काठमाडौं, २८ पुस – नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।
विश्व ब्याडमिन्टन संघले बुधबार सार्वजनिक गरेको वरीयातामा प्रिन्स दुई स्थान माथि उक्लदै शीर्ष स्थान हासिल गर्न सफल भएका हुन् । पुरुष एकलतर्फ प्रिन्स शीर्ष स्थानमा रहँदा मलेसियाका जस्टिन एचओएच दोस्रो स्थानमा छन् । मलेसियाकै मोहम्मद रजिफ तेस्रो स्थानमा छन् ।
‘नम्बर एक बन्ने मेरो ठुलो सपना थियो । त्यो आज पूरा भएको छ । एकदम खुसी लागेको छ,’ प्रिन्सले भने, ‘जुनियरतर्फ नम्बर एक हुने सपना पूरा भयो । अब सिनियरतर्फ पनि नम्बर बन्नका लागि म अझ मिहिनेत गर्नेछु । अब मेरो ध्यान सिनियरतर्फ पनि नम्बर एक हुनेमा केन्द्रित हुनेछ ।’