९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
संस्कृति

थारू समुदायको ‘माघ’ कसरी भयो ‘माघी’ ?


उन्‍नती चौधरी
  • १ माघ २०७८ , शनिबार

  • थारू समुदायको ‘माघ’ कसरी भयो ‘माघी’ ?

    काठमाडौं, १ माघ – थारू समुदायको महत्त्वपूर्ण ‘माघ’ पर्वको नाम फेरिएर ‘माघी’ मात्रै बनेको छैन, यसलाई मनाउने तौरतरीका पनि फेरिंदै गएका छन्।

    माघ लहैली
    सुरिक सिकार खैली रे हा
    सखिय हो
    माघक पिलि गुरिगुरि जार।

    यो मघौटा गीत हो। ‘माघ’ पर्वमा मघौटा, ढमार र मागरलाई विशेष गीतका रूपमा लिइन्छ। माघ महीनामा थारू समुदायले मनाउने पर्व पनि ‘माघ’ नै हो। तर, गैरथारूले ‘माघ’ लाई ‘माघी’ बनाइदिए।

    पश्चिम तराईमा थारू समुदायका लागि माघ एकदमै विशेष पर्व हो। माघ पर्वलाई तराईको मध्य भागमा खिचडा, पूर्वी तराईमा तिला सङ्क्रान्ति पनि भनिन्छ। यही पर्वलाई गैरथारू समुदायले माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति भन्छन्।

    यो पर्वले थारू संस्कृतिको झल्को दिन्छ। बिस्तारै माघ मनाउने शैली पनि फेरिएको छ। हिजो गाउँघरमा नाचगान गरेर मनाइने माघ अहिले शहरमा पनि विविध सांस्कृतिक कार्यक्रम गरेर थारू पहिचानका लागि राज्यलाई दबाब दिने माध्यम बन्न पुगेको छ।

    माघलाई माघी बनाए जस्तै थारूसँग जोडिएका अन्य स्थान र पर्वका नाम पनि फेरिएका छन्। जस्तो ‘घोरीघोरा’ ताललाई ‘घोडाघोडी’, ‘अटवारी’ पर्वलाई ‘अइटवारी’, ‘बरघर’ लाई ‘बडघर’ बनाइएको छ। त्यस्तै, स्थानीय तहमा विभिन्न चोक, पुल, पुलेसो, नदीनालाको नाम पनि बिगारिएको भेटिन्छ। जस्तो, ‘कनरी’ नदीलाई ‘कदरी’, ‘कटैनी’ नदीलाई ‘कटनी’, ‘नुक्लिपुर’ गाउँलाई ‘नक्कलीपुर’, ‘खुरहुरीया’ गाउँलाई ‘खुरखुरिया’ बनाइएको छ। यसरी थारू मौलिक शब्दहरू रूपान्तरण गर्दै जाँदा थारू भाषाको आफ्नोपन नै हराउने खतरा बढेको छ।

    माघ के हो ?

    पश्चिमा थारू समुदायले मनाउने एक विशेष पर्व हो, माघ। थारू समुदायमा परापूर्वकालदेखि नै माघ मनाउँदै आएको इतिहास छ। थारू समुदायका लागि पूरै माघ महीनाको विशेष महत्त्व हुन्छ। यसलाई खानपिन, सरसफाइ, आशीर्वाद आदानप्रदान, वर्ष दिनको समीक्षा, वार्षिक ऐन-नियम र नीतिनिर्माणसँगै नयाँ कामको शुरूआत गर्ने र योजना बनाउने महीनाका रूपमा लिइन्छ। थारू समुदायले माघलाई नयाँ वर्षको शुरूआतका रूपमा लिन्छ। १ माघमा थारू संवत्‌को नयाँ वर्ष शुरू हुन्छ।

    यो पर्व पुस अन्तिम दिनबाट शुरू भई २ माघसम्म मनाइन्छ। माघ महीनामा मनाइने भएकाले माघ नै नाम दिएको हुनुपर्छ। यसलाई कामबाट मुक्त भएर अथवा स्वतन्त्र रूपमा मनाइने भएकाले मुक्ति दिवसका रूपमा पनि लिने गरिन्छ।

    यस अवसरमा गाउँका नयाँ योजना छनोट हुने, नीति-नियम निर्माण गरिन्छ। गाउँका अगुवा, चौकीदार, भलमन्सा चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने भन्ने लगायत विषयमा पनि छलफल हुन्छ।

    पुसको अन्तिम दिन मीठोमसिनो खानेकुरा, माछा-मासुको परिकार खाने र मघौटा नाच नाचिन्छ। यसलाई पुस महीनाको बिदाइका रूपमा पनि लिइन्छ। रातभर सबै एक ठाउँमा भेला भएर गीत गाउने प्रचलन छ। विशेष गरी भलमन्साको घरमा जाग्राम बस्‍छन्। त्यहींबाट सामूहिक रूपमा नजिकैको नदी, तलाउ, खोलामा गएर नुहाइधुवाइ गरी १ माघलाई स्वागत गरिन्छ।

    यसरी स्नान गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ। नुहाउनुअघि जलदेवतालाई पैसा चढाउने प्रचलन छ। पानी खरीद नगरी नुहाउनु हुँदैन भन्ने मान्यता छ। त्यसपछि ठूलाबडा तथा मान्यजनको आशीर्वाद लिने र इष्टमित्र तथा आफन्तलाई भेटघाट गर्ने चलन छ।

    त्यस्तै, छोरीचेलीलाई कोसेली दिने गरिन्छ। यसलाई ‘निसराउ’ भनिन्छ। घरमूलीले दाल, चामल, पैसा, नून, तेल आदि सामग्री छुट्टै भाँडोमा छुट्याएर राख्छन्। नुहाइसकेपछि परिवारका सबै सदस्यले त्यसलाई छुने गर्छन्।

    यो पर्वमा सुंगुरको मासु र ढिक्करी अनिवार्य हुन्छ। त्यस्तै, सेवाढोग गरी माघबाटै नयाँ सम्बन्धको विस्तार पनि गरिन्छ। पहिले पहिले माघदेखि फागुनसम्म विवाह हुने चलन थियो। अहिले त्यो केही कम भएको छ। अन्य महीनामा पनि विवाह हुन थालेको छ।

    त्यस्तै, थारू गाउँलाई विधिवत् रूपले सञ्चालन गर्न बडघर, भलमन्सा, चौकीदार, अघरिया, देश बन्धिया, गुरुवा आदि चुनिने गर्छन्। सबैको सहमतिमा यिनको चयन गर्ने परम्परा छ।

    माघ पर्वमा मघौता, हुरदुंग्वा, झुमरा लगायत नाचहरू नाचिन्छन्। सामूहिक रूपमा गर्ने यस्ता सांस्कृतिक कार्यक्रमले थारू समुदायबीचको मेलमिलाप, भ्रातृभाव र सामूहिकतालाई थप मजबूत बनाउन सहयोग गर्छ।

    राज्यप्रति असन्तुष्टि

    केही समयदेखि थारू समुदाय राज्यप्रति सन्तुष्ट छैन। पहिलो त सरकारी बिदालाई लिएर छ। सरकारले मकर सङ्क्रान्तिको नाममा १ माघमा बिदा दिन्छ। जबकि, माघ मनाउँदा थारू समुदायका लागि २ र ३ माघ पनि त्यतिक्कै महत्त्वपूर्ण हुन्छन्। यी दुई दिन गएको वर्षको समीक्षा गर्दै आगामी वर्षका लागि जिम्मेवारी बाँडफाँड गरिन्छ। यी दुई दिन पनि बिदा दिनुपर्ने उनीहरूको माग छ।

    अर्को, राज्यका निकायबाट थारू समुदायमाथि हस्तक्षेप भइरहेको उनीहरूले महसूस गरेका छन्। थारू बहुल क्षेत्रमा थारू समुदायकै व्यक्तिलाई अगाडि बढ्न नदिई गैरथारूले नेतृत्व गर्ने अवस्था राज्यबाट सिर्जना गरिएको उनीहरूको गुनासो छ।

    त्यस्तै, बरघर प्रणाली थारू समुदायको मेरुदण्ड हो। बरघर छनोट गर्दा व्यापक छलफल हुने गर्छ। तर, पछिल्लो समयमा मिश्रित बसाइ र कानूनी अड्चनका कारण यो प्रणाली पनि विवादित बन्दै गएको छ। यसलाई व्यवस्थित गर्न थारू अगुवाले गाउँपालिका, नगरपालिका र जिल्ला स्तरीय समिति निर्माण गरेका थिए। यसले कानूनी मान्यता नपाउँदा अप्ठ्यारो भएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend