतिक्रिया जनाएनन् । अन्य कार्यक्रममा प्रतिक्रिया दिइहाल्ने राजीव पहारी तथा यसअघिका अध्यक्ष कृष्ण थापाले पनि बोल्ने जाँगर देखाएनन् ।

    बरु, मनबहादुरले गुट बनाउने भए ४ जना उम्मेदवार कसरी हुन्थे ? भन्ने पुरक प्रश्नमा भने संघीय सांसद रहेकी विद्या भट्टराईदेखि प्रदेश सांसद प्रभा कोइरालासम्म मज्जाले हाँसे ।

    स्रोतका अनुसार एमालेमा यतिबेला नेतृत्व संघर्ष भुसको आगोजस्तै भित्रभित्रै सल्किरहेको छ । अध्यक्षका प्रत्यासीहरु समूह बनाउने तयारीमा छ्न र केहीलाई उनीहरुले आश्वासनसमेत दिइसकेका छन् ।

    गुट नै नभने पनि उनीहरु एकले अर्कालाई छाड्न तयार छैनन् । खासमा मनबहादुर र हालका सचिव दामोदर वैरागीबीच भन्दा पनि केन्द्रीय नेता पृथ्वीसुब्बा गुरुङ र खगराजले यहाँ आफू अनुकूलको नेतृत्व ल्याउन खोजिरहेका छन् ।

    ‘यहाँ सबैले सर्वसम्मत भन्नुपर्ने बाध्यता छ तर भित्रभित्रै अर्को आकांक्षीलाई कमजोर बनाएर घुँडा टेकाउने चाल चलिरहेको छ’, एमाले स्रोत भन्छ, ‘यो लडाइँ यति पेचिलो छ कि आत्मसमर्पण गर्ने कि चुनावमा जाने भन्ने कुरा शुक्रबारमात्रै थाहा हुन्छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend