९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
फेसबुकका भित्ताभरी प्रचार, लम्बियो नेतृत्व चयन प्रक्रिया

कास्की एमाले अधिवेशन: पृथ्वीसुब्बा र खगराजबीच प्रतिष्ठाको लडाइँ


जनमञ्च संवाददाता
  • २४ पौस २०७८ , शनिबार

  • कास्की एमाले अधिवेशन: पृथ्वीसुब्बा र खगराजबीच प्रतिष्ठाको लडाइँ

    पोखरा, २४ पुस – नेकपा एमाले कास्कीको जिल्ला अधिवेशन लम्बिएको छ। शुक्रबारबाट सुरु भएको १० औं अधिवेशनमा शनिबार पनि प्रस्तुत प्रतिवेदनमाथिको छलफल नसकिएपछि अधिवेशन लामो बनेको हो।

    एमाले गण्डकीका उपसचिव रश्मी आचार्यका अनुसार कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङको राजनीतिक, सचिव दामोदर वैरागीको संगठनात्मक तथा आर्थिक विभाग प्रमुख आरपी शर्माको प्रतिवेदनमाथिको छलफल शनिबार सकिएन।

    प्रतिवेदन पारित नहुँदा अधिवेशन निर्वाचनको कार्यक्रममा प्रवेश नै नगरेको उनले बताए।

    यता एमाले निर्वाचन समिति संयोजक सुरेन्द्र थापा मगरका अनुसार निर्वाचन समितिले  (आइतबार) ८ बजे मतदाता नामावली र निर्वाचन तालिका प्रकाशन गर्ने तयारीमा गरिरहेको छ। चुनाव सोमबार हुने सम्भावना रहेको उनले बताए।

    अधिवेशन लम्बिँदै गर्दा पदाधिकारी र सदस्यका आकांक्षीहरु भने प्रत्यक्ष र सामाजिक सञ्जालमार्फत भोट माग्न व्यस्त रहेका छन्।

    मुखले सबै नेताहरुले सहमतिमै नेतृत्व छान्ने भने पनि प्रतिस्पर्धा चर्को हुँदा कास्कीमा चुनाव हुने सम्भावना बढेर गएको छ।

    अध्यक्षका मुख्य दावेदार हालका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ तथा सचिव दामोदर वैरागी दुबैले प्रचार तीव्र बनाएका छन्।

    उपाध्यक्ष, सचिव र उपसचिवका आकांक्षीहरूले पनि हात जोड्नेदेखि आफूले यसअघि निभाएको जिम्मेवारीसहित प्रचारात्मक पोस्टर टाँसेका छन्।

    एमालेमा ‘गुट’अन्त्य भएको भनिए पनि मनबहादुर र दामोदरको प्यानलबाट उम्मेदवार बन्ने तयारीमा रहेकाहरुले छुट्टाछुट्टै रुपले प्रचार गरेका छन्।

    एमालेको केन्द्रीय  केन्द्रीय पदाधिकारीमा पुगेका नेताहरुले कास्कीमा आफू अनुकूलको नेतृत्व ल्याउन खोज्दा पनि सर्वसम्मति भन्दा चुनावी प्रक्रियामा जाने सम्भावना बढेर गएको हो।

    केन्द्रका नेताबीच प्रतिस्पर्धा
    गण्डकीबाट एमालेको उच्च तहमा पुगेका नेता हुन्,–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ। यसैगरी यहाँकी पद्मा अर्याल एमाले सचिव छन्।

    त्यसपछि एमालेमा शक्तिशाली मानिने संगठन विभाग प्रमुखमा कास्कीका खगराज अधिकारी रहेका छन्।
    गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीच अघोषित प्रतिस्पर्धा छ।

    पार्टी विभाजन अघिदेखि नै दुवै ओलीनिकट हुन्। तर उनीहरु एक–अर्कालाई प्रतिस्पर्धी मान्छन्।

    उनीहरुबीचको प्रतिस्पर्धा जिल्ला र नगर तहसम्म पनि पुगेको छ। आसन्न जिल्ला अधिवेशनमा उनीहरु दुवै आफू अनुकूलका व्यक्तिलाई अध्यक्ष बनाउने ध्याउन्नमा छन्। उनीहरुको ‘कुरुक्षेत्र’ बनेको छ-कास्की।

    ‘सतहमा उनीहरु देखिए पनि भित्र भने यहाँ पीएस (पृथ्वीसुब्बा) र केआर (खगराज) कमरेडकै लडाइँ हो’,एमालेका एक वडा कमिटी अध्यक्षले भने,‘पछिल्लो समय पिएस हात धोएर लाग्दा कास्कीमा केआर कमजोर देखिनुभएको छ।’

    दुवैको लडाइँ प्रतिनिधि छनोट हुँदा वडासम्म पुगेको उनले बताए। ‘वडाबाट राम्रो प्रतिनिधि लैजाऊँ भन्दा पनि यो कसको भन्ने कुरा आयो,अझ रमाइलो त के भने हिजो केएसतिर भएका युवाहरु त सबै पिएसतिर पो लागेछन्।’

    अहिले कास्कीमा प्रतिनिधि आफूतिर तान्ने र आफू बलियो भएको प्रमाणित गर्दै अध्यक्ष बन्ने होड चलेको छ।
    अध्यक्षमा दीपक पौडेल,वैनबहादुर क्षेत्री र जगन्नाथ बास्तोलाले दावी गरे पनि अहिले उनीहरुले दावी छाडिसकेका छन्।

    ‘वैरागी (दामोदर) कमरेड त्याग गरेको र सबैलाई मिलाउन सक्ने नेता हो तर उहाँ ठूलाको मारमा पर्ने देखियो’,ती नेताले भने,‘सहमति भयो भने मनबहादुर अध्यक्ष र उहाँ उपाध्यक्ष भएर होला, नभए चुनाव नै हुने देखियो।’

    कास्कीमा आफू अनुकूलका नेता च्याप्ने रोग पुरानै हो। पृथ्वीसुब्बाले कास्कीमा आफ्नो पकड बलियो बनाउन स्थानीय चुनावमा मानबहादुर जिसीलाई मेयरको उम्मेदवार बनाए।

    खासमा त्यो बेला कृष्ण थापा मेयरका आकांक्षी थिए। कुरा त्यतिमै रोकिएन। पृथ्वीसुब्बाले महाधिवेशन आयोजक कमिटीको अध्यक्षकै रुपमा पोखरा महानगरको अध्यक्षमा दीपक पौडेललाई ल्याए।

    शिक्षक पृष्ठभूमिका दीपक गएको कात्तिकमा भएको अधिवेशनमा अध्यक्ष हुने पक्कापक्कीजस्तै थियो। तर, खगराज समूह रुष्ट बन्यो।

    जम्बो आयोजक कमिटी बनाएर खगराजलाई माथ दिने तयारी गरेको पृथ्वीसुब्बा समूहलाई ५ जनाको उम्मेदवारीले सकस पार्‍यो।

    अन्त्यमा विद्यार्थी राजनीतिबाट आएका दिलीप न्यौपानेलाई अध्यक्ष बनाएर पृथ्वीसुब्बा समूहले उपाध्यक्षमा चित्त बुझायो।

    ‘नगरमा हारेको रिस फेर्न पनि यतिबेला पिएस समूह कस्सिएर लागेको छ’,एमालेका अर्का नेताले भने,‘केआरले पनि आफूसँग जुध्नेलाई देखाइदिने भन्दै सम्पूर्ण शक्ति लगाएकाले यहाँ अनौठो दृष्य देखिएको छ।’

    त्यस्तो परिस्थितिमा अध्यक्षमा तेस्रो व्यक्ति अर्थात् दीपक पौडेलको ‘इन्ट्री’ भयो भने आश्चर्य नमान्न पनि उनले सुझाए।

    गण्डकी अध्यक्ष नवराज शर्माले पनि कास्की एमालेको राजनीति बिग्रिएको स्वीकारेका छन्। उनले सार्वजनिक सञ्चारमाध्यममा भनेका छन्,‘कास्कीबाट अन्य जिल्लाले सिक्नुपर्नेमा यहाँकाले अन्यत्रबाट सिक्नुपर्ने देखिएको छ।’

    त्यसो त यसअघिका अध्यक्ष कृष्ण थापा र तत्कालीन उपाध्यक्ष मनबहादुरको हिजोको सम्बन्धले पनि यहाँ प्रतिस्पर्धा हुने वातावरण बनाएको हो।

    कास्की अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य बनिसकेका छन्। उनी केन्द्रीय सदस्य हुँदा स्वभाविक रुपले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष मनबहादुर गुरुङले पाएका छन्।

    तर,उनले कार्यवाहक पाउन पनि ठूलै संघर्ष गर्नुपर्‍यो। कृष्ण थापा एकपटक विदेश गए। विदेश जाँदा अध्यक्ष थापाले उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी नै दिएनन्।

    एमाले स्रोतका अनुसार त्यही तुषका कारण  थापा र गुरुङको एक वर्ष बोलचाल नै भएन। थापा एमाले संगठन विभाग प्रमुख खगराज निकट हुन् भने गुरुङ चाहिँ उपमहासचिव पृथ्वीसुब्बा।

    त्यो ‘इगो’ अहिले प्रतिस्पर्धाको रुपमा बाहिर आएको छ। तर, त्यसको भित्र चाहिँ खगराजको गृहजिल्लामा उपमहासचिव पृथ्वीसुब्बाले हस्तक्षेप गर्दाको परिणाम भएको एमालेका कार्यकर्ताहरूले बताउने गरेका छन्।

    एमाले कास्कीको उपाध्यक्ष, सचिव र २ उपसचिवको लागि पनि थुप्रै आकांक्षीहरु देखिएका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend