१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

समुदायमै फैलियो कोरोना, खेलाँची नगरौं


दिनेश गौतम
  • २९ पौस २०७८ , बिहिबार

  • समुदायमै फैलियो कोरोना, खेलाँची नगरौं

    काठमाडौं, २९ पुस –
    – ‘ज्वरो, टाउको र जीउ दुख्ने भएको छ। पीसीआर जाँच गराउन बाँकी छ। मेरो सम्पर्कमा रहनुभएका साथीहरूलाई सुरक्षा सावधानी अपनाउन आग्रह गर्छु।’
    – “रुघाखोकीले निकै ग्रस्त बनायो। विस्तारै ज्वरो पनि आउन थाल्यो। राति सुत्नै नसक्ने गरी जीउ दुख्यो। बिहान परीक्षण गराएँ। कोरोना पोजेटिभ देखियो।’
    – ‘मेरो पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। मसँग सम्पर्क हुनु भएकाहरूले आवश्यक सावधानी अपनाउनु होला।’ 

    फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा कोरोना संक्रमण पुष्टि भएका यस्ता सूचना एवं सन्देश छ्यापछ्याप्ति छन्। कोरोनाका नयाँ भेरियन्ट डेल्टा र ओमिक्रोनको संक्रमण बढेपछि केही दिनयता संक्रमितहरूले सचेत गराइरहेका छन्। संक्रमणको पहिलो र दोस्र्रो लहरमा लुकाउने बानी रहेकोमा यसपटक प्रष्ट्याउने प्रवृत्ति देखा परेको छ।

    जनस्वास्थ्यविज्ञ डा. शरद वन्त आफू संक्रमित भएको जानकारी खुला रूपमा सार्वजनिक गर्नु सकारात्मक भएको बताउँछन्। ‘कोरोनाको पहिलो र दोस्रो संक्रमण अवधिमा संक्रमितहरू परिचय लुकाउँथे,’ डा. वन्त भन्छन्, ‘अहिले खुला रूपमा सार्वजनिक गर्दा सकारात्मक सन्देश जान्छ। सावधानी र सजगता अपनाउन प्रेरित गर्छ।’

    समुदायमा संक्रमण
    स्थानीय तहमा पनि डेल्टा र ओमिक्रोन संक्रमण पुष्टि भएकाले समुदाय तहमै संक्रमण फैलिसकेको जनस्वास्थ्य विज्ञहरूको दाबी छ।

    डेल्टासँगै ओमिक्रोन भेरियन्टका संक्रमणका कारण तेस्रो लहरको संकेतहरू देखिएका छन्। जनस्वास्थ्य विज्ञ डा. वन्त भन्छन्, ‘समुदाय तहमा संक्रमण भएको कुरालाई नकार्न मिल्दैन। केश हेर्दा सबै आयातीत मात्र छैनन्। पहिचान भएका संक्रमिहरू मिश्रण छ।’ पुस महिनाभित्र संक्रमण प्रवृत्ति २३ दशमलव ६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार ३ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन्।

    अहिले कुल संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको छ। हालसम्म २७ जना व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ। २४ जनामा त शुक्रबार मात्रै पुष्टि भएको हो। मंसिर २० गते पहिलो पटक दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। त्यसपछि, पुस ७ गते अर्को एकजनामा ओमिक्रोन संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो।

    २०७७ चैत ३ गतेदेखि हालसम्म कोरोना संक्रमणको दोस्रो लहरको रूपमा लिइएको छ। २०७७ कात्तिकदेखि फागुनसम्म संक्रमणदर उच्च विन्दुमा थियो। चैत १ गते ५३ जना नयाँ संक्रमित फेला परेका थिए। तर, वैशाखमा संक्रमण उच्च भई एकैदिन (२०७८ वैशाख २८) ९ हजार ३ सय १७ जना संक्रमित पुष्टि भएका थिए। क्रमशः ओरालो लागेको संक्रमण पुसको तेस्रो सातापछि पुनः उकालो लागेको छ।

    डा. वन्तका अनुसार, दोस्रो लहरलाई लामो समयसम्म थेगिरहेको अवस्थामा अहिले चेन ब्रेक भएको छ। ‘असोजको अन्तिम सातादेखि संक्रमणको अवस्था एकै खालको थियो। अहिले संक्रमण जुन तहमा वृद्धि भएको छ त्यसले तेस्रो लहरलाई संकेत गर्छ,’ उनले भने, ‘यो संक्रमण कहिलेसम्म रहन्छ ? कति लामो समयसम्म चल्छ भन्ने मात्र सवाल हो।’

    २०७६ माघ ९ देखि २०७७ साउन ३ गतेसम्मको अवधिलाई संक्रमणको पहिलो लहरका रूपमा लिइएको थियो। त्यतिबेला, पहिलो केश देखिएको २ महिनापछि मात्र दोस्रो केश भेटिएको थियो। यस अवधिमा १७ हजार ५ सय २ जना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस अवधिमा परीक्षण ‘पोजेटिभिटी’ दर औसतमा ५ दशमलव ६ प्रतिशत थियो।

    सबैभन्दा बढी संक्रमित २०७७ असार १९ गते भेटिएका थिए। त्यसपछि संक्रमण ओरालो लागेको थियो। साउन ३ गते संक्रमण ५२ जनामा झरेको थियो। यो चरणमा मुख्य गरी विदेशबाट आउने व्यक्तिहरूमा संक्रमण देखिएको थियो। देशव्यापी लकडाउन र परीक्षणका साथै आइसोलेसन गर्दा पनि संक्रमणलाई नियन्त्रण गर्न गाह्रो भएको थियो।

    रेड जोनमा उपत्यका
    काठमाडौं उपत्यका लगायतका तीन जिल्लाहरू संक्रमणको उच्च जोखिममा छन्। काठमाडौं, भक्तपुर र ललितपुरमा ५ सयभन्दा बढी उपचारारार्थ संक्रमितहरू भएकाले रेड जोनमा परेका छन्। काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार नाघेको छ। त्यस्तै ललितपुरमा १२ सय र भक्तपुरमा ८ सय सक्रिय संक्रमित छन्।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, रुघाखोकी, ज्वरोको लक्षण बताउँदै जँचाउन आउनेहरूको संख्या बढ्न थालेको छ। ‘अस्पतालमा भर्ना नै हुने गरी जटिल स्वास्थ्य अवस्था छैन,’ डा. पुन भन्छन्,‘ राजनीतिक दलका गतिविधि, मेला पर्व र जमघटका कारण संक्रमितको संख्या आगामी दिनमा बढ्न सक्छ।’

    संक्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को प्रयोग गरी उपत्यकामा भीडभाडमा कडाइ गरिएको छ।

    कोरोना संक्रमण तीव्र रूपमा बढेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकभरका सबै विद्यालयहरू आगामी माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै उपत्यकाका तीनवटै जिल्ला प्रशासनले २५ जनाभन्दा बढी व्यक्तिहरू सहभागी हुने मेला, सम्मेलन लगायतका कार्यक्रममा रोक लगाएका छन्।

    ‘हटस्पट’मा सुरक्षा मापदण्ड खै ? 
    कोरोनाका हट स्पट क्षेत्रमा अहिले पनि सुरक्षा मापदण्ड पालना गरिएको छैन। सही किसिमले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने प्रवृत्तिमा सावधानी अपनाइएको छैन।

    बसपार्क, विमानस्थल, तरकारी बजार सिनेमा हल, पार्टी प्यालेस, सपिङ सेन्टरलगायतका भीडभाड हुने क्षेत्रमा मास्क नलगाई हिँड्डुल गरेको देख्न सकिन्छ। त्यस्तै सार्वजनिक यातायात, खोप केन्द्र, स्वास्थ्य संस्था, खाजाघर लगायतका जोखिमपूर्ण क्षेत्रमा पनि भौतिक दूरी पालना गरिएको छैन। डा. वन्त भन्छन्, ‘जमघट र सम्पर्क बिन्दुहरू भएका स्थान जोखिमपूर्ण छन्।’

    सीमापारी भारतमा लकडाउन घोषणापछि सीमाक्षेत्र पनि हट स्पट बन्न पुगेका छन्। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार, संक्रमणका हट स्पटहरू मध्येमा सीमा नाकामा नियमन र व्यवस्थापन गर्नुपर्ने खाँचो औंल्याउँछिन्। डा. मिश्रा भन्छिन्, ‘भारतमा लक डाउन गरेपछि नेपाली मजदुरहरू स्वदेश फर्कन सक्छन्। नेपाली कामदारहरू फर्के पछिको अवस्था कस्तो होला ? त्यसलाई व्यवस्थित गर्न सकियो भने संक्रमण धेरै फैलन पाउँदैन।’

    सीमानाका झैं विमानस्थल पनि जोखिमपूर्ण मानिएको छ। त्रिभुवन विमानस्थलमा दैनिक १ सय ३० आन्तरिक र ३० वटा अन्तर्राष्ट्रिय उडान भइरहेका छन्। जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थलमा नआउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरिएको छ। जरुरी अवस्थामा बाहेक भिजिटर पाससमेत बन्द गरिएको छ। सीसीएमसीले यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन मन्त्रालयलाई सिफारिस गरिसकेको छ।

    माघ ३ गतेदेखि आन्तरिक विमानस्थलबाट उडान गर्ने यात्रुहरूले अनिवार्य रूपमा खोप कार्ड आवश्यक पर्ने विमानस्थल प्रशासनले जनाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘सावधानी अपनाउनै पर्छ। खोप नलगाएको र पीसीआर नेगेटिभ नभएको व्यक्तिलाई विमानस्थल होस् वा सिमानाका होस्। भित्रबाहिर गर्न दिनुहुँदैन।’

    नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उपा थापाका अनुसार, सीमावर्ती जमुनाहा नाकामा चेकजाँचमा कडाइ गरिएको छ। उपप्रमुख थापाले पहिलो र दोस्रो लहरमा भन्दा यसपटक रोकथामको पूर्वतयारी भइरहेको बताइन्। ‘बाँके जिल्ला बाहिरका संक्रमितहरूलाई होल्ड गरेर राख्नका लागि होल्डिङ सेन्टरको अनुगमन पनि गरिसकेका छौं। अबको एक सातामा सेन्टरबाट सेवा प्रदान गर्ने तयारी छ,’ उनले भनिन्।

    गृह मन्त्रालयअन्तर्गत निर्माण हुँदै गरेको १ हजार क्षमताको होल्डिङ सेन्टर नेपालगन्ज–१४ मा निर्माणाधीन अवस्थामा छ। नेपालगन्ज नगरपालिकाकी उपप्रमुख थापाका अनुसार हाल बालमन्दिर नेपालगन्जबाट व्यवस्थापन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पनि आदेश जारी गर्दै सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक सामाजिक एवं त्यहीँ प्रकृतिको कार्यक्रम तथा भेला, मेला, महोत्सव आयोजना नगर्न आदेश दिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादवका अनुसार ओमिक्रोनको संक्रमणले सिकिस्त बनाउँदैन भन्ने सोंचले पनि लापरबाही भइरहेको हुनसक्ने बताउँछन्। ‘नेपालमा ओमिक्रोनको जटिलता कस्तो हुन्छ अहिले नै यकिन गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘ओमिक्रोन संक्रमणले मृत्यु नै हुँदैन भनेर भन्नु अनुचित हुन्छ। बाहिरी मुलुकमा ओमिक्रोनबाट पनि ज्यान गुमाएको घटनाबाट पाठ सिक्नुपर्छ।’

    जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीका अनुसार दक्षिण अफ्रिकामा संक्रमणको माइल्ड देखियो भन्दैमा नेपालमा पनि जटिलता न्यून देखिन्छ भन्ने अर्थ लगाउन सकिँदैन।

    खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल जनसंख्याको ३७ दशमलव ८ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन्। कम्तीमा एक मात्रा खोप लगाउनको संख्या ५० दशमलव ५ प्रतिशत छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुन भन्छन्, ‘संक्रमणको बढी जोखिममा खोप नलगाएका व्यक्तिहरू नै पर्छन्।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend