९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

‘…कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन’ : एमालेका नेता बाँस्कोटा


जनमञ्च संवाददाता
  • ४ माघ २०७८ , मंगलबार

  • ‘…कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन’ : एमालेका नेता बाँस्कोटा
    एमाले नेता गोकुल बाँस्कोटा

    ‘मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो-कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन’

    काठमाडौं, ४ माघ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक अन्तर्वार्तामा बोलेको कुराप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले व्यंग्य गरेका छन्। करिब एक हप्ताअघि टेलिभिजन कार्यक्रम ‘यक्ष प्रश्न’मा अन्तर्वार्ताकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक बनाइरहेको छु भन्दा पनि तपाईं सहभागी  सरकारले यो विषयमा किन नबोलेको भनेर प्रश्न गरेका छन्।

    जसमा मन्त्री झाँक्रीले भनेकी छन्, ‘…म सरकारको मन्त्री नभएर एउटा अभियन्ता हुन्थेँ भने म एउटा स्पिच बोल्थेँ स्वभावैले।’

    त्यसमा मन्त्री झाँक्रीले ‘बा’को संज्ञा दिँदै तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना पनि गरेकी छन्। मन्त्री झाँक्री एमालेबाट विभाजन भएर माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीकी नेता हुन्। उनी ओलीका कट्टर आलोचकमध्ये एक हुन्। उल्लिखित अन्तर्वार्ताकाे प्रसंगमा ओलीका अति प्रिय भनेर परिचित पूर्वमन्त्री बाँस्कोटाले सोही कुरालाई मन्त्री झाँक्रीको नाम नलिईकन सांकेतिक रूपमा व्यंग्य गरेका हुन्।​

    अघिल्लो वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा तत्कालीन नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा रहेकी नेता झाँक्रीले काठमाडौंमा आयोजित विरोध सभामा मुखमा कालो टेप बाँधेर आएकी थिइन् र त्यो खोल्दै ‘बोल्न पाइन्छ…’ भनेर भाषण गरेकी थिइन्। त्यो शैलीको निकै चर्चा पनि भएको थियो।

    त्यही कुरा जोडेर मन्त्री झाँक्रीले ‘यक्ष प्रश्नमा’ बोलेको कुराविरुद्ध एमाले नेता बाँस्कोटा मंगलबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

    ‘एक सच्चा देशभक्त परमादेशी मन्त्रीले मुखमा बेरेको कालो टेप खोलेर बोलेको सुनियो– कालापानी क्षेत्रबारे मन्त्री बोल्न मिल्दैन, अभियन्ताले मात्र बोल्न मिल्छ’, बाँस्कोटाले लेखेका छन्, ‘धन्य, हाम्रो अग्रगामी सरकार! तिमी छौ र त हाम्रो देशभक्ति र लोकतन्त्र बाँचेको छ।’​

    भूमि अतिक्रमणबारे उक्त अन्तर्वार्तामा मन्त्री झाँक्रीले बोलेको अंश :

    अन्तर्वार्ताकार : तपाईंको ‘बा’को पालामा एउटा नक्सा आथ्यो…,

    मन्त्री झाँक्री : बुवाको पालामा?

    अन्तर्वार्ताकार : बुवाको होइन, बाको

    मन्त्री झाँक्री : बाको पालामा? चुच्चे नक्सा?

    अन्तर्वार्ताकार : त्यो नक्सामा समाहित नेपाली भूमिमा हामी सडक विस्तार गर्दै छौं भनेर भारतीय प्रधानमन्त्रीले खुलमखुला एउटा सार्वजनिक कार्यक्रम बोल्नुभाे, तपाईं सहभागी  सरकारले यो विषयमा किन नबोलेको?

    मन्त्री झाँक्री : बालेभन्दा पहिले ५५ सालमा हामीले छाप्या थ्यौं, त्यस्तो चुच्चे नक्सा..

    अन्तर्वार्ताकार : नेकपा माले?

    मन्त्री झाँक्री : हामी अखिल हुँदा..

    अन्तर्वार्ताकार : अखिल..

    मन्त्री झाँक्री : त्यो बेला पनि कालापानी क्षेत्रमा भारतीय सेना, बंकर थिए…,

    अन्तर्वार्ताकार : मार्च गरेको थियो..

    मन्त्री झाँक्री : मार्च पास गरेको थियो। त्यो जनताले, पब्लिकले नेपाली भूमिमा भारतीय सेना छन् भन्ने थापाको इस्यु पनि त्यसपछि हो। हुन त स्वर्गीय नेता प्रेमसिंह धामीले काठमाण्डुलाई कालापानी दुख्नुपर्छ भनेर संसदमै बोल्नुभएको थियो। त्यसको इन्सपिरेसनले नै हामीले त्यो काम गर्या हो। तर पार्लियामेन्टमा बोलेको रेकर्डेड र वैध कुरा हो र त्यल्ले नै दुनियाँले थाहा पाए भन्ने अर्थ लाग्छ। तर पनि पब्लिकको जनजनमा गको अभियानका हिसाबले हामी गका हौं। अब रह्यो ‘बा’ले छापेको चुच्चे नक्सापछि पनि…

    अन्तर्वार्ताकार : अथवा, हाम्रो संसदले नै अपनत्व ग्रहण गर्यो त्यसलाई (चुच्चे नक्सा)

    मन्त्री झाँक्री : अनि बाले छापेको भनिएको कोट अनकोट, चुच्चे नक्सामा पनि भारतीय गतिविधि यथावत् थिए। नेपालको संसद् खासगरी अन्तर्राष्ट्रिय मामिलासम्बन्धी पार्लियामेन्टको कमिटीले चैं पटकपटक नेपाली भूमि समेटेर नक्सा छाप भनेर सरकारलाई बाको सरकारलाई निर्देशन जारी गरेको थियो। ‘नक्सा छाप्ने कुरा ठूलो होइन, जमिन ल्याउने कुरा ठूलो हो’ बा त्यो भन्दै जानु हुन्थ्यो। तर अहिले आएर बाटो विस्तार भको भनेर अहिले भन्या होइन।

    अन्तर्वार्ताकार :  अहिले फेरि भन्नुभो- बाटो शिलान्यास गर्ने राजनाथ सिंहदेखि अहिले तपाईं हामी विस्तार गरिराछौं भन्ने नरेन्द्र मोदीसम्म ?

    मन्त्री झाँक्री : उहाँहरू सबैले भन्नुभाछ, अब म सरकारको मन्त्री नभएर, मचैं अभियन्ता हुन्थेँ भने एउटा स्पिच बोल्थेँ स्वभावैले…

    अन्तर्वार्ताकार : सरकार किन नबोलेको भनेर सोधेको के?

    मन्त्री झाँक्री : सरकारले त आफ्नो डिप्लोम्याटिक आफ्नो मिसनमार्फत कुरा गर्ने हो, बाहिर बोल्ने कुरा होइन, र, बाहिर बोलेर पनि धेरै गिजोल्ने इस्यु पनि होइन जस्तो लाग्छ। किनभने हाम्रो बाचैँ धेरै बोलेर पनि बिग्र्या हो। त्यसकारण ‘बा’ (केपी ओली) भन्दा ‘दाइ’ (शेरबहादुर देउवा) थोरै बोल्नुहुन्छ, र, ठीक बोल्नुहुन्छ भन्ने विश्वास छ मलाई।

    अन्तर्वार्ताकार : तपाईं बोल्नुपर्छ भनेर मुखमा टेप लगाउनुहुन्छ?

    मन्त्री झाँक्री : (हाँस्दै) : बोल्न नदेको भएर।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend