शुक्रवार रातको २०/२० प्रवादन काल सूर्य धनु राशिबाट मकर राशिमा जाँदै हेमन्त ऋतु दक्षिणायन सकिएर उत्तरायण शिशिर ऋतु आरम्भ भई माघमास प्रारम्भ भएको छ ।
तिथिर्बारश्च नक्षत्रं योग करणमेव च पन्चागस्य फलं श्रुत्वा गंगा स्नान फलं लभेत्, अर्थात् तिथि, बार, योग, नक्षत्र र करण मिली बनेको पञ्चांग श्रवण गर्नाले गंगा स्नान गरेको फल मिल्ने भनेर शास्त्रमा वर्णन गरिएको छ ।
मानवजीवन समय चक्रमै घुमिरहेको हुन्छ । सौर्य मासानुसार १२ राशिमा सूर्य परिभ्रमण गर्ने क्रममा मकर राशिमा सूर्य संक्रमण हुन जाँदा माघे संक्रान्ति हुन्छ ।
सूर्य दक्षिणायनबाट उत्तरायण भई हाम्रो भूगोलानुसार दिन मान धेरै र रात्रि मान थोरै हुने हुँदा दिनको समयभन्दा रात्रिको समय कम हुने यस अवस्था सूर्य कर्कट राशिमा सरी श्रावण आरम्भ नभएसम्म कायम रहन्छ ।
उत्तरायण (माघदेखि असारसम्म)लाई देवताको दिन र दक्षिणायन (साउनदेखि पुससम्म)लाई देवताको रात भनिन्छ । रात र दिनको उत्तिकै महत्त्व हुनाले उत्तरायणमा नयाँ घर सर्ने, बिहे, व्रतबन्ध आदि शुमकर्म बढी हुने गर्छ भने दक्षिणायन समयमा अधिकांश मुख्य चाडपर्व चतुर्मासव्रत, महादसैँ, नागपञ्चमी, कृष्णजन्माष्टमी, रक्षाबन्धन, तिहार आदि चाड पर्दछन् ।
पितृहरूका लागि विशेष उपासना गर्ने पितृपक्ष यसै बेला पर्छन् भने मानिसको इहलीला समाप्त हुने बेलाचाहिँ तुलनात्मक रूपमा उत्तरायणलाई बढी शुभ मानिएको छ ।
तिथि, बार, नक्षत्र, योग र करण ५ अंग मिलेर पञ्चांग बन्छ, ज्योतिषशास्त्रको मूल आधार यही नै हो । प्र्रत्येक संक्रान्ति सकेमा र नसकेमा श्रावण संक्रान्ति, मकर संक्रान्ति, मेष अर्थात् वैशाख संक्रान्तिमा पञ्चांग श्रवण गर्नाले घरैमा गंगास्नान गरेको पुण्य मिल्ने कुरामा पूर्वीय दर्शनले पुष्टि गरेको छ ।
काल (समय)ले कसैलाई छोड्दैन । समय सबैभन्दा बलवान् छ । महिना–महिनामा आउने संक्रान्ति (संक्रमण) र कोठामा परिवर्तन हुने क्यालेन्डरका पानाहरूले आफूले गरेका जीवनोपयोगी र समाजोपयोगी कामको गणना गर्न संकेत गर्छन् ।
६÷६ महिनामा हुने अयन परिवर्तनले अद्र्धवार्षिक समीक्षा र आत्मालोचना गर्न प्रेरित गर्छ । तृष्णा बढाउने, रोग वृद्धि गर्ने तर कालचक्रभन्दा माथि छु भन्ने अहं भावनालाई त्यागेर आगामी दिन बढी सुखद र आनन्दमय बनाउन सामाजिक सेवा र परहितकारी काममा प्रेरित हुने संकेत हो संक्रान्ति, भनौँ अयन परिवर्तन ।
जीवन सन्तुलित, सौम्य सक्रिय र साहसिलो बनाउन आत्मबलको प्रेरणा दिन्छ, अयन परिवर्तनले । सके वाल्यावस्थादेखि नै नसके किशोर वा यौवनावस्थादेखि नै मानवजीवनलाई लक्ष्योन्मुख, उद्देश्योन्मुख हुन पनि प्रेरित गर्छ, अयन परिवर्तनले ।
दार्शनिक, आध्यात्मिक महत्त्वको साथै मकर सक्रान्तिको सांस्कृतिक महत्त्व पनि रहेको छ । हाम्रो मुलुकको अधिकांश जीवनस्तर कृषिमै आधारित छ । मुख्य बाली धान, मकै, कोदो, भटमास आदि रोपण बेला अर्थात् खेतबारीको काम वर्षाको समयमा पर्छ ।
कृषिको आधार ६ वटा ऋतुमध्ये वर्षा ऋतुको आरम्भ कर्कट संक्रान्तिबाटै सुरु हुन्छ । यस्तो बेला खेतीकिसानी गर्नेहरू झन् बढी स्वस्थ हुनुपर्ने र कीराफट्यांग्रा आदिको प्रकोपबाट बच्न स्वास्थ्य मजबुत राख्न यसदिन विशेष कार्य गर्ने चलन छ ।
हिलो, मैलो, वर्षाको कारण घाउखटिरा आदि चिलाउने छालाजन्य रोग नलाग्न साउने संक्रान्तिको साँझपख लुतो फाल्ने चलन छ । लुतो फालेपछि जडीबुटीको रूपमा रहेको कुकुरडाइनोको पात जलाएर घाउखटिरामा मलम लगाउने चलन छ । साँझपख कण्डारक नामक पिशाचको पूजा गरी लुतो फाल्नाले छालाजनित रोग नहुने विश्वास गरिन्छ ।
अर्को धसिंगरेको बोट बाल्ने, पड्काउने, सल्लाको काठको मुठालाई ७/७ वटा पार्ने, ती मुठालाई निशाचार पिशाचलाई चढाई ४ वटा सल्लाको दाउरालाई आफ्नो घरको मूलधुरी नाघ्ने गरी चारै दिशामा फाल्ने अनौठो संस्कृति अहिले पनि गाउँतिर पाइन्छ ।
मासको फुलौरा खोरीमा राखी फलफूलसमेत चढाउने, आँगन, चोक गोबरले लिप्ने, सफा पहिरनसाथ दर्शनढुंगा (सेतो ढुंगा) मा कण्डारक देवता स्थापना गर्ने, दीप, कलश, गणेशसहित पूजा, उपासना गर्ने पनि विधान छ ।
माघ निश्चय नै बढी चिसोको समय हो र त शरीरको तापक्रम मिलाउन घिउ, चाकु, तरुल, मिठा परिकार लड्डु आदि दान गर्ने अनि खाने गरिन्छ ।
अयन परिवर्तन हुँदा विशेष नदी, जलाशयमा स्नानको महत्त्व छ । तागाधारीहरूले त्यस दिन नयाँ जनै फेर्ने गर्छन् । सहरबजारतिर भने अयन परिवर्तन हुने कर्कट वा मकर संक्रान्तिमा देव मन्दिरहरूमा जाने, विशेष स्नान, सन्ध्यावन्दन गर्ने, ब्राह्मणहरूबाट संक्रान्ति फल श्रवण गर्ने, स्वस्तिवाचन गराउने चलन छ ।
यसै अवसरमा आफन्त चेलीबेटीहरूलाई बोलाई टीका–प्रसाद दिने, मिठा खानेकुरा खुवाउने, एउटा संयोगको पर्वको रूपमा मानेर खुसीयाली आदानप्रदान गरेर पनि मनाएको पाइन्छ ।
सबैजसो चाडबाड आरम्भको संकेत दिने पर्व श्रावण संक्रान्ति हो भने मकर संक्रान्तिले चाडबाडको बिदाइ गरेको संकेत पनि गर्छ भन्ने गरिन्छ । हरेक धार्मिक, सांस्कृतिक पर्वले आफ्नो मौलिक परम्पराको चिनारी दिने गरेको छ । र, संस्कृतिलाई स्थापित गराएको छ ।