९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
परीक्षण गरिएका ५० प्रतिशतमा संक्रमण !

गण्डकीमा उकालो लाग्दै कोरोनाग्राफ


जनमञ्च संवाददाता
  • ३ माघ २०७८ , सोमबार

  • गण्डकीमा उकालो लाग्दै कोरोनाग्राफ

    पोखरा, ३ माघ – कोरोना महामारीको दोस्रो लहर चरम अवस्थामा पुगेकोबेला गण्डकीमा सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको थियो । स्थिति यस्तो भयावह थियो कि अस्पतालमा संक्रमितले उपचारका लागि बेड नपाउने स्थिति आइसकेको थियो ।

    दैनिक बैशाख अन्तिमदेखि असार पहिलो हप्तासम्म आइपुग्दा दैनिक ३०/३२ जना संक्रमितको मृत्यु भइरहेको थियो । अस्पतालमा गम्भीर प्रकृतिका बिरामीको चाप बढेर बेड पन नपाउने स्थिति आइसकेको थियो ।

    जेठ १४ गते अक्सिजन अभावकै कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना सुत्केरीसहित ८ जना संक्रमितले ज्यानै गुमाए ।

    दोस्रो लहर उच्चतम् अवस्थामा पुगेकोबेला गम्भीर संक्रमितलाई धान्नै अवस्था पुगेको र बेड क्षमताभन्दा बढी संक्रमित राखेर उपचार गर्नुपरेको सम्झन्छन्, लेखनाथस्थित सरुवा तथा संक्रामक रोग अस्पतालका निर्देशक डा विकास गौचन । संक्रामक तथा सरुवा रोग अस्पताल प्रदेशस्तरबाट कोरोना उपचारका लागि तोकिएको एकमात्र सरकारी अस्पताल पनि हो ।

    ‘हाम्रो अस्पतालको खास क्यापेसिटी खास ५० हो । तर, त्यतिबेला ६० बेड भरिएर पनि बाँकी बिरामीलाई वेटिङ बेन्चमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो,’ डा गौचन सम्झन्छन्, ‘रिपोर्ट पनि नआएका, अक्सिजन अत्याधिक चाहिने । अक्सिजन पु¥याउन पनि एकदमै समस्या भएको थियो । एकैदिनमा ४÷५ पटक एउटै सिलिन्डर ओसारपसार गर्नुपरेको थियो ।’

    डा. गौचनले भनेजस्तै बैशाख पहिलो सातासम्म गण्डकीबाट कोरोनाबाट ज्यान गुमाउनेको संख्या केवल २ सय ७ मात्रै थियो । तर, भदौ दोस्रो सातासम्म आइपुग्दा उक्त संख्या ५ गुणाले बढेर १ हजार ३ सय भन्दा बढी नाघिसकेको थियो ।

    पहिलो लहरभन्दा दोस्रो लहरको ४ महिनामै ‘अस्वभाविक’ रुपमा मृत्युदर बढेको भन्दै प्रदेश सरकारले कारण खोज्न ‘विश्लेषण रिपोर्ट’ तयार पार्नेसमेत बताएको थियो । तर, लगत्तै कोरोना संक्रमित संख्या विस्तारै कमी हुँदै गयो र सरकारको रिपोर्टसमेत सार्वजनिक भएन ।

    साउन दोस्रो सातादेखि विस्तारै दोस्रो लहरको प्रभाव कम पर्दै गयो । नयाँ र अस्पतालमा उपचाररत संक्रमितको संख्या घट्दै गएपछि गण्डकीका विभिन्न जिल्लाले भदौ दोस्रो सातादेखि निषेधाज्ञा खुकुलो बनाउँदै लगे ।

    निषेधाज्ञा खुकुलो हुँदै निजी सवारी, ट्याक्सीमा जोरविजोर र होटल रेस्टुरेन्ट जनस्वास्थ्य मापदण्ड पालना गर्ने शर्तमा खुल्न पाउने भए । तर, तोकिएका जनस्वास्थ्य मापदण्ड न सरकारी पक्षले पालना गरे, न सर्वसाधारणले ।

    सयौंको भिडमा राजनीतिक सभासम्मेलन, कार्यक्रम, दसैंतिहार, दलहरुका महाधिवेशन र मेला महोत्सव पनि यहीबीचमा भए । जबकी जनस्वास्थ्य विज्ञले कोरोनाको तेस्रो लहर आउन सक्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्न सुझाइरहेका थिए ।

    ४÷५ महिना सुस्ताएको कोरोना संक्रमणदर पछिल्लो २ हप्तादेखि फेरि उकालो लागेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन गण्डकीमा त पुष्टि भएको छैन । तर, दैनिक २ सय भन्दा संक्रमित फेरि देखा पर्न थालेका छन् । करिब शून्यमा झरेको कोरोना ग्राफ फेरि उकालोमात्रै लागेको छैन । सक्रिय संक्रमितको संख्या हजार पुग्न थालेको छ ।

    ‘निषेधाज्ञा खुकुलो भएसँगै मेलामहोत्सव, सभासम्मेलन हुन थाले । जनस्वास्थ्यको सामान्य मापदण्ड पनि कसैबाट पालना भएन,’ डा गौचनले अनलाइनखबरसँग भनेका छन्, ‘फेरि कोरोना बढ्नुमा यिनै कारक तत्व हुन् ।’ कोरोना ग्राफ उकालो लाग्दै जाँदासमेत प्रदेशले न जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेका न त परीक्षण दायरा नै बढाएको छ ।

    प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या एक हजार सय ७५ पुगिसकेको छ । जसमध्ये २ सय १३ जना पछिल्लो २४ घन्टामा पुष्टि भएका संक्रमित हुन् । गण्डकीको कोरोना प्रभावित जिल्ला दरिएको कास्कीमा मात्रै आइतबारसम्म ७ सय ७ जना सक्रिय संक्रमित छन् । गण्डकीमा आइतबारसम्म १ हजार ४२८ जनाले ज्यान गुमाएका छन् ।

    दोस्रो लहर उत्कर्षमा पुग्दा झैं तेस्रो लहरमा पनि भयावह स्थिति आउला त ? डा गौचन भन्छन्, ‘यदि हामीले अहिले पनि राम्रोसँग जनस्वास्थ्यको मापदण्ड पूरा गरेनौं भने अहिले पनि त्यस्तै अवस्था नआउला भन्न सकिँदैन ।’

    डा गौचन संस्थागत आइसोलेसनलाई प्रभावकारी नभएसम्म कोरोना नियन्त्रण ल्याउन अझै समय लाग्ने उनले सुनाए । पुष्टि भएका सक्रिय संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी होम आइसोलेसनमै छन् । कुल संक्रमितमध्ये ९ सय २४ जना होम आइसोलेसनमै छन् ।

    गण्डकीमा हाल कोरोना उपचारका लागि कुल १ हजार ७२ बेड क्षमताका सरकारी अस्पताल छन् । जसमध्ये ५ सय साधारण बेड, ३ सय २० एचडियू, २ सय ३ आइसियू, ४९ वटा भेन्टिलेटर बेड रहेका छन् । जसमध्ये अहिले ३४ जनामात्रै अस्पतालमा उपचाररत छन् ।

    कोरोना तेस्रो लहरका नियन्त्रण गर्न कास्कीले गत आइतबार ४ सदस्यीय विज्ञ टोली गठन गरेको छ । टोलीको संयोजकमा डा. भरत खत्री छन् भने डा. शरदचन्द्र बराल, विकास गौचनलगायत छन् । ‘टोलीले विभिन्न अस्पतालहरुको अनुगमन गर्ने र समन्वय गर्ने छ,’ डा. गौचनले भने ।

    डा बराल भने अघिल्लो २ चरणको महामारीले धेरै अनुभव दिइसकेकाले यस पटक दोस्रो चरणझै भयावह स्थिति नआउने बताउँछन् । ‘अहिले हामीसँग अनुभव र स्रोत साधन दुवै छ । यसले पनि धेरै फरक पार्छ,’ भन्छन्, ‘तर, बाहिरी मुलुक झैं सबै ‘अफेक्ट’ हुन थाल्यो भने कसलाई के हुन्छ थाहा हुँदैन ।’

    परीक्षण छैन तर, ‘नयाँ भेरियन्ट’ ?

    ओमिक्रोन भेरियन्ट परीक्षण गर्न गण्डकीसँग आफ्नै प्रयोगशाला छैन । कुनै शंकास्पद केस भेटिए काठमाडौं पठाएर जिनसिक्वेन्सिङ गर्नुपर्ने लामो प्रक्रिया छ । तर, कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार गण्डकीमा भेटिएका नयाँ केस अघिल्लाभन्दा फरक प्रकृतिका छन् ।

    ‘ओमिक्रोन नै भनेर पुष्टि भएको छैन । तर, अहिले आएका धेरै केस अघिल्ला केसभन्दा विल्कुल फरक छन् । गम्भीर कन्डिसन हुने तर, ३÷४ दिनमा आफैं निको हुने पनि भइराखेको छ,’ डा शरद बराल भन्छन्, ‘यो नयाँ भेटियन्ट नै हो कि भन्ने हामीले पनि शंका गरिरहेको अवस्था छ ।’

    गण्डकीमा अहिले फैलिरहेको डेल्टा भेरियन्ट हो या नयाँ भेरियन्ट हो भन्नेबारे प्रदेशमै तत्काल परीक्षण गर्ने स्थिति नआउँदासम्म ढुक्क हुन सक्ने अवस्था नरहेको डा विकास गौचनको मत छ ।

    ‘अहिले हाम्रो प्रदेशमा फैलिरहेको कोरोना ओमिक्रोन हो कि डेल्टा भेरियन्ट हो भन्ने ठ्याक्कै ढुक्क नै हुन सकिएन । यो अहिले जिन सिक्विन्सिङ काठमाडौंमा मात्रै भइराखेको छ, त्यसकै कारण पनि हो,’ डा गौचन भन्छन्, ‘यो समस्याको समाधान भनेको प्रदेशको जनस्वास्थ्य प्रयोगशाला नै हो । यसलाई अझै सुविधासम्पन्न बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ ।’

    परीक्षण गरिएका ५० प्रतिशतमा संक्रमण !

    हाल प्रदेशले दैनिक ४ सयको हाराहारीमा मात्रै परीक्षण गरिरहेको छ । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा २ सय १३ जनामा कोरोना पुष्टि भयो । बिहीबारको रिपोर्ट अनुसार २४ घन्टामा ४ सय २२ जनामा गरिएको परीक्षणमा १ सय ८६ जनामा संक्रमण पुष्टि भएको थियो । तथ्यांकअनुसार कुल गरिएको परीक्षणमा ५० प्रतिशतमा कोरोना पुष्टि भइरहेको छ ।

    पिसिआर भन्दा पनि एन्टिजेनलाई ‘फोकस’ गरिरहेकाले संक्रमितको संख्या प्रदेशमा अझै हुन सक्ने उपचारमा संलग्न विज्ञ बताउँछन् । उनीहरुका अनुसार परीक्षणको दायरा बढाएमा संक्रमितको संख्या अझै बढ्ने निश्चित छ ।

    अहिले प्रदेश सरकारले गरिरहेको न्यून परीक्षण केवल ‘झारा तार्ने’ काममात्रै भइरहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. शरदचन्द्र बराल बताउँछन् । ‘अहिलेको टेस्टे केवल झारा तार्ने काममात्रै भएको छ । टेस्ट बढी भएको भए केस अझै बढ्छ,’ उनले भने, ‘किनभने मान्छेलाई टेस्ट गर्ने सहज सुविधा नभएसम्म हिच्किचाउँछ । अहिले त्यसरी नै संक्रमण बढिरहेको छ ।’

    प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा महानगरसँग टेस्ट सहज तरिकाले पाउने व्यवस्था नभइञ्जेलसम्म संक्रमणदर बढिरहने उनको भनाइ छ । डा. गौचन पनि बरालको भनाइमा सहमत छन् । उनी पनि परीक्षणको दायरा नबढाएसम्म कोरोना नियन्त्रणमा नआउने सुनाउँछन् ।

    ‘शनिबार बिहान ६ जनामा परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भयो । अहिले एन्टिजेन परीक्षणमात्रै भइराखेको छ । एन्टिजेनमै यति देखिनु भनेको झन् डरलाग्दो स्थिति हो,’ डा गौचन भन्छन्, ‘यसमा सबै सबै नदेखिन पनि सक्छ । अहिले परीक्षणको दायरा बढाउन एकदमै आवश्यक छ । नत्र झनै दोस्रो लहर झैं भयावह स्थिति नआउला भन्न सकिन्न ।’

    कोरोना उपचारमा संलग्न चिकित्सिकका अनुसार पछिल्लो समय अस्पताल पुगेको संक्रमित सबै कोभिडविरुद्धको खोप लिइसकेका व्यक्ति छन् । ‘सबै खोप लगाएका हुनुहुन्छ । तर, खोप धेरैले लगाइसक्नु भएकोले अघिल्लो पटकभन्दा यसपालि मृत्युदर अलि कम भएकै हो,’ डा गौचन भन्छन् ।

    नाकामा कडाइ, कुरामात्रै !

    नेपालमा पुस २३ गते एकै चोटि २४ जनामा ओमिक्रोन पुष्टि भएसँगै गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय पनि आकस्मिक बैठक बस्यो । मन्त्री, मन्त्रालयका सचिवसहित बसेको उक्त बैठकले भिडभाडजन्य क्रियाकलाप तत्काल रोक्ने र नाकामा कडाइ गर्ने निर्णय ग¥यो ।

    तर, महामारी दैनिक ३ गुणा बढ्दै जाँदासमेत उक्त निर्णय कार्यान्वयन भएको छैन । ओमिक्रोन प्रभावित छिमेकी देश भारतसँग सीमाना जोडिएको त्रिवेणी नाका र अन्य प्रदेशसँग सीमाना आँबुखैरेनी र राम्दी नाका गरी प्रदेशको ३ नाका छन् । तर, ३ नाकामध्ये आँबुखैरेनीमामात्रै स्वास्थ्यकर्मीसहितको चेकपोस्ट खडा गरिएको प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारी बताउँछिन् ।

    आँबुखैरेनीमा २ महिनाअघि नै ३ जना स्वास्थ्यकर्मीसहितको हेल्थ चेकपोस्ट खडा गरिएको थियो । ‘राम्दीमा भने तत्कालै हामीले एउटा हेल्थडेस्क राखेर स्वास्थ्यकर्मी पठाएर तुरुन्त दक्षिणबाट आउनेहरुलाई सुरक्षित तवरले गण्डकी प्रदेशमा छिर्ने, बनाउने वातावरण बनाउन सकियो भने केही सुरक्षित हुन सकिन्थ्यो कि भन्ने हो,’ मन्त्री अधिकारीले भनिन् ।

    प्रदेशको एकमात्र भारतीय नाका त्रिवेणी नाकामा समेत अझै हेल्थडेस्क निर्माण गरिएको छैन । उक्त नाकाबाट कम मानवीय आउजाउ भए पनि बेलैमा ध्यान नदिए जोखिम झनै बढ्ने स्वास्थ्यकर्मी बताउँछन् ।

    मन्त्री अधिकारी उक्त नाकाबाट गण्डकीमा मात्रै नआउने भएकाले केन्द्रसँगै समन्वय गरेर अघि बढ्ने तयारी रहेको सुनाउँछिन् । ‘त्रिवेणी नाका छिमेकी राष्ट्रसँग जोडिएको भएकाले केन्द्र सरकारसँगै समन्वय गरेरै गर्नुपर्छ कि भन्ने पनि छ,’ उनले भनिन् ‘किनकी त्यहाँबाट आउनेहरु गण्डकी प्रदेशमामात्रै आउने होइनन्, त्यहाँबाट बाग्मतीमा पनि जान्छन्, लुम्बिनीतिर पनि जान्छन् ।’

    प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा हालसम्म १८ वर्षमाथिका उमेर समूहले ९२ प्रतिशत पहिलो डोज र ७९ प्रतिशतले दोस्रो डोज पाएका छन् । त्यस्तै १२ देखि १७ वर्ष उमेर समूह उमेर समूहका ५९ प्रतिशतले पहिलो डोज पाउँदा १ प्रतिशतले मात्रै दुवै डोज पाएका छन् ।

    कोरोना बढ्दै गएमा बुस्टर डोज दिने तयारी भइरहेको तर खोपका लागि सिरिन्ज अभाव भइरहेको मन्त्री अधिकारीले सुनाइन् । कोभिड महामारीसँग लड्न आफूहरुले जनशक्ति तयार पारिरहेको भए पनि केन्द्रको केन्द्रिकृत मानसिकताका कारण विज्ञ चिकित्सकहरु गण्डकीमा नआइपुग्ने उनको भनाइ छ ।

    ‘राम्रा र विज्ञ स्वास्थ्यकर्मी काठमाडौं केन्द्रित भए । काठमाडौंतिर बढी केन्द्रित हुने समस्या हटेको छैन,’ मन्त्री अधिकारीले भनिन्, ‘संघले पनि कर्मचारीहरुलाई केन्द्रिकृत मानसिकताबाट चलाइराखेको छ । यसले अलिअलि समस्या परिराखेकै छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend